सरकारले प्रवासीहरूलाई उपार्जनको श्रोतबनाउँदै आएकोछ

प्रेम पौडेल, महासचिव,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

  • मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापनाको उद्देस्य बारे बिस्तृतरुपमा बताइदिनुहोस न ?

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज) को स्थापना ७ नोभेम्बर १९७९ मा भारतको प्रसिद्ध शहर वाराणसीमा भएको थियो । त्यतिबेला मुलुकमा निरंकुश पञ्चायती ब्यवस्था थियो । एकातिर निरंकुश पञ्चायती ब्यवस्थाले नेपाली जनताका मौलिक अधिकारहरूको हनन् गरेको थियो भने अर्कोतिर नेपाली जनता गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारका सम्पूणर् अवसरहरूबाट बञ्चित थिए । त्यतिबेला नेपालीहरू रोजगारिको लागि मुख्य गरेर भारत पस्नुपर्ने वाध्यता थियो । भारतमा आउने नेपालीहरू भारतीय शासकवर्ग, उद्योगी ब्यावसायी, ब्यापारीहरूबाट चर्को श्रमशोषण र दमनमा परेका थिए । नेपालीहरूमा शिक्षाको अभाव, न्यून चेतना तथा असंगठित अवस्थाका कारणले अनेकौं ज्यादती दुःख, कष्ट, असामाजिक तत्वहरूबाट लुटपाट, अपहरण, अमानबीय ब्यबहार, हत्या, हिंसासम्मका घटनाहरूको सामना गर्न वाध्य थिए । मानव तस्करहरूद्धारा नेपाली चेलीवेटीहरू बेचविखनमा परि नारकीय जीवन विताउन वाध्य थिए । नेपालीहरूको हक, अधिकार र सुरक्षाको लागि आवाज उठाउने नेपालीहरूको भरपर्दो संगठनको आवश्यकता थियो ।

विदेशमा पनि पञ्चायती व्यवस्थाका भरौटेहरूले नेपालीहरूलाई कुलतमा फसाउने, सं गठित र सचेत हुन नदिनको लागि अनेक प्रपञ्चका साथै धाकधम्की दिने र उनीहरूले कमाएको सम्पत्तीको ठूलो हिस्सा व्याजको नाममा हडप्ने गर्दथ्ये । नेपालीहरूमा भएको कुलत, विकृती र विसंगतीले गर्दा जुवा-तास खेल्ने, जाँड-रक्सी सेवन गर्ने तथा स-साना विषयहरूमा आपसमा झैझगडा र मारपिट गर्ने गर्दथ्ये । यो अवस्थामा नेपालीहरूलाई एकसुत्रमा बाँधि दरिलो संगठन निर्माण गर्ने कार्य चुनौतीपूणर् थियो । देशको अवस्था एवं विदेशमा रहेका नेपालीहरूको अवस्था बारे नेपालका वामपन्थी व्यक्तित्वहरूको प्रभावमा भएका केही व्यक्तिहरूबाट नेपालीहरूलाई सचेत गर्ने र उनीहरूलाई संगठित गर्ने स-साना प्रयास भारतका केही शहरहरूमा शुरुवात भएका थिए । ति स्थानहरूबाट सहभागि भई भारतभरि छरिएर बसेका  सबै नेपालीलाई समेटने गरि ७ नोभेम्बर १९७९ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गठन भएको हो । गठनको समयमा अखिल भारत नेपाली एकता समाजको रुपमा गठन भएता पनि संघर्षको क्रममा २००२ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रुपमा कार्यरत रहँदै आएको सर्वविदितै छ ।

