गर्छन् के अझ तामझाम मनुवा दङ्गा सबिस्तार छ
बाँड्दै नोट हजार जोडबलले चित्कार चित्कार छ
हाल्छन् भोट कुकर्म प्रष्ट छलले नाङ्गो कलाकार छ
फोश्रो नाटक जो चुनाव भनियो मेरो तिरस्कार छ । १
लाखौलाख डुबे रसान्न तलमा बोक्रो परिष्कार छ
खोलो बग्छ जहाँ छ टन्न मदिरा खोक्रो कुसंस्कार छ
नाफाखोर बडो चुनिन्छ सहसा खुङ्खार हल्दार छ
घातै घात जहाँ चुनाव भनियो मेरो तिरस्कार छ । २
बासी यी अनुहार छन् कुलतका भारी अहङ्कार छ
ताजा खै जन होनहार मनका छिः छिः र दुत्कार छ
रातारात गयो हकार्न मुखिया गाली बलात्कार छ
साक्षी बस्नु छ के चुनाव भनियो मेरो बहिष्कार छ ।३
लाछीका सपना नराधम सरी जात्रा र हुङ्कार छ
लुट्ने हो जसरी म लुट्छु ढिकुटी सौजन्य साकार छ
बन्दैछौ र धनी समग्र करले हाँसो चमत्कार छ
बौलाहा धनको चुनाव भनियो मेरो तिरस्कार छ ।४
सत्तामा सहकार्य हुन्छ सबको धिक्कार धिक्कार छ
सित्तैमा धनधान्य दिन्छ उसले के को सरोकार छ
अर्काको सहयोगले मुलुक यो डुब्दै अहोरात्र छ
उक्रासो किन हो चुनाव भनियो मेरो तिरस्कार छ । ५
लोप्पा खानु सधैं छ नोकर सरी के यो सदाचार छ
हप्कायो बलियो भयौं थरहरी भन्ने समाचार छ
कुण्ठा पाल्छ कतै लुकेर हरुवा उल्का कुलङ्गार छ
आमा घातकको चुनाव भनियो मेरो तिरस्कार छ । ६
दाम्लोमा बँधुवा बने सरहको निर्धो नमस्कार छ
काम्लोमा चँदुवा मुकाम परको उल्टो दुराचार छ
धर्ती शुध्द रहेन यो मुलुकको डाँको धुवाँधार छ
घुर्कीको खलियो चुनाव भनियो मेरो तिरस्कार छ । ७