नयाँ दिल्ली । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो अपडेट अनुसार मृतकको संख्या कम्तीमा तीन सय पाँच (305) जना पुगेको बीबीसीले जनाएको छ।
ओडिशाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय अधिकारीहरुले बताएका छन्। भारतमा यो शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना मानिएको छ।
घटना शुक्रबार साँझ भएको थियो। घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिशाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन्।
उक्त दूर्घटनामा १२ जना नेपाली एवं नेपाली भाषीहरु परेको जानकारी हुन आएको छ । हामीले तेज बहादुर श्रेष्ठ (जो घटनामा परेका थिए) लाई फोन सम्पर्क गरि गरि अवस्थाको जानकारी लिएका थियौं । वहाँले दिनुभएको जानकारी अनुसार उनकी श्रीमती किस्मिता श्रेष्ठ वर्ष ३३, दूर्घटनामा चोट लागेको र हाल वहाँको विशोखापटनम्मा उपचार भइरहेको छ । श्रेष्ठको अनुसार आफूहरु सहित दुई छोरीहरु पनि सोही रेलमा यात्रा गरेका थिए तर, रेलवेले जारि गरेको विबरणमा उनीहरुको नाम उल्लेख छैन ।
त्यस्तै घटनामा निमीया अधिकारी, एस दास अधिकारी, ए. अधिकारी, जे. अधिकारी, चिनमायाँ साहु, सन्तोष जेना, तेन्जिङ सि काजी, तेन्जिङसिरिङ वाई काजी पनि परेको उल्लेख छ । हामीले वहाँहरुलाई फोन सम्पर्क मार्फ जानकारी लिंदा वहाँहरु स-कुशल आ-आफ्नो गन्तव्य स्थानमा पुगिसक्नुभएको छ ।
उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । साथै समाजले घाइतेहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना प्रकट गरेको छ । घटनामा नेपालीहरु परे वा नपरेको बारेमा जानकारी लिनका लागि समाजको पूर्वी भारत क्षेत्रीय समितिका सचिव गिरीराज परियार र सदस्य कौशिला परियार घटनास्थलमा पुग्नु भएको थियो । त्यस्तै दक्षिण भारत क्षेत्रीय समितिका सदस्य काँशिराम शर्मा चेन्नई सेन्ट्रल रेलवे स्टेशन पुगि अहिलेसम्म कुनै घटना स्थलमा अफरातफ्रि रहेको हुँदा रेलवे स्टेशन हेल्प डेक्समा कुनै जानकारी प्राप्त नभएको बताउनु भयो ।