उद्घाटनका दिन सजिएर विराटनगर भन्सार आएको कार्गो रेल फेरि फर्किएन

विनोद भण्डारी

विराटनगर — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जेठ १८ गते दुई मुलुकका प्रधानमन्त्रीले संयूक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहदेखि विराटनगर भन्सार यार्डसम्म कार्गो रेल सजिएर आयो । उद्घाटको दिन फलामजन्य उद्योगको कच्चा पदार्थ समेत बोकेर विराटनगर भन्सार यार्ड आएको कार्गो रेल १९ गते भारत गएपछि पुनः फर्केर आएन ।

रेल विभाग वा उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत रहेको इन्टरमोडल कम्पनीको व्यवस्थापन जिम्मेवारी कसले लिने भन्ने विषय टुङ्गो नलाग्दा यो कार्गो रेल सेवाले निरन्तरता पाउन नसकेको हो । कार्गो रेल सेवाले निरन्तरता नपाउँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीलाई ढुवानी लागत महँगो पर्न थालेको छ ।

यस क्षेत्रका उद्योगीले औद्योगिक कच्चा पदार्थ भारतको कोलकत्ताबाट ट्रक वा कन्टेनरबाट ढुवानी गर्दा प्रति किलो भारु ३ रुपैयाँ भाडा तिर्दै आएका छन् । कार्गो रेलबाट कच्चा पदार्थ आयात गर्दा प्रतिकिलो भारु एक रुपैयाँ ९५ पैसा ढुवानी खर्च लाग्ने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाइ छ । उनका अनुसार कार्गो रेल सेवा सुरु भएपछि यस क्षेत्रका उद्योगी व्यावसायी उत्साहित भएका थिए । तर निरन्तता नपाउँदा दुःखी भएका छन् ।

रेलको व्यवस्थापन हेर्ने छुट्टाछुट्टै निकाय भएको र कसले व्यवस्थापन गर्ने भन्ने टुंगो नलागेका कारण भारतबाट कच्चा पदार्थ बोकेर विराटनगर आउने कार्गो रेल आउन समस्या भएको नेपाल रेल्वे कम्पनीका निर्देशक निरन्जनकुमार झाले बताए । ‘भारतको रेल्वे कम्पनीले रेल्वेको ट्रयाक र गोदाम नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ’ झाले भने ‘तर त्यसको सम्पूर्ण व्यवस्थापन पक्ष रेल्वे कम्पनीले गर्ने वा इन्टर मोडल कम्पनीले गर्ने विषयमा सरकारले टुङगो नलगाउँदा कार्गो रेल सेवाले निरन्तरता पाउन नसकेको हो ।’

झाका अनुसार संचालन तथा व्यवस्थापनको जिम्मेवारी नतोक्दा र त्यस सम्बन्धी विधि नबनेका कारण समस्या सिर्जना भएको हो । व्यवस्थापनको जिम्मेवारी तोकेर विधि निर्माण गरेपछि कार्गो रेल सेवाले निरन्तरता पाउने उनको भनाइ छ । उनका अनुसार त्यसका लागि झण्डै एक महिना लाग्न सक्छ । हाल सञ्चालन गरिएको बथनाह विराटनगर भन्सार यार्ड सम्मको साढे सात किलोमिटर रेलमार्गको लिग परीक्षण भने चार वर्षअघि नै गरिएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०८० १६:५०

कान्तीपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार