नेपाली जनताको आन्दोलनले एम.सी.सी. खारेज गरेरै छाड्ने छ : खत्री

बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले अमेरिकी साम्राज्यवादबाट जबर्जस्ती लाद्न खोजिएको राष्ट्रघाती एम.सी.सी. नेपाली जनताको आन्दोलनले खारेज गरेर छाड्ने दाबी गर्नुभएको छ ।

२०७८ फागुन ६ गते रुपन्देहीमा क्रियाशील आठ राजनीतिक पाटीको संयुक्त राष्ट्रघाती एम.सी.सी. विरुद्धको विरोधसभामा बोल्दै उहाँले अमेरिकी दलालहरूले डलरको आडमा जनताको आवाज दबाएर, धरपकड, गिरफ्तार गरेर देशको स्वाभिमानमाथि सौदाबाजी गर्न नसक्ने चेतावनी दिनुभयो ।

अहिले अमेरिकी साम्राज्यवादको प्रवेश सामान्य मान्नेहरूले मानव समुदायकै १ नम्बरको दुस्मन अमेरिकी साम्राज्यवाद विश्वमा जहाँ जहाँ पुग्छ, त्यहाँका शासक र जनताको कस्तो दुर्गती बनाएको छ ? त्यसबाट नेपाली लेन्डुपहरूले शिक्षा नलिनु स्वाभिमानी नेपालीहरूका लागि दुर्भाग्य भएको उहाँको भनाइ थियो ।

विरोध प्रदर्शन गगनभेदी नारासहित पुष्पलाल पार्कबाट ट्राफिक चौक र मुख्य बजार हुँदै पुरानो बसपार्कमा पुगेर सभामा परिणत भएको थियोे ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम प्रेम सुवेदी, नेकपाको तर्फबाट वीरेन्द्र, नेकपा (माले) का केन्द्रीय सचिवालय सदस्य गोपालमणि गौतम, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका गोविन्द विकले पनि सम्बोधन गर्नुभएको थियोे ।

कार्यक्रमको सञ्चालन नेकपाका खोमा त्रामुमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार