काठमाडौँ । अमेरिकाको हिन्दप्रसान्त रणनीति (आई.पी.एस.) अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी.) को विरुद्ध सिङ्गो देश जुरुक्क उठेको छ । २०७८ पौष ६ (डिसेम्बर २१, २०२१) देशभक्त नेपालीहरू यसरी एकजुट भएका हुन् ।
यद्यपि संसद्को बैठक आजदेखि अनिश्चित कालका लागि थगित भएको छ तर पनि एम.सी.सी. का पक्षधरहरूले कुनै पनि बेला एम.सी.सी. पारित गर्न सक्ने भएकाले त्यसका विरुद्ध आवाज उठाउन नेपाली जनता एकजुट भएका छन्् । त्यस क्रममा पौष ६ गते राजधानीसहित देशव्यापी रूपमा विरोधसभा तथा जुलुस प्रदर्शन भएको छ ।
काठमाडौँमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेकपा (विप्लव पक्ष), नेकपा, राष्ट्रिय जन्मोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको आयोजनमा विरोध प्रदर्शन सम्पन्न भएको छ ।देशभरि नै ८दलको संयुक्त मोर्चाद्वारा प्रदर्शन भएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विरुद्वमा रहेको बताउनु भएको छ । नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनातले बुझी सके पनि सत्तामा बस्नेहरुले भ्रम फैलाएको केसी बताउनु भयो ।
एमसीसीका विरुद्व मंगलबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष केसीले राष्ट्रघाती एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने बताउनुभयो । एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसदबाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको उहाँको भनाई छ ।
विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनका विरुद्ध गतिविधि चलाउने अमेरिकाको योजना बिफल बनाउन राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा केसीले जोड दिनुभयो । महाकाली बेच्दा र टनकपुर, अपरकर्णाली भारतलाई सुम्पिँदा पनि सत्तामा बस्ने कतिपय दल र ती दलका नेताहरुले भ्रम छरेको उल्लेख गर्दै अहिले पनि एमसीसीको पक्षमा जनतालाई भ्रममा पारिएको बताउनुभयो ।
राष्ट्रियताको पक्षमा एमसीसीको विरुद्वमा संसदमा बोल्दा राष्ट्रिय जनमोर्चालाई एक्लै बनाइएको बताउँदै केपी ओलीले पहिल्यै पास गराउन लागेको एमसीसी अहिले कांग्रेस र एमाले मिलेर संसदबाट पास गराउन सक्ने भएकाले जनतालाई सचेत बनाएर आन्दोलनमा उर्तानुपर्ने उहाँले बताउनुभयो ।
उहाँले आन्दोलनबाट राणा, पञ्चायत र राजा फालिए पनि सत्तामा बसेका केही दल र तिनका नेताहरुको स्वार्थका कारण देश र जनताले मुक्ति नपाएको बताउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले नेपालको कानुनभन्दा माथि राखेर एमसीसी ल्याउने षडयन्त्र भैरहेको बताउँदै चीनलाई कमजोर बनाउन अमेरिकारले जबरजस्ती ल्याउन खोजेको एमसीसी पूर्णरुपले खारेज गर्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता भेषराज भुसालले नेपाली जनतालाई एमसीसी मान्य नभएको बताउँदै आन्दोलनको दबाबबाट खारेज गरिने बताउनुभयो ।
नेकपा मालेका नेता गोपालमणि गौतमले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेजी गर्नुको अर्को कुनै विकल्प छैन भन्नुभयो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका नेता शसी विश्वकर्माले जनताको आन्दोलनबाट राष्ट्रिघाती एमसीसी खारेज गर्नुपर्ने र त्यसका लागि आन्दोलनलाई देशव्यापी बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेकपा (मसाल), नेकपा (माले), विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका राजनीतिक दलले बुटवलमा एमसीसी विरुद्व विरोध सभाको आयोजना गरेका थिए ।
देजमोका राजु भुजेलको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवलमा प्रदर्शनपछि वीपी चोकमा सभाको आयोजना गरिएको हो ।
मंगलबार बुटवलसहित देशभर एमसीसी सम्झौताको विरुद्व विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अमेरिकाले नेपालको कल्याणका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी नल्याएको दाबी गर्नुभएको छ ।
