एसपीपीको प्रभाव, नागरिकता विधेयक र पार्टी बैठकका निर्णयबारे मोहनविक्रमलाई तीन प्रश्न

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल सरकार अलग भएपनि अमेरिकाले नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना औँल्याउनुभएको छ ।

अन्तर्वार्तामा सिंहले एसपीपी अस्वीकार गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । तर, एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौतालाई आधार बनाएर अमेरिका नेपालमा आउनसक्ने उहाँले बताउनुभयो ।

उहाँले अहिले एसपीपी अमेरिकी सैन्य रणनीतिका अंग भएकोबारे सिंगो देश एकमत भएर त्यसको विरोध गरेको बताउनुभयो । तर, एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग हो भन्ने कुरा कतिपय राजनीतिक दलले बुझ्न नसकेको वा जवर्जस्ती संसदबाट पास गरेको बताउनुभयो । त्यसले अमेरिकालाई नेपालमा आफ्ना गतिविधि बढाउने आधार तयार पारिदिएको उहाँको भनाई छ ।

यस्तै, सिंहले नेपालको सन्दर्भमा नागरिकतासम्बन्धी नीतिमा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।

नेपालमाथि विशाल जनसंख्या भएको भारतको जनसांख्यिक आक्रमण कायम रहेकाले देशको राष्ट्रियता बचाउन कडा नागरिकता नीति अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

अहिले सरकारले विदेशबाट विवाह गरेर आउनासाथ नागरिकता दिने, अंगीकृत नागरिकका सन्तानलाई पनि बंसजको नागरिकता दिने तथा जन्मका आधारमा नागरिकता प्रदान गर्ने गरी विधेयक ल्याउन लागेको चर्चा चलिरहेका बेला सिंहले खुकुलो नागरिकता विधेयक नल्याउन सरकारलाई चेतावनी दिनुभएको छ ।

यस्तै, महामन्त्री सिंहले हालै बसेको पार्टीको बैठकले गरेका निर्णयहरुबारे जानकारी दिँदै महंगी र भ्रष्टाचार, सीमा अतिक्रमणलगायतका विषयमा यही असार १५ देखि २० गतेसम्म विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्ने जानकारी पनि दिनुभयो ।

उहाँले गत स्थानीय निर्वाचनको समीक्षा गर्दै पाँचदलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य दल इमान्दार नरहेको ठहर गर्दै आगामी संसद र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर त्यो इमान्दारिता हुनुपर्ने बताउनुभयो ।

महामन्त्री सिंहले पार्टीलाई दक्षिणपन्थी भएको आरोप लगाएर बाहिरीएकाहरुको आरोप उनीहरुकै व्यवहारले खण्डन भइसकेको र उनीहरु कुहिरोको काग जस्तै अलमलिएका स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार