काठमाडौं, 1 नोभेम्बर । नेपालकी बालिका स्तुति बस्नेत ‘टप मोडल बेल्जियम किड्स प्रतियोगिता’को सेमिफाइनल चरणमा पुगेकी छन् ।
टप मोडल बेल्जियम किड्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा २ देखि १७ वर्ष उमेरका ६ सय २६ बालबालिकाले भाग लिएका छन् । उनीहरूले विभिन्न ७ विधामा प्रतिस्पर्धा गर्नेछन् । बेबी गर्ल्स, किड्स गर्ल्स, जुनियर गर्ल्स, टिम गर्ल्स, बेबी ब्वाइज, जुयिनर ब्वाइज र टिन ब्वाइज विधा रहेको छ ।
बेल्जियममा बालबालिका लागि सर्वाधिक लोकप्रिय कार्यक्रमको रुपमा रहेको बेल्जियम किड्सको यो २१ औं अडिसन हो ।नेपाली मूलकी ५ वर्षीया स्तुतिले किड्स गर्ल्समा भाग लिएकी हुन् । त्यसमा १ सय ११ प्रतिस्पर्धी छन् । उनी सेमिफाइनल चरणमा पुगेकी छन् । उक्त चरण नोभेम्बर ५ मा एन्ट्रोपमा हुनेछ ।
स्तुतिको जन्म बेल्जियममै भए पनि उनी नेपाली भाषा प्रस्टसँग बोल्छिन् । नेपाली गीत–संगीत र पहिरनमा सजिन रमाउने उनी बेल्जियमको टिनिन निवासी बुद्ध र सुनीता बस्नेतकी कान्छी छोरी हुन् । उनका पिता बुद्ध बस्नेतले स्तुतिलाई भोटिङ गरी नेपाली कला संस्कृतिको विश्वव्यापी प्रचार गर्न र नाबालिका छोरीको हौसला प्रदान गर्न अनुरोध गरेका छन् ।