मध्य दक्षिण । भारतको नागपुरमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ घर भै हाल नागपुर शहरको बास्कुलर झोपट्पटिमा बस्ने २९ वर्षीय नन्दबिर बुढाथोकी रहेका छन् ।
आफ्नी आमा र तीन बहिनीसहित भारतमै बसोबास गर्ने नन्दबिरका बुवा रन्जित बुढाथोकीको भने निधन भैसकेको छ ।
यही मे २५ का दिन आएको आँधी तुफानले झोपडी उडाएपछि त्यसको मर्मतका लागि आवस्यक पर्ने सामान ल्याउन भनी पसलतिर हिँडेका नन्दबिरको रेलको लिक पार गर्ने क्रममा रेलले ठक्कर दिएको थियो । उनलाई रेलवे पुलिसले अस्पताल पुर्याउना साथ अस्पतालले मृत घोषणा गरेको थियो ।
सो घटनाको जानाकारी प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नागपुर नगर समितिलाई दिएपछि मूल प्रवाहका मध्य दक्षिण क्षेत्रीय उपाध्यक्ष रुपलाल जि एम, सदस्य तेज बहादुर पुन, नगर समितिका होम बहादुर जि एम, मिना पुन लगायतको प्रतिनिधिमण्डल रेल्वे पुलिस कार्यालय पुगेको थियो । मूल प्रवाहले सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरि मृतक नन्दबिर बुढाथोकीको दाहसंस्कार गरेको छ ।
कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएमले शोक मन्तव्य राख्नु भएको थियो । दाह संस्कारमा मूल प्रवाहका साथै गोर्खा समाज लगायतका अन्य सामाजिक संघ संस्थाको पनि सहभागिता रहेको थियो ।