मेरो शोकसभा

हेम बिजी ##


पटक पटक मरेको छु
मलाई
पटक पटक
मेरो मृत्युका शोकसभाहरू
अझै याद
अझै सम्झना छ ।

पहिलोपटक
मेरो मृत्यु भयो
दस वर्षकै वाल्यकाल उमेरमै
यो अल्पायु
मेरो मृत्युको शोकमा
मेरो शोकसभा गरियो
मलाई
अझै याद छ
मेरो शोकसभाको दिन
एक पुस दुई हजार सत्र ।

दोस्रोपटक
फेरि मेरो मृत्यु भयो
पुनार्जीवित भएर पनि
युवा हुन नपाउँदै
तेह्र वर्षकै उमेरमा
योपटक
तीन वर्ष बढी बाँचेछु
मलाई
दोस्रो मेरो मृत्यु
दोस्रो शोकसभा दिन
अझै याद छ
अठार असोज दुई हजार उन्साठ्ठी ।

पटक पटक
मेरो मृत्यु र शोकसभा भयो
मलाई
मेरै जन्मदाताहरूले बचाउन सकेनन्
बरु
शोकसभा गरिरहे
मलाई बचाउन लागेनन्
जन्मदाताहरूप्रति
मेरो ठुलो खेद छ
तर
फेरि पनि म
पुनर्जीवित भएको छु
सत्र वर्षको युवक भइसकेको छु
अब
फेरि मेरो मृत्यु नहोस्
फेरि मेरो शोकसभा नहोस्
यसरी
आफ्नो आत्मकथा
लेख्दै थियो प्रजातन्त्रले ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार