भोपाल । गणतन्त्र र राष्ट्रियताको रक्षा वर्तमान नेपालको राजनीतिक परिवेशमा प्रमुख आवश्यकता भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । केसीले सो धारणा प्रवासी नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक उद्घाटन समारोहमा राख्नुभएको थियो ।
भारतको मध्यप्रदेशको राजधानी शहर भोपालमा सम्पन्न सो बैठकको उद्घाटन मन्तव्यमा अध्यक्ष केसीले ‘देशमा राजनीतिकलाई विभिन्न शक्तिहरुले फेशन र आफ्नो स्वार्थ पूर्तिका लागि उपयोग गर्ने गरिरहेका छन्, त्यसैले नै देशमा भ्रष्टाचार मौलाएर गएको छ ।’ केसीले अगाडि भन्नु भयो– ‘राजनीतिक फेशन होइन, आवश्यकता हो ।’ श्रमजिवी वर्गको मुक्तिका लागि उनीहरु कै संगठित आन्दोलनको आवश्यकतामा केसीले जोड दिनुभएको थियो ।
केसीले देशमा प्रतिगमनको खतरा अहिले पनि कायम रहेको बताउनु भयो । ‘नेपाली जनताको लामो समयसम्मको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा छ ।’ केसीले भन्नु भयो– ‘विभिन्न धर्म, जात तथा राजनीतिक पार्टीहरुको राजनीकि स्वार्थ कै कारण प्रतिगमनको खतरा बढेर गएको छ । देशमा प्रतिगमन विरोधी शक्तिहरु एकजुट भई संघर्ष गर्नुको विकल्प छैन ।’
‘ओलीले पास गराउन नसकेको एमसीसी देउवाले पास गराउने खतरालाई पनि अस्वीकर गर्न सकिंदैन’ अध्यक्ष केसीले भन्नु भयो– ‘हामीलाई गाउँ घरमा जाँदा नआफूले गर्ने, नअरुलाई गर्न दिने भन्छन्, के अमेरिकी साम्राज्यवादलाई देश सुम्पेर हाम्रो मुक्ति सम्भव छ ?’
साम्राज्यवादले आफ्नो स्वार्थपूर्ति गर्नका लागि विभिन्न प्रलोभन दिएर विकाशोन्मुख देशहरुमाथि हस्तक्षेप बढाएको केसीले बताउनु भयो । साम्राज्यवाद र प्रतिगमनको विरुद्धको संघर्ष र गणतन्त्र एवं राष्ट्रियता रक्षाको लागि आन्दोलनमा आउन समेत केसीले आव्हान गर्नुभएको थियो । ‘साम्राज्यवादी हस्तक्षेपका कारणले देशको राष्ट्रियता समेत गुम्ने खतरा छ’ केसीले भन्नु भयो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै अवसरवादका विरुद्ध, प्रतिगमनका विरुद्ध र अनुशासन विहिन तत्वहरुको विरुद्ध निर्मम रुपमा संघर्ष गर्दै आएको केसीले बताउनु भयो । अगाडिका दिनमा पनि सबैखाले अवसरवादलाई परास्त गर्दै अगाडि बढ्नेमा केसीले विश्वास विश्वास व्यक्त गर्नुभयो ।
मूल प्रवाहको ऐतिहासिक पृष्ठभूमिलाई समेत धुमिल्याएर आफ्नो स्वार्थ अनुकुलको राजनीति गर्न खोज्नेहरुलाई विस्तारित बैठकले सफाया गरेको केसीको धारणा थियो । कार्यकर्ताहरुमा अध्ययनको आवश्यकताप्रति पनि केसीले औंल्याउनु भएको थियो ।
त्यसैगरि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीले बैठकलाई सम्बोधन गर्दै एकता समाजले एकातर्फ भारतमा नेपालीहरुप्रति हुने हरेक अन्यायका विरुद्ध आवाज बुलन्द गर्दै अभिभावकिय जिम्मेवारी निभाएको छ भने अर्कोतर्फ श्रमजीवी नेपालीहरुलाई संगठनमा आवद्ध गरेर देशको राजनीति प्रशिक्षित गराउँदै आएको बताउनु भएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले बिभिन्न समयमा फुटपरस्त गतिविधिहरु विरुद्ध सशक्त प्रतिकार र विभिन्न भ्रमलाई पर्दाफास गर्दै अगाडि बढेको बताउनु केसीले बताउनु भयो ।
बैठकको उद्घाटन सत्रको सो कार्यक्रममा नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनबीर पुनको पनि आथित्यता रहेको थियो।
सहभागिहरुको तर्फबाट शुष्मा खड्का, पहल सिंह परियार, खगेश्वर सुनार, विष्णु शर्मा र तालबहादुर खडकाले बैठक सफलताको शुभकामना दिनुभएको थियो ।
महासचिव ठाकुर खनालको सञ्चालन तथा उपाध्याय कपिल खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थिति प्रतिनिधिहरुलाई उपाध्यक्ष प्रेम पौडेलले शब्दबाट र रक्तिमका कलाकारहरुले सांगितिक कोशेलीबाट स्वागत गर्नुभएको हो ।
बिस्तारित बैठकले आठौ अखिल भारत सम्मेलनका लागि दुर्गा बहादुर केसीको संयोजकत्वमा ६९९ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ । त्यस्तै दुर्गा बहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न नौ उपसमितिहरु समेत गठन गरिएको छ । उपसमितिहरुमा फरक फरक केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तय गरिएको छ ।