कम्युनिस्ट पार्टी एउटा सर्वहारा बर्गको पार्टी हो। माक्र्सवाद–लेनिनवाद– माओबिचारधारा यसको लम्किलो र चम्किलो रथ हो । श्रमजीवीहरुको बर्ग उत्थानको लागि साथै जातिय विभेदको अन्त्यको लागि यसले न्युनतम् कार्यक्रम र दिर्घकालिन कार्यक्रमहरुको तयारी र घोषणा गर्दै अघि बढ्छ । बाटो धेरै कठिन हुन्छ । उदेश्य धेरै टाडा हुन्छ तर पनि कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त र कार्यक्रम माथि लाखौं जनता आशाबादी हुन्छन् र हुनुपर्छ ।
एउटा कम्युनिस्ट पार्टीले खेत मजदुरदेखि ठुलठुला कम्पनीमा काम गर्ने शहरिया मजदुरहरु, कम्पनी मजदुरहरुलाई आफ्नो पक्षमा समान ज्याला, निश्चित काम उनीहरु माथि हुने अन्याय अत्याचार र दमनकारी प्रबृत्ति माथि रोक लगाउन पहिले संगठन निर्माण र पछि नीति र कार्यक्रम तय गर्नुपर्छ । साँचो अर्थमा मजदुरहरुको हकहितका लागि मजदुर आन्दोलनलाई अगाडि बढाउनु पर्छ । राष्ट्रियताको पक्षमा, जनता र जनजिबिका को सवाल मा आन्दोलनहरु अघि बढाउनु पर्छ ।
बर्ग विभेद गर्ने र जातियता भढ्काउने खालका कार्यक्रम ल्याउनु हुँदैन । समानताको आधारमा लाखौं श्रमजिवी बर्गको पक्षमा आउने नीति र कार्यक्रम नै क्रान्तिकारी कार्यक्रम हुन्छ । क्रान्तिकारी कुरा गरेर क्रान्ति आउँदैन । क्रान्तिका नीति भएर मात्रै पनि क्रान्ति हुँदैन । क्रान्ति हुन वा क्रान्ति गर्न कार्यकर्ताको चाहनाले मात्र पनि पुग्दैन । देशको बर्तमान स्थिति अथवा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नु जरुरी हुन्छ । २०१७ सालमा काँग्रेसले पनि क्रान्ति गरेको थियो अरे २०२८ सालमा झाँपामा पनि क्रान्ति भएको थियो अरे, २०५२ सालको क्रान्ति त हामीले देखियो र भोगियो । अहिलेसम्म भएका क्रान्ति वा आन्दोलन वा जनयुद्ध कुन दिशामा गएर पतन भएका छन् । त्यो पनि छुट्याउनु पर्छ । क्रान्तिका नाममा हिंसात्मक गतिविधि गर्नु र आम जनतालाई मारमा पार्नु क्रान्ति होइन । सबैले क्रान्ति कै कुरा गर्ने ? सबै क्रान्तिकारी हुम भन्ने ? तर अहिलेसम्म भएका भनिएका क्रान्तिले एक–दुई दर्जन सम्बन्धित पार्टीका नेता बाहेकहरुलाई फाईदा भए कै छैन । यस्तो पनि क्रान्ति हुन्छ ? शुरुशुरुमा क्रान्तिकारी कुरा गर्ने, क्रान्तिका कुरा गर्ने, क्रान्तिकारी देखिने अन्तमा गएर त्यहि पुंजिबादि ब्यबस्थालाई स्वीकार गर्ने । चुनावमा जाने, सरकारमा जाने, सरकारमा सहभागी भैसकेपछि सम्पूर्ण रुपमा, आफ्नो र आफ्नाहरुको लागि मात्रै काम गर्ने प्रवृत्तिको बिकाश भएको छ ।
यतिमात्र होईन देशका उद्योग धन्दा, कलकारखाना र प्राकृतिक श्रोत साधनहरु बेचेर भए पनि सरकारमा जाने सरकार बनाउने ? यसप्रकारका गतिविधि हुँदै आएका छन् । देशको अबस्था, जनताको अबस्थामा खासै र कुनै परिवर्तन आएको देखिँदैन ।
यसप्रकारको बिद्यमान स्थितिलाई नजिकबाट नियालेर हेरिरहेको नेपालको एक मात्रै कम्युनिस्ट पार्टी नेकपा (मसाल)ले पनि क्रान्ति गर्ने भनेको छ । उसँग क्रान्तिकारी नीति छ । उसँग क्रान्तिकारी कार्यकर्ता पनि छन्, तर क्रान्ति गर्ने अबस्था छैन भनेको छ । उसले बिद्यमान संसदीय ब्यबस्था पुंजिबादी ब्यबस्था भित्रको अंग हो भनेको छ । संसदीय ब्यबस्था खशिको ठाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भनेको छ, तर यसको उपयोग पनि गर्दै आइरहेको छ । बिद्यमान परिस्थितिमा प्राप्त उपलब्धिहरुको रक्षाको लागि संसदीय ब्यबस्था उपयोग गरेको हो भनेको छ, तर कतिपयले यो द्वदचरित्र भयो भनेर बिरोध गरेको पाइन्छ । कार्यनैतिक सवालमा चुनावको उपयोग कतिवेला के गर्ने भन्ने कुरा सम्बन्धित पार्टीको संसदिय बोर्डले तय गर्ने कुरा हो । नेकपा (मसाल) मा पनि त्यहि हुँदै आएको छ । निश्चित रुपमा नेकपा (मसाल) क्रान्तिकारी पार्टी हो, तर चुनावको उपयोग र सरकार गठबन्धनको उपस्थितिले कतिपय साथिहरुले सवाल उठाएका छन् । पार्टी दक्षिणपन्थी दिशामा गयो र यसले क्रान्ति गर्दैन भन्ने पनि ती कतिपयलाई लागेको छ, तर जसले यसप्रकारका सवालहरु उठाउने गरेका छन् उनीहरुको पनि क्रान्तिकारी नीति र कार्यक्रम छैन । तर क्रान्तिकारीताको प्रदर्शन भित्र फुटप्रस्त गतिविधिको खेती भने निकै सशक्तपूर्ण रुपमा गरिरहेको देखिन्छ ।
केही समय पहिले नेकपा (मसाल) को आठौं महाधिवेशन सम्पन्न भएको कुरा सार्वजनिक भयो । त्यहाँ दुई लाईनको संघर्ष चलेको र दुई वटा प्रस्तावहरु आएको । प्रस्तावहरुमाः अल्पमत र बहुमत पक्षबाट आएका विचारहरुमाथि पनि निकै छलफल गरियो । कुनै पनि पार्टीको महाधिवेशन सर्वोच्च अंग मानिन्छ, महाधिवेशनले गरेका निर्णयहरु हुबहु मान्नु पर्ने हुन्छ ।
एउटा पार्टी सदस्यले महाधिवेशनका निर्णयहरु स्विकार्नु पर्छ, तर नेकपा (मसाल) को आठौं महाधिवेशन पछि अराजक र अनुशासन बिहिन तरिकाले धेरै साथिहरु फेसबुकमा छताछुल्ल भए । त्यहाँ कुनै ब्यक्तिको नाम र दक्षिणपन्थी शब्द बाहेक अरु केही भेटिदैनथ्यो। साथिहरुले फेसबुक र केही अनलाइन पत्रिकामा क्रान्तिकारीताको प्रदर्शन गरिरहेका थिए ।
पार्टी अनुशासन नमानिसके पछि कुनै पार्टीले आफ्ना कार्यकर्ताहरुलाई विधानमा रहेको प्रावधान अनुसार सुझाव, आलोचना, कारवाही गर्नु कुनै नौलो विषय होइन । त्यसै अनुसार मसालले केही साथिहरुलाई कारबाही गरेको कुरा छताछुल्ल भयो । पार्टीबाट कारवाहीमा पर्नुभएका कतिपय व्यक्तिहरुले विद्रोहको नाममा जनजागरण अभियान सचालन गर्नु भयो । वहाँहरुले जनजागरणलाई संस्थाको संज्ञा दिएर क्रान्तिकारीताको प्रदर्शन तिब्र रुपमा गर्ने काम शुरु भयो । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा भनेको कुनै एउटाले बनाएको पार्टी र संगठन होइन । यहाँ हामी सबैको मिहिनेत, रगत र पसिना परेका छ भन्दै साथीहरुले अराजकताको हद पार गर्दै जानु भयो ।
हो, कतिपय साथिहरुलाई अनिश्चितकालिन कार्यबाहि, कतिपयलाई ६ महिना र एक बर्ष त कतिपयलाई सामान्य सदस्य समेत नरहने गरि र कतिपय लाई जिम्मेवारीबाट हटाउनेसम्मका कार्यबाहि भयो । पार्टीले कार्यबाहि गरेपछि कार्यबाहि समय अबधिसम्म बस्ने कि, समानान्तर समिति गठन गर्ने ? समानान्तर समिति गठन गर्नु अलग संस्था बनाउनु, अलग समिति बनाउनु फुटपरस्त गरिबिधि हो । क्रान्तिकारी कुरा गर्ने ? क्रान्तिकारी हुँ भन्ने तर बर्षदिनको कार्यबाहि अबधि पचाउन नसक्ने, गुटबन्दी र मिथ्या आरोप लगाउने यो कस्तो क्रान्तिकारी नीति हो ?
पहिले जनजागरण अभियान, अनि भेला पछि नेकपा (मसाल) समन्वय समिति गठन गर्नु त्यसभन्दा पहिला सम्पर्क केन्द्र बनाउनु, नेकपा (मसाल)को नामले माओबादीसँग एकता गरेको नाटक गर्नु । सम्पर्क केन्द्रमा कति साथिहरु थिए, समन्वय समितिमा कति साथिहरु छन् ? अनि माओबादीसँग बार्ता र संवाद गर्ने ? पद, पैसा र फाइदाको हिसाब गर्ने । पार्टी एकताको नाममा नेकपा (मसाल) को बदनाम गर्ने यसखाले प्रवृत्ति कुनै पनि सर्तमा सहि हुन सक्दैन । क्रान्तिकारी प्रदर्शन भित्र फुटपरस्त गतिविधि नभनेर यसलाई के भन्ने ?
अहिले पनि देश तथा प्रवासमा कतिपय साथिहरुले उहीँ नामबाट समानान्तर समितिहरु बनाउनु भएको छ । एउटै नाम, एउटै मैदान तर उदेश्य र लक्ष्य फरक बोकेर साथिहरु बिचमा यस प्रकार अबस्था सिर्जना गर्नु । पार्टीको बिधान र नीति बिपरित छ । सैद्धान्तिक रुपमा छलफल र बहस पछि पार्टी एकीकरण का कुरा गर्नु बा एकीकरण गर्नु राम्रो पक्ष होला तर आठ र दश जनाको गुट लिएर पार्टी एकीकरणको घोषणा गर्नु सहि होईन । आस्था परिवर्तन गर्नु बेईमानिपुर्ण कार्य हो । राजनीतिमा ईमानदारीता गुमाउनु विश्वासघात र वेइमानि हो । अहिले त्यहि भइरहेको छ । साथै यो क्रम अझै बढेर जान्छ वा रोकिन्छ त्यो त अहिले भनिहाल्नु गलत हुनेछ, तर क्रान्तिकारी आबरण भित्र पुटपरस्त गतिविधि भएका छन् भन्ने कुराको पुष्टि र प्रमाण भने साथिहरुले दिईराख्नु भएको छ ।