तनहुँका प्रेम विकलाई प्रवासबाट विदाई

रामप्रसाद पौडेल,

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिती अन्तर्गत पर्ने उत्तर हैदराबाद नगर समितीका सकृय कार्यकर्ता प्रेम विकको प्रवासबाट विदाई गरिएको छ ।

मूल प्रवाह नगर समितिले अप्रिल ३ मा एक समारोहको आयोजना गरी उहाँलाई सम्मानका साथ विदाई गरेको हो । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष मोहनलाल शर्मा र सन्चालन सचिव जिबनाथ शर्मा तथा स्वागत लाल बहादुर थापाले गर्नु भएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले विदाई भएका विकलाई माला, अबिर सहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । साथै उहाँले आजसम्म संगठनलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै स्वदेशमा गएर पनि आजसम्म जसरी इमान्दारी र अनुशाशित रुपमा निरन्तर खटेर काम गर्न शुभकामना दिनुभयो ।

बाँकी जीवन नेपालमा गएर देश र जनताको पक्षमा काम गर्ने एकमात्र सच्चा पार्टी रास्ट्रिय जनमोर्चामा संगठित भइ निरन्तर रुपमा खटेर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ आसन्न स्थानीय निर्वाचनमा रास्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई जिताउन खटिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य पुस्पा पौडेलले पनि शुभकामना तथा बधाई मन्तब्य राख्नु भएको थियो । साथै नगर अध्यक्ष मोहनलाल शर्माले पनि उपहार प्रदान गर्दै शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा जुब्लि हिल्स एरिया समितिको तर्फबाट पनि खिम परियारले उपहारसहित बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

स्वदेश फर्कँदै गरेका प्रेम विकले पनि संगठनप्रति आभार प्रकट गर्दै आफूले स्वदेशमा रास्ट्रिय जनमोर्चामा सामेल भएर आफ्नो क्षमता अनुसारको योगदान देश र शोसित पीडित जनताको निम्ति पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँको स्थायी ठेगाना तनहुँको ब्यास नगरपालिका वडा न ९ हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार