महामन्त्री सिंहद्धारा विचार, चेतना र राजनीति लिएर जनताको बिचमा जान कार्यकर्तालाई निर्देशन

  • अरु दलले जनतामा भ्रम छर्छन्, हामी विचार र चेतना लिएर जान्छौँ : महामन्त्री सिंह
  • अर्घाखाँची । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पार्टीका नेता कार्यकर्तालाई विचार, चेतना र राजनीति लिएर जनताको बिचमा जान निर्देशन दिनुभएको छ । चुनावमा अन्य पार्टीले जनतालाई भ्रम दिने भन्दै महामन्त्री सिंहले राजनीति र विचारको आधारमा निर्वाचन जित्नु सयौं गुणा महत्व हुने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा सोमबार आयोजित जिल्ला भेलामा प्रशिक्षण दिँदै सिंहले यसपटकको चुनाव एक्लै जित्नका लागि पार्टीका साथीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अर्घाखाँचीमा हामीले कैयौँपटक एक्लै चुनाव जितेका छौँ । हामीले विचार, चेतना, राजनीति र सक्रियताले चुनाव जित्छौँ, जसको अन्य पार्टीको विजयभन्दा सयौँ गुना महत्व छ ।’

    महामन्त्री सिंहले आगामी स्थानीय तहको निर्वाचनलाई प्रतिगामी, अधिनायकवादी र फासिष्ट शैलीका विरुद्धमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि देशमा प्रतिगमनको खतरा नटरेको र प्रतिगमनसँगै राष्ट्रघात पनि आएकाले यसको विरुद्ध कडा संघर्ष गर्नुपर्ने बताउनुभयो ।

    सिंहले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भएको र अमेरिकाको दबाबमा त्यसलाई नेपालले पारित गर्नु नेपालको सार्वभौमसत्तामाथि साम्राज्यवादको खुल्ला हस्तक्षेप भएको बताउँदै त्यसलाई तुरुन्त खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने नारासहित राजमो अर्घाखाँची जिल्ला भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको हो।

    भेलाको उद्घाटन अखिल नेपाल किसान महासंघ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरहवराज रेग्मीले गर्नु भएको थियो ।
    कार्यक्रममा राजमोका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार