प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको महिला विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम भारत व्यापी रुपमा सम्पन्न भएका छन् । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौ’ भन्ने मूल नारा अन्तर्गत सो तीज कार्यक्रम सम्पन्न भएको हो ।
यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समिति महिला विभागको आयोजनामा प्रगतिशील तीज सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।
खनालले तीजको शुरुवात धार्मिक मान्यता अनुसार भएता पनि यसको प्रगतिशील महत्व रहेको बताउनु भएको थियो । पर्वतराजले छोरी पार्वतीको विवाह पार्वतीको इच्छा विपरीत तैयारी गरेकोमा घरबाट भागी जंगलमा गई शिवलाई पतिको रूपमा प्राप्त गर्न कठिन तपस्या गरेको र त्यसको परिणामस्वरूप शिवलाई पतिको रूपमा प्राप्ति गरेको भन्ने पौराणिक कथा रहेको खनालको भनाई थियो ।
‘यसले के प्रष्ट पार्छ की त्यसबेला पार्वतीले आफ्नो इच्छा अनुसार आफ्नो पति छनोट गर्ने अधिकारको लागि आफ्नो पिताको विरुद्ध विद्रोह गरिन । यो समाजमा भएको भेदभावपूणर् व्यवहारको विरुद्ध विद्रोह भएको हुँदा तिजको प्रगतिशील महत्व हुन आएको हो ।’ खनालले भन्नु भयो- ‘महिला विरुद्ध भेदभाव विरुद्ध संघर्षको प्रतिकको रुपमा पुरुषप्रधान समाजमा महिला अधिकारबाट वञ्चित भए पनि हरितालिका तीजको परम्पराका कारण श्रावण संक्रान्तिदेखि हरितालिका तीजसम्म महिलाले आफूमाथि हुने भेदभावविरुद्ध गीतमार्फत आवाज उठाउने अवसर पाएका छन् ।’
अध्यक्ष खनालले समाजमा अनेकन प्रकारका व्यक्तिहरु हुन्छन् । समाज सेवा कलुशित भावनाबाट हुन नसक्ने भएकोले त्यसको लागि निस्वार्थ भावनाका साथै धैर्य अनुशासनको खाँचो पर्ने खनालले बताउनु भयो । व्यक्तिवादी महत्वाकांक्षा, अवसरवादी सोंच एवं अराजक कार्य शैलीबाट समाज संगठन नचल्ने खनालको भनाई थियो ।
‘अहिले केही व्यक्तिहरुले मूल प्रवाहको नाम र रजिस्ट्रेसन नम्बरको दुरुपयोग गरि जनतालाई भ्रम फैलाउने दुस्साहस गरिएको छ । त्यो अनैतिक मात्रै होइन गैरकानुनी समेत भएको हुँदा उनीहरूले फैलाउने भ्रमको आयु नलम्बिने खनालको थप भनाई थियो ।
महिला विभागकी अध्यक्ष गोमा थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजु अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई दुर्गा न्यौंपानेले स्वागत गर्नुभएको थियो । अतिथिमा किन्नर अखाडा महामण्डेश्वर (टिना मां), केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद बस्याल, क्षेत्रीय कोषाध्यक्ष तथा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवाली, नेपाली धर्म समाजका राम बहादुर थापा, समाजसेवी सतिस कुमार गुप्ता, प्रोफेसर मिनाक्षी श्रीवास्तवको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रयागराज निवासी नेपालीहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा प्रस्तुत नेपाली संस्कृतिले सहभागीहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।