खलङ्गा । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले सङ्घीयताले देशको विकास र निकासमा अवरोध सृजना गरेको धारणा व्यक्त गर्नुभएको छ । प्युठान गौमुखी गाउँपालिका-४ पूजास्थित श्री महेन्द्र माविको २०७८ फागुन २३ गते सम्पन्न साठिऔँ वार्षिकोत्सव तथा अभिभावक भेलामा उहाँल यस्तो विचार व्यक्त गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका सांसद जिसीले ब्यानर पढेर वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो । त्यसपछि मन्तव्य राख्दै सांसद जिसीले समाज परिवर्तनको लागि र देश परिवर्तनको लागि शिक्षाको निर्णायात्मक भूमिका रहने बताउनुभयो । महिला नेतृ जिसीले मन्तव्यको क्रममा सङ्घीयता महङ्गो, बोझिलो र झन्झटिलो व्यवस्था भएको अनुभवबाट समेत पुष्टि भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम केसीले र सञ्चालन शिक्षक कवि केसीले गर्नुभएको थियो । वार्षिक आयव्यय प्रधानाध्यापक रामकृष्ण पुरीले पेस गर्नुभएको सो कार्यक्रममा कार्यक्रममा अक्षयकोष दाताहरूलाई प्रमुख अतिथि जिसी र गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले संयुक्त रूपमा प्रशंसापत्र प्रदान गर्नुभएको थियोे ।
विद्यालयमा विशेष शैक्षिक सुधारमा योगदान गर्नुहुने उत्कृष्ट शिक्षक रामबहादुर जिसी र उत्कृष्ट शिक्षिकामा सुशिला केसीलाई पनि कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, अन्तरविद्यालय प्रतिष्पर्धामा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमुख अतिथि जिसी, विशिष्ट अतिथिद्वय गाउँपालिका उपाध्यक्ष तुलसा सुनार र वडाअध्यक्ष टुकबहादुर केसीले पुरस्कार प्रदान गर्नुभएको थियोे ।
कार्यक्रमलाई गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, वडाअध्यक्ष टुकबहादुर केसी, उद्योग पाणिज्य सङ्घ लुम्बिनीका सचिवालय सदस्य ज्ञामुराम न्यौपानेलगायतका अतिथि तथा समाजसेवीहरूले शुभकामना दिनुभएको थियोे ।