एउटा गीत गाउछु मैले तीजको भाकामा
चाड आउदा बस्नु छैन माइती काखमा।
आमा तिमी हुदाखेरी छिटो आइज भन्थेउ नी
तीज कहिले आउला भनी दिन गन्थेउ नी।।
मलाई ख्वाउन भनेर सबै कुरा जोड्थेउ नी
आइन भने आफुले नै खान छोड्थेउ नी।
मेरो झल्को मेटाउथेउ संगीसाथी बोलाइ
बाबु नानी संझेर बस्थेउ टोलाइ।।
मीठो चोखो खानेकुरा मेरो लागि साच्थेउ नी
मेरी छोरी आइ भनी रमाइ नाच्थेउ नी।
गाउथे गीत आगनीमा आफै गीत लेखेर
हर्षले रुन्थेयौ आमा मलाई देखेर।।
तिम्ले दिएको हौसलाले मेरा पाइला चलेका
अझै पनि मेरी आमा छैनन् गलेका।
म बिमार पर्दाखेरी तिम्रो मुटु दुख्थ्यो नी
पिर लिइ रोएर घाँटी सुक्थ्यो नी।।
संसार आफ्नै लाग्थ्यो आमा जब तिमी थियौ
किन मलाई यति धेरै माया दिएयौ नी।
लाग्छ मलाई अहिले पनि मेरै पिर लिन्छेउ कि
कसैसँग आफ्नो खबर पठाइ दिन्छ्यौ कि।।
नपुग्दो केही छैन आमा तिम्री छोरीलाई
तिम्रो मात्र कमि भयो जीवन भरिलाइ।
गुणकारी ज्वाइँ हुनुहुन्छ ज्ञानी नानी बाबु छन्
छिन छिनमा तिम्रै खोजी गरिराख्छ मन।।
हुनुहुन्छ बाबा अनि बैनि र दाजुभाइ
फेरि पनि यी आखाले खोज्छ तिमीलाई ।
आमा नै चाइने रहेछ सुखमा खुशी हुनलाई
दुख पर्दाखेरीमा झम्टी रुनलाइ।।
जन्म ठाउँ प्यारो लाग्ने रहेछ आमा हुनाले
उज्यालो नी हुने रहेन्छ घाम जुनले।
भरपुर चाड मानौ सबै साथमा हुदा नै
पछि त ठिक्क हुने रहेछ रुदा नै।।
प्रकृतीको नियम यो रोकीदैन रोके नी
गएका फर्किएनन् टाउको ठोके नी।
मनमा भएका बेेदना यो गीतमा पोखे है
यत्तिकैमा आजलाइ कलम रोके है।।
।समाप्त।