विष्णु शर्मा (पाण्डेचरी)
रम र झम तिहार आयो
गाउँ र सहर।
प्रदेशीएका दिदी र भाइलाई
रुवाउन धरर॥
तिहार यहाँ भन्दछन् सबले
भाइ बैनीको चाड हो।
गाँस र बास कपासले गर्दा
महत्त्व टाढा भो॥
बच्चामै गयौं सिमाना काटी
हे मेरा दाजुभाइ।
तिहारको बेला अधुरो सधैं
बनाउछौ मलाइ॥
झालमै काक्रो जोगाइ राख्छु
तिमीलाई भनेर।
सजाइ घर बस्दछु सधै
दिनहरु गनेर॥
रोप्दछु सधै सयपत्री फुल
आउने छौ भनेर।
आउदैनौ तिमी रुवाउछ फुलले
ढकमक्क फुलेर॥
संगी र साथी भैलीनी गाउदै
रमाइलो गर्दछन्।
यी आखाबाट बलिद्रधारा
आँसु नै झर्दछन्॥
बाल्दछन् सबले झिलीमिली बत्ती
घर आगन पधेरो।
तर पनि यो मन सधै भइरहन्छ अधेरो॥
सबैको घरमा पाकेका हुन्छन्
खानाका ब्यन्जन।
चुलामा गई आगो सल्काउन नी
मान्दैन यो मन॥
साथीहरु रमाउने गर्छन्
पिङहरु खेलेर।
मुटु फुट्ला जस्तो हुन्छ
यो सबै देखेर॥
बाध्यताले प्रबाशी बन्यौ
गार्हो भो फर्कन।
बर्षौ बिते छोडेनन् कहिल्यै
मनहरु धर्कन॥
असैय पीडा मलाई मात्र होइन
बढी छ तिम्लाइ झन्।
चाडको बेला एकलै हुदा
रुदोहो कति मन?
पाउदैनौ होला मनको कुण्ठा
बिसाउने ठाउँ पनि।
मनभित्रै पिलीइ पिर
बन्यो कि घाउपनि॥
बढी भो बाबु प्रदेशी जीवन
फर्केर आउन।
बर्षौ देखिको पर्खाइलाइ अब
पुणर्बिराम लगाउन॥
। समाप्त।