मसालद्वारा प्रतिगामी, क्षेत्रीयतावादी र जातिवादी दिशाबाट गरिने संविधान संशोधनको विरोध

काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगामी, क्षेत्रीयतावादी, जातिवादी र जनविरोधी दिशाबाट गरिने संविधान संशोधनको विरोध गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असोज ९ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा सार्वजनिक गरेको हो ।

मसालले संविधान संशोधन गर्नुपर्ने विषय सङ्घीयताको खारेजी भएको बताएको छ । यस सन्दर्भमा पार्टीले राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित सङ्घीयता विरोधी आन्दोलन घोषणा गरेकोमा त्यसलाई सफल बनाउन आम जनतासित अपिल गरेको छ ।

प्रेसवक्तव्यमा सहकारी रकम अपचलनका दोषीमाथि कारबाही, चुनाव प्रणालीमा सुधार, सन्तुलित विकासनीति, भ्रष्टाचार, सीमा अतिक्रमण, चाडबाडको सन्दर्भमा कालोबजारी, सत्यनिरुपणसम्बन्धी विधेयक, बौद्ध पुरातात्त्विक सहरबारे पार्टीको धारणा उल्लेख छ ।

एवम् प्रकारले वक्तव्यमा रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन युद्धले तेस्रो विश्वयुद्धको रूप लिन सक्ने खतराप्रति सचेत गराइएको छ भने साथै आइसिओआरको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनबारे छिटै जानकारी दिइने बताइएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“नेपाल कम्युनिस्ट पार्टी (मसाल) को केन्द्रीय समितिको हालै बसेको बैठकले देशको तात्कालिक र अन्तर्राष्ट्रिय स्थितिसमेतमा विस्तृत रूपले छलफल गरेर कैयौँ निष्कर्षमा पुग्नुका साथै आन्तरिक सङ्गठनात्मक प्रश्नबारे पनि कैयौँ निर्णय गरेको छ । ती सबै विषयमा जानकारी दिनाका लागि यो वक्तव्य जारी गरिएको छ ।

१. तत्काल पार्टीको सबैभन्दा बढी ध्यान संविधानमा संशोधनको प्रश्नप्रति गएको छ । संविधानमा संशोधनको आवश्यकता भएको कुरालाई हाम्रो पार्टीले पनि स्वीकार गर्दछ । खास गरेर संविधानमा सङ्घीयताको जुन व्यवस्थापन गरिएको छ, त्यो गलत छ र त्यसलाई खारेज गर्नुपर्ने आवश्यकता छ । सङ्घीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो । प्रशासकीय रूपमा प्रदेशको संरचना आवश्यक भएको कुरालाई हामीले स्वीकार गर्दछौँ तर त्यसको सङ्घीय संरचना पूरै खारेज हुनुपर्दछ भन्ने कुरामा हाम्रो पार्टीले जोड दिँदै आएको छ । त्यसमा खर्च भइरहेको अनावश्यक आर्थिक भारलाई समाप्त गरेर देशमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सकिन्छ । त्यसका साथै सङ्घीयताका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पनि गम्भीर खतरा उत्पन्न भएको छ । सङ्घीयता नेपाली जनताको माग र आन्दोलनका कारणले आएको होइन र त्यो साम्राज्यवादी शक्तिहरूको षड्यन्त्र र नेपालका राजनीतिक शक्तिमाथि उनीहरूको दबाबका कारणले नै आएको हो । त्यसैले हाम्रो पार्टीले सुरुदेखि नै त्यसको अन्त्यका लागि आवाज उठाउँदै आएको छ र अहिले पनि संविधानमा संशोधन गरेर त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

२. संविधानमा संशोधन गरेर जनआन्दोलनका उपलब्धिलाई समाप्त गर्नका लागि कैयौँ पक्षले गरिरहेको प्रयत्नप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षताको लगातार योजनाबद्ध र सङ्गठित प्रकारले विरोध गरेर राजतन्त्रको पुनर्स्थापना गर्न चाहन्छन् । नेकाको एउटा ठुलो पक्षले पनि गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै आएको छ । समानुपातिक चुनावप्रति पनि त्यसको विरोध रहँदै आएको छ । एमाले नेतृत्वको पनि सुरुदेखि नै गणतन्त्रप्रति विरोध रहँदै आएको छ । त्यस सन्दर्भमा गणतन्त्रको विरोधमा बयलगाडा चढेर अमेरिका पुग्न सकिन्न भन्ने ओलीको तर्क आम रूपमा थाहा भएको कुरा हो र त्यसले दुईदुईपटक संसद् विघटन गरेर आफ्नो प्रतिगामी कार्यदिशाको प्रदर्शन पनि गरिसकेको छ । देशका कतिपय क्षेत्रीयतावादी वा जातिवादी शक्तिले पनि आफ्ना क्षेत्रीयतावादी वा जातिवादी उद्देश्य पूरा गर्नका लागि संविधानमा संशोधन गर्न चाहन्छन् । हाम्रो पार्टीले संविधानमा त्यस प्रकारका सबै प्रतिगामी, क्षेत्रीयतावादी, जातिवादी वा जनविरोधी दिशामा संविधानको संशोधनका लागि गरिने सबै प्रयत्नको कडा शब्दमा विरोध गर्दछ ।

३. राष्ट्रिय जनमोर्चाले चैत २४ गतेको जनआन्दोलन दिवसको दिनदेखि चैत ३० गतेसम्म सङ्घीयताको खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । हाम्रो पार्टीले राष्ट्रिय जनमोर्चाको सङ्घीयता विरुद्ध सङ्घर्षको त्यो कार्यक्रमलाई दृढतापूर्वक समर्थन गर्दछ र त्यसलाई सफल पार्न पूरा समर्थन र सहयोग गर्न देशका सम्पूर्ण जनतासित अपिल गर्दछ तर त्यो आन्दोलन सजिलो छैन । त्यसका लागि हामीले अहिलेदेखि नै तलदेखि तयारी गर्दै जानुपर्दछ । अहिलेको हाम्रो मुख्य नारा हो : सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलन सफल पारौँ ।

४. सङ्घीयताको विरुद्धको आन्दोलन अवश्य पनि सजिलो छैन । नेपालमा सङ्घीयता कायम भएको विभिन्न साम्राज्यवादी शक्तिहरूको दबाबको कारणले हो । त्यसका पछाडि उनीहरूका साम्राज्यवादी स्वार्थले काम गरेको कुरा प्रष्ट छ । त्यसकारण आफ्नो साम्राज्यवादी स्वार्थहरू पूरा गर्नको लागि उनीहरूले पूरै शक्ति लगाएर सङ्घीयतालाई कायम राख्न प्रयत्न गर्ने छन् । नेपालका साम्राज्यवादपरस्त राजनीतिक पार्टी सङ्घसंस्था वा तŒवले पनि त्यसका लागि पूरा प्रयत्न गर्ने छन् । त्यसकारण ती सबैको प्रभावको कारणले सङ्घीयताप्रति जनतामा पनि धेरै भ्रम पैदा भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यो अवस्थामा साम्राज्यवाद पक्षधर सबै शक्तिका विरुद्ध सङ्घर्ष र सङ्घीयताका विरुद्धमा व्यापक जनचेतना उठाएर नै सङ्घीयताको विरुद्धको आन्दोलनलाई सफल पार्न सकिन्छ । त्यसका लागि देशव्यापी रूपमा र तलैदेखि सङ्घीयता विरुद्धको आन्दोलनमा व्यापक जनमत उठाउन वा जनआधार तयार पार्ने प्रयत्न गर्नुपर्दछ ।

५. यो कुराप्रति पनि हाम्रो पार्टीको ध्यान छ कि राजावादीहरूले पनि सङ्घीयताको खारेजमा जोड दिँदै आएका छन् तर उनीहरूको सङ्घीयता खारेजी पछाडिको उद्देश्य राजाको निरङ्कुश शासन कायम गर्ने र एकात्मक प्रणालीलाई सामन्ती, नोकरशाही र प्रतिक्रियावादी रूपमा कायम गर्नु हो । त्यस प्रकारको एकात्मक प्रणालीको हाम्रो पार्टीले विरोध गर्दछ र विद्यमान सङ्घीय प्रणालीको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वयत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका साथै हामीले स्थानीय स्वायत्त शासनलाई अरू अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकतामा पनि जोड दिन्छौँ ।

६. सहकारीको रकम हिनामिना अहिले देशको गम्भीर राष्ट्रिय समस्या बनेको छ । देशमा सहकारीका अरबौँ रुपैयाँ अपचलन वा ठगी भएको छ । त्यसका लागि सर्वप्रथम देशका विभिन्न राजनीतिक शक्ति नै जवाफदेही छन् । क. चित्रबहादुर केसी उपप्रधानमन्त्री र सहकारीमन्त्री भएका बेलामा सहकारीको सिद्धान्तअनुसार नै सहकारी विधेयक तयार पारेर संसद्मा प्रस्तुत गरिएको थियो । त्यो बेला सत्तामा भएका विभिन्न राजनीतिक शक्तिले उहाँमाथि त्यस प्रकारको विधेयक प्रस्तुत नगर्नका लागि दबाब दिएका थिए । उहाँ त्यस प्रकारको दबाबमा नआएपछि अन्य विभिन्न पार्टीका सांसदले उहाँले प्रस्तुत गरेको सहकारी विधेयकका विरुद्ध ६५० भन्दा बढी संशोधन हालेर उहाँले प्रस्तुत गरेको सहकारी विधेयकमा कैयौँ गलत प्रावधान पारित गराएका थिए । त्यसले गर्दा नै सहकारीमा ठुलो पैमानामा अपचलन वा ठगीका लागि ढोका खोलिदिएको थियो । त्यसको परिणामस्वरूप नै सहकारी क्षेत्रमा लाखौँ जनताले जम्मा गरेको अरबौँ रुपैयाँको ठगी हुँदै आएको छ र त्यो कारणले लाखौँ जनता पीडित हुनुपरेको छ । हाम्रो पार्टीले सहकारी रकमको हिनामिना गर्ने सबै व्यक्तिमाथि कडा र निष्पक्ष छानबिन गरेर कडा कारबाही गर्नुको साथै लाखौँ जनताबाट ठगिएको रकम फिर्ता गर्न प्रभावशाली कदम उठाउन सरकारसित माग गर्दछ । त्यसका साथै संसद्द्वारा पारित सहकारीसम्बन्धी ऐनमा भएका सबै गलत प्रावधानलाई खारेज गरी त्यसलाई सहकारीको सिद्धान्तअनुसार नयाँ प्रकारले पुनः निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

७. देशमा विभिन्न रूपमा बढिरहेको भ्रष्टाचारप्रति हाम्रो पार्टीको गम्भिर ध्यान आकर्षण भएको छ । सुनतस्करी, भुटानी शरणार्थी, गिरीबन्धु टिस्टेट आदि जस्ता काण्डबाट देशमा ठुलो पैमानामा भ्रष्टाचारले जरा हालेको मात्र हैन, तिनीहरूमा उच्च राजनीतिक वृत्तसमेत संलग्न भएको तथा त्यसरी उनीहरूद्वारा भ्रष्टाचारको संरक्षण भएको कुरा पनि प्रष्ट हुँदै गएको छ । एकातिर, जनताबाट उठ्ने राजस्व र विदेशबाट आउने विभिन्न प्रकारको सहयोगमा पनि राजनीतिक वृत्त र प्रशासनबाट समेत हुने ठुलो पैमानाको भ्रष्टाचारका कारणले देशको विकास अवरुद्ध हुने गरेको छ । त्यसकारण भ्रष्टाचार विरुद्धको सङ्घर्ष राष्ट्रिय आवश्यकता भएको छ ।

८. हाम्रो पार्टीले सधैँ देशमा सन्तुलित विकासनीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । त्यस प्रकारको सन्तुलित विकासको नीतिलाई पूरै उपेक्षा गर्ने गरिएको छ । त्यसकारण हाम्रो पार्टीले दूरवर्ती, पिछडिएका र ग्रामीण क्षेत्रसमेतको विकासलाई प्राथमिकता दिएर सन्तुलित विकासनीति अपनाउनुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।

९. अहिलेको चुनावको प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने र त्यसअनुसार संविधान र चुनाव ऐनमा समेत परिवर्तन हुनुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले विशेष जोड दिन्छ । अहिले चुनाव प्रणाली यति धेरै भ्रष्ट भएर गएको छ कि चुनावमा राजनीतिक रूपले इमानदार व्यक्तिभन्दा बढी पैसा खर्च गर्ने उम्मेदरवार नै निर्वाचित हुने गर्दछन् । त्यसैको परिणाम हो कि सरकारको पूरै स्वरूप जनविरोधी र भ्रष्ट हुँदै गएको छ र चुनावमा जसले खर्च धेरै गर्न सक्दछ, त्यसैको जित हुने निर्वाचन त्यो भ्रष्ट प्रणालाीमा सुधार नहुँदासम्म देशमा जनताप्रति उत्तरदायी र जनपक्षीय सरकार गठन हुनु तथा देशको दिगो विकास हुने सम्भावना देखिँदैन । त्यसैले चुनावको वर्तमान भ्रष्ट प्रणालीमा सुधार वा परिवर्तन राष्ट्रिय आवश्यकता भएको छ ।

१०. नेपालमा सशस्त्र द्वन्द्वको कालमा माओवादी र सरकार पक्ष दुबैद्वारा जनता ठुलो पैमानामा पीडित हुनुपरेको थियो । दुबै पक्षद्वारा मानव अधिकारको उल्लङ्घन, अपराधसम्बन्धी कैयौँ कार्य वा महिलामाथि बलात्कार र हत्यासमेत हुने गरेका थिए । उनीहरूका बिचमा शान्ति सम्झौता भएपछि उनीहरू दुबै पक्षले एकार्कामाथि गरेका हिंसात्मक कार्यबारे कुनै कारबाहीको आवश्यकता हुँदैन तर उनीहरू दुबै पक्षद्वारा बन्दी बनाइएका व्यक्तिमाथिका अमानवीय र हिंसात्मक कारवाही तथा उनीहरूद्वारा निःशस्त्र जनतामाथि गरिएका अमानवीय र हिंसात्मक कारबाहीबारे सम्बन्धित व्यक्तिलाई उनीहरूको अपराधअनुसार दण्डजरिवाना हुनुपर्छ भन्ने हाम्रो सुरुदेखि नै जोड रहँदै आएको छ । अहिले सरकारद्वारा प्रस्तुत, संसद्को बहुमतद्वारा स्वीकृत तथा राष्ट्रपतिद्वारा अनुमोदित कानुनद्वारा त्यस प्रकारका अपराधलाई माफी दिने वा कम गर्ने जुन व्यवस्था गरिएको छ, त्यसको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।

११. भारतीय साम्राज्यवादले ठुलो पैमानामा भारतीयलाई नेपालमा पठाएर उनीहरूलाई नेपालको नागरिक बनाएर नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्ने योजनाअन्तर्गत लामो समयदेखि काम गर्दै आएको छ । भारतको दबाबमा परेर नेपालका शासक वर्गले नेपालको नागरिकतासम्बन्धी ऐनलाई पनि झन्पछि झन् उदार बनाउँदै लगिरहेका छन् । त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर खतरा बढ्दै गइरहेको छ । यसकारण यस प्रकारको नागरिक अतिक्रमण विरुद्ध हाम्रो पार्टीले लगातार आवाज उठाउँदै आएको छ र अहिले पनि त्यो विषयप्रति हाम्रो पार्टीले गम्भीर रूपले आफ्नो विरोध प्रकट गर्दछ ।

१२. देशमा महङ्गी र कालोबजारी पनि धेरै नै बढेर गएको छ । खास गरेर चाडवाडको बेलामा बढिरहेको महङ्गी र कालोबजारीको कारणले जनता धेरै नै पीडित हुनुपरेको छ । त्यसकारण त्यस प्रकारको महङ्गी र कालोबजारीमाथि नियन्त्रण गर्नको लागि कडा कदम उठाउन हामीले सरकारसित माग गर्दछौँ ।

१३. हाम्रो पार्टीले कपिलवस्तु, रुपन्देही र नवलपरासीका प्राचीन बौद्ध सभ्यतासित सम्बन्धित, पुरातात्विक वा ऐतिहासिक स्थानलाई सामेल गरेर बृहत्तर बौद्ध पुरातात्विक सहर निर्माण गर्नुपर्ने आवश्यकतामा लामो समयदेखि जोड दिँदै आएको छ । हामीले संसद्भित्र त्यसका लागि आवाज उठाउनुको साथै जनस्तरमा पनि त्यसबारे जोड दिँदै आएका छौँ । त्यस प्रकारको सहर अन्तर्राष्ट्रिय महत्त्वको नै पर्यटकीय सहर बन्ने छ ।

१४. लुम्बिनी वा बौद्ध क्षेत्रको विकासको लागि नेपाल सरकारका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै योजना बनेका छन् र त्यसका लागि ठुलो धनराशि पनि छुट्याउने गरिएको छ तर त्यस प्रकारका धेरैजसो योजना कागजमा मात्र सीमित रहने गरेका छन् । त्यसका लागि छुट्याएको धनराशिको पनि सही प्रकारले उपयोग हुने गरेको पाइँदैन । त्यस प्रकारको पृष्ठभूमिमा बृहत्तर बौद्ध पुरातात्विक सहर निर्माणको लागि हामीले आम जनताको ध्यान आकर्षण गर्नुका साथै सरकारद्वारा पनि त्यसबारे सकारात्मक दृष्टिकोण अपनाउँदै ठोस भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यस प्रकारको बौद्ध पुरातात्विक सहर निर्माण भएमा त्यसद्वारा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धेरै नै वृद्धि हुनुका साथै त्यसबाट नेपालको गौरवमा पनि धेरै नै वृद्धि हुने छ ।

१५. अहिले विश्वव्यापी रूपमा युद्धको स्थिति देखा परेको छ । खास गरेर रुस–युक्रेन तथा प्यालेस्टाइन र इजरायलको युद्धको कारणले विश्वयुद्ध हुने खतरा बढ्दै गइरहेको छ । ती दुबै युद्धमा आणविक शक्तिसम्पन्न ठुला राष्ट्र पनि संलग्न हुँदै गएको हुनाले आणविक युद्धसमेत हुने खतरा बढ्दै गइरहेको छ । त्यो अवस्थामा युद्धका विरुद्ध र विश्व शान्तिका पक्षमा अन्तर्राष्ट्रिय स्तरमा व्यापक जनमत र आन्दोलन उठाउनुपर्ने आवश्यकता छ ।

१६. युक्रेनमा जुन युद्ध चलिरहेको छ, त्यसका लागि अमेरिकी साम्राज्यवादको नेतृत्वको नाटो र रुसी साम्राज्यवाद नै जिम्मेवार छन् । अमेरिकी साम्राज्यवादले पूर्व समाजवादी सोभियत सङ्घका विरुद्ध मोर्चाबन्दीको रूपमा नै नाटोको गठन गरेको थियो र सोभियत सङ्घको विघटनपछि पूर्व सोभियत सङ्घमा भएका कैयौँ देशहरू नाटोमा सामेल हुँदै गएका थिए । त्यही क्रममा अमेरिकाले युक्रेनलाई पनि त्यसमा सामेल गर्न खोजेको थियो । त्यही प्रकारको स्थितिमा नै रुस र युक्रेनका बिचमा युद्ध भएको हो । त्यसैले त्यो युद्ध वास्तवमा युक्रेन र रुसका बिचमा नभएर रुस र नाटोको बिचको युद्ध हो । अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिका बिचको प्रतिस्पर्धाका कारणले युक्रेनका जनता पीडित हुनुपरेको छ ।

१७. प्यालेस्टाइनको युद्धलाई पनि हाम्रो पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ । ७५ वर्षपहिले प्यालेस्टाइनका जनतालाई आफ्नो मातृभूमिबाट जबरजस्ती निष्काशन गरेर अमेरिकी साम्राज्यवादको संरक्षणमा इजरायल राष्ट्रको निर्माण गरिएदेखि नै प्यालेस्टाइनका जनताले आफ्नो मुक्तिको लागि सङ्घर्ष गरिरहेका छन् । हामीले ७ अक्टोबरको हमासको कारबाहीलाई गलत मान्दछौँ र विरोध गर्दछौँ । हामीले संसारमा जहाँ पनि कुनै पक्षद्वारा निःशस्त्र जनतामाथि गरिने कारबाहीलाई आतङ्कवादी र गलत मान्दछौँ तैपनि समग्र रूपमा प्यालेस्टाइनी जनताको आफ्नो हक र मुक्तिको लागि गरेको आन्दोलन न्यायपूर्ण हो र त्यसको लागि भइरहेको सङ्घर्षलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौँ । इजारायलद्वारा प्यालेस्टाइनी जनतामाथि भइरहेको बर्बर नरसंहारको पनि हाम्रो पार्टीले कडा शब्दमा भर्त्सना गर्दछ । त्यही सन्दर्भमा लेबनानमाथि नयाँ प्रकारको विद्युतीय तरङ्गद्वारा आक्रमण गर्ने जुन नीति अपनाइएको छ, त्यसको पनि हामीले तीव्र शब्दमा भर्त्सना गर्दछौँ । इजारायलद्वारा भइरहेको त्यस प्रकारका नरसंहार अमेरिकासहित साम्राज्यवादी देशको समर्थनमा नै सम्भव भइरहेको छ । त्यसैले हामीले त्यसका लागि सबै साम्राज्यवादी देशको तीव्र शब्दमा भर्त्सना गर्दछौँ ।

१८. आइसिओआरको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्यससम्बन्धी विस्तृत जानकारी पछि प्रेषित गरिने छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार