- हेम बिजी
तिम्रो अनुहारमा
एक चिम्टी पनि नैतिकता देखिएको छैन
सारा अनुहार
भरिएको छ चरित्रहीन अनैतिकताले
तिमी संग
ईज्जत
ईमान्दारीता
र ईमान
एक चिम्टी पनि बाँचेको छैन
त्यसैले
जनता संग
कसरी माग्छौँ मत ।
युगौं युग
देश डुबाएर तिमी मात्र
किनारमा उत्रियौं
राष्ट्र जलाएर आगो ताप्यौं
तिमी
आफ्नो स्वार्थी आसा र आकांक्षा
भरिपूर्ण पार्न
देश डुबायौं
राष्ट्र जलायौं
त्यसैले
जनता संग
कसरी माग्छौं मत ।
तिम्रो
सिङ्गो राजनैतिक जीवन
राष्ट्रघातका खतै खतले ढाकेको छ
संघियता
एमसीसी
एसपीपी
र राष्ट्रघाती नागरिकता
अनेकौं अनगन्ती
राष्ट्रघातका आला खतहरु बोकेर
जनता संग
कसरी माग्छौं मत ।
तिम्रो
जिन्दगीको धेरै भाग
सिंहदरबार भित्रै बित्यो
अर्थात
सत्तामै बस्यौं
सत्तामै खायौं
र सत्तामै निदाएर रङ्गिन सपना देख्यौं
तर
एक रात पनि
देखेनौ पिडीत जनता सपना
त्यसैले
जनता संग
कसरी माग्छौं मत ।
सधैं सधैं
लगाउन सक्दैनौ जनताको आँखामा
कालो पट्टी
भुलाउन सक्दैनौ
चुनावी गुलिया भाषणले
पिरो मन
सधैं सधैं
लुकाउन सक्दैनौ
भ्रम र भ्रष्टाचार
त्यसैले
जनता जागेको जमनामा
जनता संग
कसरी गर भन्छौं मतदान
कसरी माग्छौं मत ।।