धनगढीको एक वडामा तालमेल, कैलालीमा को कहाँ उम्मेदवार ?

धनगढी । स्थानीय निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनमोर्चा, कैलालीले जिल्लाका विभिन्न स्थानमा उम्मेदवारी दिएको छ । जिल्लाको धनगढी नगरपालिका वडा नं १३ मा तालमेल भएपनि अन्य स्थानमा राजमोले एकल उम्मेदवारी दिएको छ ।

राजमो कैलालीले दिएको जानकारी अनुसार धननगढी उपमहानगरपालिका वडा नं १३ मा राजमाले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तालमेल गरेर दुई जना वडा सदस्य उठाएको छ । जहाँ रामकृष्ण राना र शान्ति राना वडा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

धनगढी उपमहानगरपालिकामा राजमोको तर्फबाट अञ्जना श्रेष्ठ (मास्के) प्रमुख पदको उम्मेदवार बन्नुभएको छ ।

यता, गोदावरी नगरपालिकाको प्रमुखमा हरिकृष्ण पाण्डे र उपप्रमुखमा कल्पना बरालले उम्मेदवारी दिनुभएको छ ।

गोदावरीकै वडा नं १ मा लालबहादुर पार्की, ९ मा लल्ला राना, ११ मा गोविन्द विक र १२ मा जयबहादुर विक वडाअध्यक्षको उम्मेदवार हुनुहुन्छ । गोदावरीको १२ नं वडामा राजमो गएको निर्वाचनमा थोरै मतअन्तरले मात्रै वडाअध्यक्षमा पराजित भएको थियो । सो वडामा यसपटक विजयी हुनेमा आफू ढुक्क रहेको उम्मेदवार जयबहादुर विकले बताउनुभएको छ ।

यता, घोडाघोडी नगरपालिकाको उपप्रमुखमा सीताकुमारी थारुले उम्मेदवारी दर्ता गराउनुभएको छ । नगरपालिकाको वडा नं २ मा देशराज चौधरी, ४ मा प्रेम चन्द, ७ मा बाबुराम चौधरी र १० मा जगत प्रसाद जोशी वडाअध्यक्षको उम्मेदवार हुनुहुन्छ । राजमो कार्यवाह जिल्ला अध्यक्ष जोशीलाई १० नं वडामा बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिकाको प्रमुखमा मिलन शाहीले उम्मेदवारी दिनुभएको छ । सो नगरको वडा नं १ मा रत्नप्रसाद सञ्ज्याल, ४ मा मिनराज रिजाल, ७ बाट वेदप्रसाद पाण्डे, ८ बाट कुस्माखर जैशी र १० मा प्रकाश जोशीले उम्मेदवारी दिनुभएको छ ।

यता, बर्दगोरिया गाउँपालिका प्रमुखमा रुपा आलेले अध्यक्षको उम्मेदवारी दिएको राजमो कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार