खिमराज चालिसे,
भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हरियाणा पुलिसद्वारा बेबारिसे अवस्थामा भेट्याएको गुल्मी धुर्कोट गाउँपालिकाका भूवन घर्तीको शवको सनाखत गरी दाहसंस्कार गरेको छ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ सौरपानी औलडाडा निवासी तेजबहादुर घर्तीका ४५ वर्षीय छोरा भूवनबहादुर घर्ती (जिसी) को शव जुन २३ शुक्रबारका दिन पोस्टमार्टमपछि मूल प्रवाह भिवानी नगर समितिका कार्यकर्ता तथा प्रवासी नेपाली सङ्घ छरछिमेकीसमेतको सहभागितामा अन्तिम संस्कार गरिएको हो ।
जुन २२, २०२३ बिहीबारका दिन बेबारिसे अवस्थामा हरियाणाको भिवानीस्थित तोशाम खानकमा मृत भेटिएका भूवनबहादुर जिसीको शवको सनाखत स्थानीय प्रहरीसँग घटनास्थलमा पुगी मूल प्रवाहको भिवानी नगर सदस्य भूवन भण्डारीले गर्नुभएको थियो ।
घटनाबारे थाहा पाएपछि नगर सदस्य भण्डारी, मृतकका छिमेकीहरू नारायण भण्डारी, शिव भण्डारी र पोमा भण्डारीसहितको टिम घटनास्थल पुगी शवको निरिक्षण गर्ने र सनाखत गरी शवदाहगृहमा मृतकको शव राख्ने काम गरेको थियो ।
शोकसभा गरियो
अन्तिम संस्कारपछि भूवन भण्डारीको सञ्चालनमा शोकसभा सम्पन्न गरिएको थियो ।
मृतकको स्मरणमा एक मिनट मौनधारणपछि उक्त कार्यक्रमा मूल प्रवाह भिवानीका नगर अध्यक्ष मोहन विक र प्रवासी नेपाली सङ्घका रामप्रसाद भट्टराई, मृतकका छिमेकी नारायण भण्डारीले शोकमन्तव्य दिनुभएको थियो ।