एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा राजमोलाई स्वीकार्य छैन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा स्वीकार गर्न नहुने दोहोर्याउनुभएको छ । सत्ता गठबन्धन दलहरुबीच एमसीसी अघि बढाउने सहमति भएको भन्ने चर्चाबीच अध्यक्ष केसीको यस्तो प्रतिक्रिया आएको हो ।

‘गठबन्धन टुट्छ कि भनेर राष्ट्रघाती सम्झौतालाई स्वीकार गर्न हुन्छ ?’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ ।’

केसीले माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अघि बढाउन सहमत हुने कुरामा आफूलाई विश्वास नलागेको बताउनुभयो । उनीहरुले परिमार्जन नगरी स्वीकार गर्न नहुने बताइरहेको र अमेरिका त्यसका सर्तहरुलाई परिमार्जन गर्न तयार नभएका कारण एमसीसी अघि नबढ्ने केसीको विश्वास छ ।

एमसीसीका राष्ट्रघाती प्रावधानबारे धेरै कुरा बाहिर आइसकेको र जनताले खबरदारी गरिरहको अवस्थामा चुनाव र गठबन्धनलाई मात्रै हेरेर माओवादी तथा एकीकृत समाजवादीले एमसीसी स्वीकार गर्ने कुरामा विश्वास गर्न नसकिने केसीको भनाई छ ।

केसीले भन्नुभयो, ‘माओवादी र एकीकृत समाजवादीले परिमार्जन नगरी एमसीसी पास गर्न हुँदैन भन्दै आएका छन् । अमेरिकाले यसलाई परिमार्जन गर्न सकिँदैन भनेर स्पष्ट भनिसकेको छ । त्यसकारण उनीहरु गठबन्धन जोगाउनकै लागि यसलाई यही अवस्थामा अघि बढाउन तयार हुन्छन् जस्तो लाग्दैन ।’

अध्यक्ष केसीले केपी ओली र शेरबहादुर देउवाबीच भने एमसीसीको विषयमा सहमति हुनसक्ने बताउनुभयो । कांग्रेस र एमाले दुवै दल एमसीसीको पक्षपति भएका कारण उनीहरुबीच गठजोड भएका त्यो अनौठो नहुने केसीको भनाई थियो । पाँच दलीय गठबन्धन तोड्न देशी विदेशी शक्तिहरु लागिरहेको सन्दर्भमा गठबन्धन टुटेर कांग्रेस, एमाले एक भए त्यो खासै नौलो कुरा नहुने पनि उहाँले बताउनुभयो ।

‘ओलीले एमसीसी पास गर्न भएभरको प्रयास गरेकै हुन् । जनताको दवावमा मात्रै अघि नबढेको हो । देउवाले पनि एमसीसी पास गर्छु भनिरहेकै छन् । उनीहरुका बिचमा यसबारे सहमति हुनसक्छ’ केसीले भन्नुभयो, ‘उनीहरु भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको दवावका कारण मिलेरै एमसीसी अघि बढाउन सक्छन् ।’

अध्यक्ष केसीले एमसीसीका कारण गठबन्धन नटुट्ने पनि बताउनुभयो । पाँच दलीय गठबन्धन प्रतिगमन विरुद्ध बनेको हुनाले प्रतिगमन पूर्णरुपमा परास्त नहुँदासम्म रहने उहाँको विश्वास छ । नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भन्ने जान्दाजान्दै गठबन्धन बनेको उहाँले बताउनुभयो ।

‘यो गठबन्धन एमसीसीका लागि बनेकै होइन । यो प्रतिगमनविरुद्धको गठबन्धन हो । गठबन्धन बनाउँदैमा हामीलाई थाह थियो नि कांग्रेस एमसीसीको पक्षपाती हो भनेर’ केसीले भन्नुभयो, ‘ओली अहिले पनि आफ्ना प्रतिगामी उद्देश्य पुरा गर्न लागिपरेका छन् । त्यसकारण प्रतिगमनविरुद्ध लड्ने अवस्थासम्म गठबन्धन रहन्छ ।’

यस्तै, उहाँले निर्वाचनलाई हेरेर पनि गठबन्धन नबनेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाले चुनाव हारिन्छ कि भनेर कसैसँग सौदाबाजी नगर्ने पनि केसीले स्पष्ट पार्नुभयो ।

केसीले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चाले चुनाव हारिन्छ कि भनेर कसैसँग सौदाबाजी गर्दैन । हामीलाई प्रष्ट थाह छ, यो प्रतिक्रियावादी व्यवस्थाबाट, चुनावबाट जनताका आधारभूत समस्या समाधान हुँदैन । त्यसकारण हामी चुनावलाई हेरेर, हारिन्छ कि जितिन्छ भनेर कसैसँग गठबन्धन गर्दैनौँ । अहिले जनताले लडेर प्राप्त गरेका उपलब्धि जोगाउनुपर्ने आवश्यकता छ । त्यसैका लागि हो गठबन्धन गरेको ।’

अध्यक्ष केसीले एमसीसी दृढतापूर्वक अस्वीकार गर्न पनि गठबन्धनका सहयात्री दलहरुसँग अपिल गर्नुभयो । आफ्नो राजनीतिक भविष्य के हुने भन्ने आधारमा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी नगर्न उहाँको आग्रह छ ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास भएमा नेपालको स्वतन्त्र परराष्ट्र नीति समाप्त हुने र नेपाल अमेरिकाको इन्डो प्यासिफिक रणनीतको अंग हुने पनि दोहोर्याउनुभयो । एमसीसी अघि बढाउन नदिनको लागि जनस्तरबाट थप दवाव दिनुपर्ने आवश्यकतामा समेत केसीले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार