
सरकारी कार्यालयबाटै भ्रष्टाचार सम्बन्धीका फाईलहरु गायव हुँदै गए पछि ‘भ्रष्टाचार प्रमाण समिति’ हैरान भयो । भ्रष्टाचार सम्बन्धीका कागजात फेला पार्न नसके पछि भ्रष्टाचार प्रमाण समितिले भ्रष्टाचार पत्ता लगाउने मेशिन बनाई दिन वैज्ञानिकलाई अनुरोध गर्यो ।
लामो अनुसन्धान पछि वैज्ञानिकले एउटा यस्तो समय स्वचालित यान्त्रिक ऐना आविष्कार गरे कि ऐनामा हेरे पछि भ्रष्टाचारी मान्छेको अनुहार कालो देखिने वैज्ञानिकले बताएका थिए । साथै उक्त ऐना यसरी आविष्कार गरिएको थियो कि दिन र समय निश्चित गरिएको थियो र अन्य दिन ऐनाले काम नगर्ने वैज्ञानिकको दावी थियो ।
भ्रष्टाचार प्रमाण समितिले भ्रष्टाचारी पत्ता लगाउने ऐना सार्वजनिक गर्दा साथ देश भरिका जनता खुसी भए । वार्ड अध्यक्षदेखि संसद, मन्त्री र सरकारी पदमा रहेका सबैले ऐनामा अनुहार देखाउनु पर्ने र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्नु पर्ने जनताको चर्को माग उठे पछि भ्रष्टाचार प्रमाण समितिले वैज्ञानिकले तोकेको दिन र समयमा सरकारी कार्यालय भित्र ऐना राख्ने निर्णय गर्यो र संसद, मन्त्री सहित उच्च सरकारी पदमा रहेका सबैले ऐना गर्ने व्यवस्था मिलायो ।
वैज्ञानिकले निश्चित गरेको दिन र समयमा भ्रष्टाचारीको अनुहार हेर्न सरकारी कार्यालय अगाडी लाखौं जनताको भीड लागेको थियो भने भ्रष्टाचार प्रमाण समिति पनि भ्रष्टाचारी व्यक्ति प्रमाणित हुनेमा विश्वस्त थियो तर संसद, मन्त्री र उच्च सरकारी पदमा रहेका व्यक्तिहरुमा भने धेरै दिन अघिदेखि खलबल मच्चिएको समाचार आईरहेका थिए ।
जब भ्रष्टाचारी प्रमाणित बनाउने ऐनामा अनुहार देखाउन पाँच मिनेट मात्र समय बाँकी थियो तब नेपाल सरकारको बिषेश जरुरी सुचना भन्दै रेडियो नेपालले समाचार फुक्यो– ‘आज बिहानै बसेको मन्त्री परिषदको आकस्मिक बैठकले यो निर्णय गरेको छ कि (भ्रष्टाचारी पत्ता लगाउने ऐना आविष्कार गरेकोमा वैज्ञानिकको सम्मानमा आज एक दिन सरकारी बिदा । आज देशभरका कुनै पनि सरकारी कार्यालय खुल्ने छैनन् र कुनै पनि कामकाज हुने छैनन् ।’
वैज्ञानिक सम्मानको नाममा सरकारको यो छलकपट निर्णय सुने पछि सरकारी कार्यालय अगाडि जम्मा भएको जनताको भीड आक्रोश बन्यो । ‘भ्रष्टाचारी अनुहार ऐनामा जोड ! होइन भने सत्ता छोड !!’ भन्ने नारा लगाउँदै लाखौं जनताको भीड तत्काल भ्रष्टाचार विरुद्धको आन्दोलनमा परिणत भयो । भ्रष्टाचारी पत्ता लगाउने ऐना त्यसै दिन काम नलाग्ने निकम्मा भयो ।














