नयाँदिल्ली । वेदप्रकाश रावलले आफू नेकपा (मसाल) समर्थित मूल प्रवाह अखिल भारत नेपाली समाजमै रहेको भन्दै फुटपरस्त तत्त्वलाई भ्रम नफैलाउन आग्रह गर्नुभएको छ ।
भारत गुजरातको नाडियाडमा रहनुभएका रावलले सेप्टेम्बर १०, २०२३ आइतबारका दिन लिखित स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
रावलले आफू लामो समयदेखि नेपालमा अखिल नेपाल युवक सङ्घ र भारतमा तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय समिति, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पश्चिम भारत क्षेत्रीय समिति हुँदै यतिखेर नाडियाड नगर समितिमा क्रियाशील रहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नुभएको छ : “अहिले केही समययता हाम्रो पार्टी र सङ्गठनको अनुशासनमा बस्न नसकेर निष्काशित भएका व्यक्तिहरूले कथित मोटो मशाल र अखिल भारत नेपाली एकता समाजका व्यक्तिहरूले वेदप्रकाश रावल मोटो मशाल वा अखिल भारत नेपाली एकता समाजमा आबद्ध रहेको विभिन्न ठाउँमा भ्रम फैलाउँदै मेरो आजसम्मको सङ्गठनात्मक इतिहास नै समाप्त पार्ने कुचेष्टा गरेकाले मैले यस वक्तव्यमार्फत् कथित अखिल भारत नेपाली एकता समाजको अराजकतावादी, अनुशासनविहीन गतिविधिको तीव्र खण्डन गर्दै म नेकपा (मसाल) समर्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै आबद्ध रहेको र आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्दै आएको स्पष्ट गर्दछु ।
फुटपरस्त तत्त्वलाई यस खालको कार्य नगर्न चेतावनी दिँदै रावलले भ्रम र अलमलमा परी कथित एकता समाजमा लाग्नुभएका साथीहरूलाई नेकपा (मसाल) समर्थित मूल प्रवाहमा फर्किन आग्रहसमेत गर्नुभएको छ ।