उहाँले अमेरिकामा नै ९० लाख मानिसहरू गरिब रहेको उल्लेख गर्दैै नेपालको सन्दर्भमा त्यस्तो कल्याणको कुनै अर्थ नरहेको बताउनुभयो ।
मंगलबार आठ राजनीतिक दलले राजधानीमा आयोजना गरेको एमसीसी विरुद्धको सभालाई सम्बोधन गर्दै उहाँले नेपालमा एमसीसी पारित हुनै नसक्ने दाबी पनि गर्नुभयो ।
‘नेपालबाट एमसीसी पारित हुनै सक्दैन’ महासचिव भट्टले भन्नुभयो– ‘यो नयाँ बानेश्वरको भूमिमा तपाईं हाम्रो रगत बगिसकेको छ । त्यसकारण एमसीसी पारित हुनै सक्दैन ।’
उहाँले श्रीलंकाले जस्तै एमसीसीलाई तत्कालै खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । राष्ट्रियताका लागि राजमोले रगत बगाउन तयार रहेको बताउँदै उहाँले भन्नुभयो– ‘तर गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा रहेका राजावादीसँग मिलेर हामी राष्ट्रियताको लडाइँ लड्दैनौँ ।’
उहाँले राजावादीहरूले राष्ट्रियताको पक्षमा बोल्नु भनेको प्रतिगामी स्वार्थ सिद्ध गर्नका लागि भएको दाबी गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एमसीसी नेपालको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताको विरुद्ध रहेकाले विरोध गरिएको बताउनुभयो ।
स्वयं अमेरिकाले नै एमसीसीलाई अमेरिकी सुरक्षा रणनीतिअन्तर्गत रहेको स्वीकार गरेको स्मरण गराउँदै प्रवक्ता पुरीले भन्नुभयो– ‘हामी ५५ अर्बका लागि हाम्रो देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता गुमाउन सक्दैनौँ ।’ प्रवक्ता पुरीले थप्नुभयो– ‘एमसीसी लाई स्वीकार्नु नेपालको असंलग्न परराष्ट्र नीतिको पनि विरोधमा हुन्छ ।’
कार्यक्रममा नेकपा विप्लव पक्षका पीबीएम धमेन्द्र बास्तोला कञ्चन, नेकपाका अध्यक्ष ऋषि कट्टेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल र केन्द्रीय सदस्य शारदा महत र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा विप्लव पक्षका चिरन पुनले गर्नुभएको थियो । एमसीसीको विरोधमा काठमाडौँमा आठ राजनीतिक दलहरूले जुलुस प्रदर्शनसहित विरोधसभा सम्पन्न गरेका हुन् ।
राजधानीको माइतीघर मण्डलादेखि सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भएको थियो । आज राजधानीसहित देशैभर आठ दलले प्रदर्शन गरेका छन् ।
दाङ,
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै दाङको घोराहीमा संयुक्त विरोध सभा सम्पन्न भएको छ ।
विरोध सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारीले सम्बोधन गर्दै दलाल, पुँजीपतिहरुले मात्रै एमसीसी पास गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले अमेरिकी स्वार्थ नेपालको प्राकृतिक स्रोतसाधनमाथि लुट मच्चाउने चाहना भएको आरोप पनि लगाउनु भयो । प्रवक्ता भण्डारीले एमसीसीको विरुद्ध विद्यार्थी, युवाहरुलाई जागरुक भएर लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गणेश आचार्यले एमसीसीलाई खारेज गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी ल्याउनुको उदेश्य देश विकासको लागि नभएर नेपालमा साम्राज्यवादी उद्देश्य पुरा गर्नु रहेको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, नेकपा (क्रान्तीकारी माओवादी) का समिर केसी, नेकपा मालेका प्रदेश सदस्य केपी र देशभक्त जनगणतान्त्रिक मोर्चाका इश्वरी लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तिलक योगीले गर्नुभएको थियो ।
बाँके,
राष्ट्रिय जनमोर्चा सहित आठ राजनीतिक दलको आयोजनामा कोहलपुरमा एमसीसी विरुद्ध विरोधसभा सम्पन्न भएको छ ।
विरोधसभा पूर्व कोहलपुरबाट जुलुस सुरु भएको थियो । बजार परिक्रममा गरे पछि सो जुलुस साझा चोकमा पुगे पछि विरोध सभामा परिणत भएको हो ।
सभालाई राष्ट्रिय जनमोर्चाका प्रतिनिधि तथा अखिल नेपालयुवक संघका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती भएकाले त्यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि देशव्यापी सशक्त आन्दोलन अहिलेको आवश्यकता भएको बताउनुभयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा बाँकेका अध्यक्ष लक्ष्मी चौलागाईंको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी तेजबहादुर शाही र नेकपाका कोहलपुर नगर इन्चार्ज कृष्ण शाहीले पनि मन्तव्य राख्नुभएको थियो ।
पोखरा,
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध कास्कीको पोखरामा विरोध प्रदशन गरिएको छ । मंगलबार आठ दलको आयोजनामाएम एमसीसी खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरिएको हो । मानवअधिकार चोकबाट नाराजुलुस गर्दै प्रदर्शनकारीहरू महेन्द्र पुलचोकमा गई विरोध सभामा परिणत भएका थिए।
विरोध सभामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य निश्चल, नेकपाका नेतागोकुल पराजुली, वैज्ञानिक समाजवादी पार्टीका प्रतिनिधि अविनास पौडेल, नेकपाका प्रतिनिधि मनिस भट्टराई र नेकपा (माले) का जिल्ला सचिव टेकनाथ भण्डारीले मन्तव्य राख्नुभएको थियो । उक्त विरोध कार्यक्रमको सञ्चालन बद्रि अधिकारीले गर्नुभएको थियो ।
तनहुँ,
तनहुँमा पाँच राजनीतिक दलले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग सहित ज्ञापन पत्र बुझाउँदै विरोध सभा सम्पन्न गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत् प्रतिनिधि सभाका सभामुखलाई ज्ञापन पत्र बुझाउँदै विरोध सभा सम्पन्न भएको हो ।
पाँच दलका नेताहरू सम्मिलित प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाए पछि दमौलीको भोर्लेटारमा विरोध सभा सम्पन्न गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा तनहुँका जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठले संसद्ले एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई कुनै पनि हालतमा पारित नगर्न माग राख्दै सभामुखको नाममा आफूहरूले ज्ञापन पत्र पठाएको जानकारी दिनुभयो ।
उहाँले एमसीसी नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको पनि विरोधी भएकाले त्यसलाई खारेज गर्न आग्रह गर्नुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला अध्यक्ष नवीनको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (मसाल) तनहुँका प्रवक्ता भरत केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष बेनीबहादुर थापा र नेकपाका जिल्ला सेक्रेटरी एटमले सम्बोधन गर्नुभएको थियो ।
सुर्खेत,
नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दलहरुले देशब्यापी आयोजना गरेको एमसीसीविरुद्धको कार्यक्रम सुर्खेतमा पनि सम्पन्न भएको छ ।
मंगलबार राष्ट्रिय जनमोर्चाको कार्यालयबाट सुरु भएको संयुक्त जुलुश मङ्गलगढी चोक–जुम्ला राजमार्ग– एरिचोक– नयाँबजार हुँदै वीरेन्द्र नगर बजार परिक्रमा गरी पिपलचौतारीमा कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी कुनै पनि हालतमा संसदबाट पास हुन नहुने बताउनुभयो । उहाँले एमसीसी खारेज नभएसम्म राष्ट्रवादी शक्तिहरु आन्दोलनबाट पछि हट्न नहुनेमा पनि जोड दिनुभयो ।
कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी, नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रतिनिधि विष्णु प्रसाद शर्मा, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी श्याम कार्की, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका श्याम कुँवर, देशभक्त जनगणतन्त्रिक मोर्चाका प्रतिनिधिले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासी लगायतका नेता कार्यकर्ताहरूको सहभागिगता रहेको थियो ।
मकवानपुर,
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध मकवानपुरको हेटौँडामा संयुक्त विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रघाती एमसीसी विरुद्ध केन्द्रमा संयुक्त रूपमा कार्यक्रम गरिरहेको आठ राजनीतिकदल नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा विप्लवपक्ष, नेकपा (क्रान्तिकारी माओवादी) लगायत र देशभक्त विभिन्न मोर्चाहरूको संयुक्त अगुवाइमा मंगलबार हेटौँडामा पनि विरोध कार्यक्रम सम्पन्न गरिएको हो ।
हेटौँडाको बुद्धचोकबाट सुरु भएको जुलुस बुद्धचोक उद्योग वाणिज्य संघ हुँदै सीमाचोक आएर कोणसभामा परिणत भएको थियो । कोणसभाको सञ्चालन नेकपा(मसाल) मकवानपुरका प्रवक्ता रामहरि धितालले गर्नुभयो ।
नेकपा विप्लव मकवानपुरका इन्चार्ज नयन, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज सागर, नेकपा (माले)का जिल्ला उपसचिव हरिकृष्ण अधिकारी र एमसीसी विरुद्धको संयुक्तमोर्चा मकवानपुरका तर्फबाट बुद्धिजीवी ऋषिलगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष निरबहादुर सिन्तान, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य पारस लगाएत वभिन्न दलको नेता तथा कर्याकर्ता, युवा विद्यार्थीको व्यापकउपस्थिति रहेको थियो ।
कपिलवस्तु,
राष्ट्रघाती एम.सी.सी. सम्झौता विरुद्ध कपिलवस्तुमा क्रियाशील ४ बाम दलले विरोध सभा सम्पन्न गरेका छन् ।
कपिलवस्तुको चार नं जीतपुरमा भएको विरोध सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता छबिलाल गैरे, ने.क.पा.का जिल्ला सेक्रेटरी कमल के.सी., ने.क.पा. (क्रान्तिकारी माओवादी), का पिविएम धनेश्वर पोखरेल, र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले सम्बोधन गर्नुभएको थियो । अअ सम्झौता खारेज नहुन्जेल आन्दोलन निरन्तर जारी रहने बताएका छन् ।
अमेरिकी रणनीति भविस्मा देश कब्जा गर्ने रहेको बताउँदै ठूला दलका नेताहरू ले पास गरे, देशमा विद्रोह हुने, देशको लागि मर्न तयार हुने बताउँदै सम्पूर्ण देशभक्त जनताले देशको अस्मिता बेचिनबाट जोगाउनु पहिलो कर्तव्य भएको बताए । कार्यक्रम सुरु हुनु पहिले बुङ्चि क्यम्पसबाट राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध नारा बाजी गर्दै जुलुसले जीतपुर बजार परिक्रमा गरेको थियो । विरोध सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले गर्नु भएको थियो भने सञ्चालन, अखिल क्रान्तकारीका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले गर्नुभएको थियो ।
अर्घाखाँची,
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समितिको आयोजनामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।
कार्यक्रमलाई राजमो प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसीले सम्बोधन गर्दै एमसीसीको विरुद्धमा सिंगो देश जुरुक्क उठ्नुपर्ने आवश्यकता औल्याउनु भयो । जनता यसरी उठ्न नसके देशको राष्ट्रिय सार्वभौमिकता समाप्तहुने उहाँको दाबी थियो ।
राजमो अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्यहरू यमलाल पोख्रेल, सागर केसी, अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का उपाध्यक्ष गोविन्द बिसी, प्रदेश सदस्य शेरबहादुर बिसी, अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सचिव उषा पुन, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य ठाकुर पन्थी, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल किसान महासंघका जिल्ला सचिव भीमलाल आचार्य, अखिल (छैठौं) अर्घाखाँचीका अध्यक्ष जीवन नेपाली, राजमो नेता दधिराज खनालल गायत ठुलो संख्यामा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
डोटी,
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध डोटीको सिलगढीमा विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा शैलेश्वरी मन्दिरबाट नारा जुलुशसहित गरिएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष डबल बोगटीले राष्ट्रियताको विषयमा सबै राष्ट्रवादी पार्टीहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य मोहनको सञ्चालनबाट अघि बढेको कार्यक्रमलाई नेकपाका जिल्ला सेक्रेटरी ध्रुव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा डोटी जिल्ला अध्यक्ष प्रकाश कठायतले पनि सम्बोधन गर्नुभएको थियो ।