काठमाडौं । राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमोर्चा सम्पर्क समितिहरुको अनौपचारिक संयुक्त बैठकले विभिन्न जिल्ला तथा क्षेत्रीय सम्पर्क समिति पुनर्गठन गर्ने र सक्रिय पार्ने योजना बनाएको हो ।
काठमाडौं आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न राजमोका सदस्यहरुले आ–आफ्नो जिल्ला तथा क्षेत्रका मानिसहरुलाई समेटी सम्पर्क समिति पुनर्गठन गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा कतिपय जिल्ला तथा क्षेत्रका सम्पर्क समितिको भेलासमेत तय गरिएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं–बागलुङ सम्पर्क समितिको भेला आउँदो असार ११ गते हुने छ । सोही दिन काठमाडौं–सुदूरपश्चिम सम्पर्क समितिकोसमेत भेला आयोजना गरिएको छ । दुवै भेला कपनस्थित राजमोको केन्द्रीय कार्यालयमा हुने छ।
यस्तै, असार १८ गते काठमाडौं–प्युठान सम्पर्क समिति, काठमाडौं–अर्घाखाँची सम्पर्क समिति र काठमाडौं–कर्णाली सम्पर्क समितिको भेला हुने छ । यसैगरी काठमाडौं–दाङ सम्पर्क समितिको भेला असार २५ गते तय गरिएको छ ।
अन्य जिल्ला र प्रदेशस्तरीय सम्पर्क भेलाहरु पनि असार महिनाभित्रै गर्ने राजमोले जनाएको छ ।
काठमाडौं–कर्णाली सम्पर्क भेला आयोजक समिति पुनर्गठन
यसैबीच राष्ट्रिय जनमोर्चा, काठमाडौं–कर्णाली सम्पर्क समिति पुनर्गठन भएको छ । शनिबार भएको एक भेलाले आयोजक समिति पुनर्गठन गरेको हो ।
भक्तबहादुर विश्वकर्मा संयोजक रहनुभएको समितिको सदस्यमा विष्णु ओली, अस्मिता राना, समृद्धि बुढा, कृष्ण शर्मा र राजेन्द्र केसी रहनुभएको छ । सो समितिले असार १८ गते आफ्नो भेला गर्ने छ ।
‘संगठन र आन्दोलनमा सम्पर्क समितिको भूमिका महत्वपूर्ण’
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरुले संगठन र आन्दोलनमा सम्पर्क समितिको महत्वपूर्ण भूमिका रहने गरेको चर्चा गर्नुभयो ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विभिन्न जिल्लाबाट काठमाडौं आइ बसोबास गर्ने पार्टी, सदस्य, समर्थक र शुभतिचन्तकहरुले पार्टी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको चर्चा गर्नुभयो । उहाँले सम्पर्क समितिबाट राजधानीमा चल्ने आन्दोलनलाई अगाडि बढाउन,सम्बन्धित जिल्लामा विकास निर्माणका काम गर्न र राजनीतिक चेतना फैलाउन सक्ने बताउनुभयो ।
यस्तै, राजमो नेता आनन्द शर्माले संगठन निर्माणमा सम्पर्क समितिको भूमिकाबारे चर्चा गर्दै काठमाडौंमा चल्ने जनतान्त्रिक आन्दोलन र निर्वाचनमा सम्पर्क समितिहरुमार्फत धेरै काम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, केन्द्रीय सदस्यद्वय लालबहादुर थापा र घनश्याम न्यौपाने, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल (छैठौं) का पूर्वअध्यक्ष विमल पोखरेललगायत नेताहरुले धारणा राख्नुभएको थियो ।