संगठनको स्थापना कालदेखि नै भारतमा नेपालीहरूको हकअधिकार र विदेशीनु पर्ने वाध्यताको बारेमा छलफल गर्दा देशको आर्थिक, सामाजिक र राजनीतिक कारणले नै विदेशीनु पर्ने वाध्यता एवं १९५० को सन्धीले गर्दा भारतमा आउन पाउने भएकोले नेपालीहरूको अवस्था देशको राजनीतिकसँग जोडिएको पाउँछौं । जबसम्म नेपालमा आमुल परिवर्तन हुँदैन, भारतसँगको असमान संधी सम्झौताहरू खारेज हुँदैनन् हामीलाई विदेशीनु पर्ने वाध्यता रहन्छ र हामी सामाजिक भेदभाव तथा शोषण दमनको शिकार हुनुपर्ने वाध्यता रहिरन्छ । त्यसैले हाम्रो संगठन सामाजिक संगठन हुँदाहुँदै पनि भारतमा  रहेका नेपालीहरू नेपालको राजनीतिकबाट नै पिडित भएको हुँदा स्वदेशको राजनीतिक गतिविधिसँग प्रत्यक्ष रुपले प्रभावित हुने भएकोले नेपालमा चल्ने न्यायपूणर् एवं जनवादी आन्दोलनलाई समर्थन र सहयोग गर्ने नीति अंगालेको हो ।

  • भारतमा नेपालीहरूका के कस्ता समस्याहरू छन् र तपाईको संगठनले के कस्ता भूमिका निर्वाह गर्दै आएकोछ ?

भारतमा नेपालीहरूका अनेकौं समस्याहरू बिधमान छन्् । हालांकि मूल प्रवाहको स्थापना, भारतब्यापी तिब्र संगठन निर्माण र सशक्त संघर्षको परिणाम पहिलेका तुलनामा केही हदसम्म कम भएका छन् । त्यसका बाबजुद बदलिंदो सामाजिक, आर्थिक र राजनैतिक परिबेशमा समस्याहरू पनि नयाँ-नयाँ रुपमा आउनु स्वभाभिकै हो । अहिले भारतमा नेपालीहरूलाई सरकारी जागीर दिने काम एकप्रकारले बन्दनै भएकोछ । पूँजिको साम्राज्यवादी रुपले विश्वभरि नै वैश्वीकरण तथा आर्थिक उदारीकरणको नीतिले गर्दा प्राईभेट कंपनीमा समेत ‘उपयोग गर र फाल’को नीति अनुसार श्रमिकहरूको श्रमशोषण हुने गरेको छ । स्थायी जागीर नदिने, ठेकेदारी प्रथामार्फत अत्यन्तै न्यून तलब दिने, श्रमिकहरूले पाउने सुबिधाहरू जस्तैः पीएफ, ईएसआई, साप्ताहिक/बार्षिक विदा, बोनस, दुर्घटना बिमा आदि कटौती भएका छन् । सारमा भन्नुपर्दा श्रमिकहरूको अवस्था दिनोदिन दयनीय र असुरक्षित बन्दै गैरहेको छ, त्यसमा नेपालीहरू पनि पिसिएका छन् । नेपालीहरूलाई विदेशी भनी सामाजिक दूव्र्यवहार गर्ने, पूर्वाग्रह राख्ने जस्ता थप समस्याहरू पनि छन् । जसले गर्दा लगभग नेपालीहरू कोठी/बंगला एवं होटलको काममा सिमित हुन पुगेका छन् ।

नेपालीहरूका समक्ष पहिचानको पनि ठूलो समस्या बन्दै गइरहेको छ । आफ्नो पहिचान प्रमाणित गर्नको लागि भारतीय दस्तावेजको आवश्यकता पर्दछ । केही समय यता आधारकार्डलाई वहुउदेश्यीय दस्तावेजको रुपमा लागु गरिएको हुँदा भारतमा रहने नेपालीहरूलाई ठूलो समस्याको सामना गर्नु परिरहेको छ । सामान्य जीवनोपयोगी वस्तुहरूलाई पनि आधारकार्ड विना कठिनाई भएको छ । रसोइ ग्याँस, फोन/ मोबाइल सिम, घरभाडा, ड्राइभिङ लाइसेन्स, बच्चाहरूलाई स्कूल भर्ना, बच्चाको जन्म दर्ता लगायतका काममा पनि आधार कार्ड खोजिन्छ । बैंक खाता खोल्न तथा सञ्चालन राख्न आधारकार्ड र पेनकार्ड अनिवार्य छ । पेनकार्ड बनाउन पनि आधारकार्ड आवश्यक हुन्छ । बैंक खाता विना जागिरमा बेतन पाउन समेत समस्या भएकोले रोजगारमा समेत प्रभाव परेको छ । विगतमा सरकारी वा गैरसरकारी क्षेत्रमा काम गरेर रिटायर्ड भएकाहरूले प्राप्तगर्ने पेन्सन, पीएफ आदि प्राप्त गर्न पनि निकै असहज स्थिति पैदा भएको छ । जसले गर्दा उनीहरूले पाउनु पर्ने ठूलो रकम सरकारी च्यानलमा फँसेको छ । दूर्घटना भएर पिडित भएकाहरूलाई अदालतद्धारा उपलब्ध गराइने क्षतिपुर्ती/सहयोग रकम पनि बैंक खाताको अभावमा प्राप्त गर्न कठिनाई भएको छ । आधारकार्ड विना सरकारी अस्पतालमा ओपिडी पर्चा बन्न समेत कठिनाई भएको हुँदा निजी तथा महंगो अस्पतालमा उपचार गर्न नेपालीहरू बाध्य छन् । यहाँसम्मकी कतिपय स्थानमा मृत्यू उपरान्त दाहसंस्कारमा समेत आधारकार्ड खोजेको घटनाहरूसम्म सामना गर्नु परेको छ । उपर्युक्त विषयलाई लिएर नेपाली दूतावासमा पटक-पटक समस्याहरू उठान गर्दै आएका छौं, तर दूतावासबाट खासै पहल भएको पाइंदैन ।

त्यसको साथै विभिन्न समयमा हुनेगरेका हत्या हिंसामा संगठनले न्याय दिलाउनका लागि अधिकतम प्रयत्न गरेको छ । जसमा उदाहरणको रुपमाः दिल्लीको सुमित्रा हत्याकांड, नोएडाको हेमराज-आरूषी हत्याकांड, गुजारातको तन्दूरी हत्याकांड, रोहतकको निर्भया काण्ड, हिमांचलको कोटखाईको काण्ड, पञ्जाबको पटियाला काण्ड, चण्डीगढको चम्पा गन्धर्व काण्ड, हिसारको बलात्कार पछिको हत्याकांड आदिलाई लिन सकिन्छ । त्यसका साथै विभिन्न समयमा यात्राको दौरानमा हुने घटना-दुर्घटना, कारखाना आदिमा हुने दुर्घटनाहरूमा पनि न्याय तथा क्षतिपूर्ति दिलाउनका लागि मूल प्रवाह नेपाली एकता समाजले महत्वपूणर् भूमिका खेल्दै आएको छ ।

  • प्रवासी नेपालीहरूलाई नेपाल सरकारले रेमिट्यांन्सको साधन बनाए जस्तो लाग्दैन ? 

विभिन्न आन्दोलनहरूमा नेपाली जनताले दिएको वलिदानीपूणर् संघर्षको बलमा गणतन्त्र स्थापना भएकोछ । तर, नेपाली जनताको जीबनस्तरमा कुनै मौलिक परिवर्तन आएको छैन । अहिले पनि रोजगारको लागि विदेशीनु पर्ने वाध्यता कायम छ । भारत लगायत तेश्रो मुलुकबाट ठूलो मात्रामा नेपालीहरूले कमाएको रकम रेमिटेन्सको रुपमा स्वदेश पठाउने गर्दछन् र त्यसले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा प्रवासी नेपालीहरूले पठाएको रेमिटेन्स मै टिकेको छ । देशको अर्थतन्त्रमा ठूलो हिस्साको रुपमा टेवा पुर्‍याउने प्रवासी नेपालीहरूलाई सरकारबाट उपेक्षा गरिंदै आएको छ ।

रेमिटेन्सबाट पठाइएको पैसा सदुपयोग भएको छैन । दैनिक उपभोग तथा अनावश्यक  एवं अनोत्पादीत क्षेत्रमा खर्च भएको छ । त्यसको साथै शिक्षा, स्वास्थ्य लाभको लागि ठूलो धनराशी देशबाट बाहिरिएको छ । सरकारले सहि योजना बनाएको खण्डमा त्यो रकमलाई उत्पादन मुलक क्षेत्रमा लगानी गरे देश मै रोजगारको व्यवस्था श्रृजना गर्न सकिने थियो । साथै स्वदेश भित्रै गुणस्तरिय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध भए विदेश पलायन हुने दक्ष युवा शक्ति एवं धनराशीको विदेश पलायन रोक्न र विकास निर्माणका कार्यमा लगानी गर्न सकिने थियो । तर, अहिलेसम्मका सरकारले त्यसतर्फ कुनै पहल गरेका छैनन् । उल्टै विभिन्न देशहरूसँग श्रम सम्झौताहरूलाई विस्तार गरि रोजगारको नाममा आफ्ना नजिकका व्यक्तिहरूलाई कमिशन खाने माध्यम बनाइरहेका छन् । सटीकमा भन्नुपर्दा नेपाल सरकारले प्रवासी नेपालीहरूलाई आफ्नो सत्ता स्वार्थ पुरागर्ने श्रोत बनाउँदै आएकोछ ।

  • मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रवासी नेपालीहरूको मताधिकारको लागि लामो समयदेखि संघर्ष गर्दै आएकोछ । बर्तमानमा मूल प्रवाहले त्यसबारे के कस्ता नीति अबलम्बन गरेकोछ ?

मताधिकार नागरिकको लोकतान्त्रिक अधिकार  हो, जसबाट विश्वभरी प्रवासीहरूको संख्या कुल नेपालको जनससंख्याको एकतिहाई भन्दा बढिछ । यती ठूलो जनसंख्या आफ्नो मताधिकारबाट हमेसा बन्चित रहँदै आएको छ । आप्mना नागरिकको मताधिकारको सुनिश्चितता गर्नु सरकारको दायित्व हो । बढो बिचित्र र दुःखको बिषय हो, नेपाल सरकारलाई प्रवासी नेपालीहरूले पठाएको नोट चल्ने तर, भोट नचल्ने कस्तो विडम्बना ? मुलुकलाई आर्थिक, नैतिक एवं भौतिक रुपमा योगदान पुयाउँदै आएका प्रवासी नेपालीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्ने ब्यबस्था सुनिश्चित गर्न सरकार किन उदासिन छ ? त्यस बारे प्रवासी नेपालहरूलाई  गंभीर बनाउँदै आन्दोलनमा सरिक बनाउने अभियानमा हामी लागेका छौं ।

जब मजदूरहरू सचेत बनेर आफ्ना अधिकार प्राप्तिका लागि संघर्षको बिगुल फुक्छन्, त्यतीबेला कैयौं सत्ताहरू ढलेका इतिहासहरू छन् । अहिले बिश्वभरी रहेका प्रवासी नेपालीहरू नेपाल सरकारका गलत नीतिका कारण एक वा अर्को प्रकारले प्रवासिन बाध्यभएको तितोसत्य सबैले बुझेकै विषय हो । अर्काको देशमा मजदूरी गर्न विवश त्यो पीडाले एक दिन अवश्य नै ठूलो आन्दोलनको उठान गर्नेछ ।

हाम्रो संगठनले विश्वभरी छरिएर रहेका प्रवासी नेपालीहरूलाई मताधिकारको सुनिश्चितताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएकोछ । कैयौं पटक भारतको दिल्लीस्थित नेपाली दूतावास तथा नेपाल सरकारका प्रधानमन्त्री लगायत सरोकारवालाहरू समक्ष ज्ञापन-पत्र दिने तथा बिशाल जनप्रदर्शनहरू गर्दै आएको छ ।

  • देशको तरल राजनैतिक अबस्थाले भारत प्रवासमा रहने नेपालीहरूलाई के कस्तो प्रभाव पार्दछ ?

नेपाल अहिलेपनि अर्धसामन्ती र अर्धऔपनिबेसिक अबस्थामा छ । नेपालको बिकास, ब्यापार-ब्यवसाय, उद्योग, कृषि आदि सम्पूणर् अर्थतन्त्र नै चर्मराउँदै गएको छ । नेपालका राजनैतिक दलहरूलाई कुन बेला कसलाई प्रयोग गर्दा आफ्नो स्वार्थ पुरागर्न सकिन्छ त्यही अनुरुप साम्राज्यबादी शक्तिहरूले प्रयोग गरिहेका छन् । त्यसमा पनि मुख्यगरेर भारतीय साम्राज्यबादले हमेसा नेपालको आन्तरिक मामिलामा आफ्नो हस्तक्षेप बढाउने गरेको छ । अहिले कतिपय राजनैतिक दलहरूका अदूरदर्शिता तथा दलिय स्वार्थका कारण नेपाली जनताले वलिदानीपूणर् संघर्षद्धारा स्थापित गणतन्त्र, धर्मनिरपेक्षता एवं संविधान खतरामा छ । त्यतिमात्र होइन, साम्राज्यबादी शक्तिका अगाडि आत्मसमर्पण वा घुडाटेकुवा प्रबृतिका राजनैतिक दलहरूले गर्दा देशको राष्ट्रियता तथा सार्वभौमसत्ता समेत खतरामा छ । त्यसको लागि तरल राजनैतिक अबस्था नै जिम्मेवार छ ।

अहिलेसम्म सत्तामा पुगेका दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको हुँदा जनताले आर्यघाटमा पुर्‍याएको प्रतिगामी शक्तिले टाउको उठाइरहेको छ । साथै कतिपय अराजक एवं साम्राज्यवादी शक्तिहरूको इसारामा चल्नेहरूले पनि जनाधार बढाउने अवसर पाएका छन् । अहिलेको तरल राजनीतिक अवस्थालाई समय मै निकास दिन नसके देशमा उद्योग धन्दा, कलकारखानाको विकास सम्भव छैन । जबसम्म उद्योग धन्दा, कलकारखानाको विकास हुँदैन तबसम्म देश मै रोजगारको व्यवस्था पनि हुँदैन । देश मै रोजगारको व्यवस्था नहुँदा प्रवासीएका युवाहरूलाई भौतारिनु पर्ने वाध्यता रहिरन्छ ।

  • कतिपय ब्यक्तिहरूले मूल प्रवाहमा आफूहरूलाई अन्याय भयो भन्ने आरोप लगाउने गरेका थिए, के साँच्चाई नै उनीहरूमाथि अन्याय भएकै हो त ? 

उनीहरूले लगाउने यसप्रकारको आरोपमा कुनै सत्यता छैन । जसले अहिले मूल प्रवाहलाई त्यसप्रकारको आरोप लगाइरहेका छन्, मूल प्रवाहको भारतस्थित नेपालीहरूका बीचमा तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको ऐतिहासिक भूमिकाको गौरबमय इतिहासलाई नै समाप्त गर्नका लागि लामो समयदेखी संगठन भित्र गुटगत पहल गरिरहेका थिए । आर्थिक अपचलन, संगठनले निश्चित गरेका संगठनात्मक र संघर्षका कार्यक्रमहरू असफल पार्न प्रयत्न गर्ने, संगठनका नीति, पद्धति र अनुशासन उल्लंघन गर्ने लगायतका कार्य गरेर भारतस्थित नेपालीहरूका बीचममा लामो र गौरबशाली इतिहास बोकेको मूल प्रवाह एकता समाजालाई अपहरण गरेर आफ्नो कब्जामा पार्न षड्यन्त्र गरेका थिए । उनीहरूको त्यो गतिविधिलाई नियन्त्रण गर्न कतिपय व्यक्तिहरूलाई सांगठानिक कारवाही समेत गर्न परेको सत्य हो । हामीले उनीहरू माथि अन्याय गरेको भन्ने प्रश्न नै उठ्दैन । कुनै पनि संघ संस्था, संगठन सञ्चालन गर्न उसको विधान र संगठनात्मक पद्धती अनिवार्य हुन्छ । उनीहरूले विधान र संगठनात्मक पद्धतीलाई जानाजान उल्लंघन गरेको हुँदा पटक-पटक सुध्रिनको लागि हामीले मौका दिएका एिका थियौं । त्यो हामीहरूको उदारता थियो । हामीले उनीहरूलाई पुनः सच्चिने मौका दिई आठौं अखिल भारत सम्मेलनमा समेत सहभागिताको लागि आमन्त्रण गरेका थियौं । तर, उनीहरूमा सामाजिक एकताको भावना तथा प्रवासी नेपालीहरूको हकअधिकारको आन्दोलन भन्दा महत्वाकांक्षा र पदलोलुपताले ग्रसित मानसिकताले गर्दा सम्मेलनमा सहभागि भएनन् र फूटपरस्त गतिविधिलाई निरन्तर जारि राखे ।

त्यसैलाई वैधानिकता दिनका लागि उनीहरूले १० सितम्बर २०२३ मा फरीदावादमा केही व्यक्तिहरूले कथित अखिल भारत सम्मेलन सम्मेलन गरे । तर, त्यो सम्मेलन असफल भएको थियो । उनीहरुले केही समय सम्मेलन भव्य रुपमा सम्पन्न भएको हौवा फैलाउँदै हिंडेता पनि त्यसको सारपक्ष सम्मेलन असफल नै भएको थियो । अहिले उनीहरु घर न घाटका भइसकेका छन् ।

  • संगठनका आगामी कार्यक्रम के कस्ता छन् ?

हामी  लगातार कार्यक्रममा ब्यस्त छौं, भारतस्थित नेपालीहरूको हकहित र अधिकारको प्राप्ति एवं नेपालीमा देशभक्ति भावना तथा जनवादी आन्दोलनको जनमत तयार गर्ने काममा निरन्तर लागिरहेका छौं । भर्खरै हामीले क्षेत्रीय सम्मेलन अभियान सम्पन्न गरिसकेका छौं । सम्मेलन प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं, भन्ने मूल नाराका साथ १० क्षेत्रीय सम्मेलनहरू ऐतिहासिक रुपमा सम्पन्न भए ।

अहिले भारतब्यापी सदस्यता र नबीनिकरण अभियान ब्यापक रुपमा  सञ्चालन भैरहेको छ । जुन २१ देखि सेप्टेम्बर १५ सम्म पहिलो चरण र नोभेम्बर डिसेम्बरमा दोश्रो चरण गरि नगर सम्मेलन अभियान सम्पन्न पार्ने कार्यक्रममा जुटेका छौं । त्यसका लागि टोल, एरियाका सम्मेलन तथा भेलाहरू एवं नगर समितिका बैठक, प्रशिक्षण आदि कार्यक्रम सञ्चालन भइरहेका छन् । संभावित स्थानहरूमा संगठनको विस्तार भइरहेको छ ।  कैयौं नगरहरुमा विस्तारित बैठकहरु धमाधम चलिरहेको छ ।

हामीले यसपालीको नगर सम्मेलन अभियान पनि नेपालीहरूका हकहित र सुरक्षाको विषय नै प्राथमिकता रहने छ । नगर सम्मेलन अभियान पनि आन्दोलन कै रुपमा हामीहरूले लिएका छौं । भारतभरी रहनुभएका नेपाली दाजुभाई दिदी बहिनी कही कतै कोही नछुटनेगरी सबैलाई भेटने र संगठित गर्ने कार्यक्रम बनाएकाछौं । सम्मेलनका मिति तथा कार्यक्रमहरू सार्वजनिक भैकसकेका छन् ।  नगर सम्मेलन अभियान सफल पार्न क्षेत्र तथा नगरमा कलाकारहरुको रिहल्सल चलिरहेको छ । कलाकारहरु पनि उत्साहित रुपमा अगाडि बद्दै नेपालको जनवादी आन्दोलनलाई टेवा पुराउने उदेश्यले प्रगतिशिल गित तथा नृत्य एवं नाटकहरु मञ्चन गरिरहेका सम्मेलनलाई सफल पार्न जुटिरहेका छन् । भारतका विभिन्न स्थानहरुमा नेपालबाट पनि वक्ताहरु आउने कार्यक्रम छ ।

  • अन्तमा भन्नुपर्ने केही छ की ? 

नेपालीहरूमा भावनात्मक विकास भएमा मात्र समाजको विकास हुन सक्छ, भावनात्मक विकासको लागि वर्गीय चेतनाको साथै नेपालीहरूमा रहेका विकृती विसंगतीको विरुद्धमा प्रगतिशिल जनवादी साँस्कृतीले पनि महत्वपूणर् भूमिका खेलेको हुन्छ । साथै विभिन्न प्रकारका प्रगतिशिल प्रकाशनको पनि त्यत्तीकै महत्व हुन्छ । अहिले नेपाली समाजमा अध्ययनप्रतिको रुचीमा स्खलन आएको छ । त्यसलाई हटाउनका लागि पनि हामीले जोड दिनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार