दिनेश रैदास,
दाङ । आगामी चैत २४ देखि एक हप्तासम्म आयोजित राजधानीकेन्द्रित सङ्घीयता विरुद्धको आन्दोलन सफल बनाउन दाङको लमहीका सबै वडामा सङ्गठनात्मक अयिभान सञ्चालन गर्न भेला सम्पन्न भयो।
राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८१ मङ्सिर १ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले मुलुकलाई दीर्घकालीन अप्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको बताउनुभयो ।
‘सङ्घीयता देशको समृद्धिको आधार नभई आर्थिक हिसाबले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको छ’ उहाँको विश्लेषण थियो ।
भेलामा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, राजमो जिल्ला सचिव वसन्तराज पौडेल र अखिल नेपाल शिक्षक सङ्घका दाङ जिल्ला अध्यक्ष रुमालप्रसाद बसेलको आतिथ्य रहेको थियो ।
अखिल (छैंठौ) जिल्ला उपाध्यक्ष तथा लमही नगर अध्यक्ष निर्मला खनाल, अखिल नेपाल महिला सङ्घकी बसन्ता पोख्रेल र युवक सङ्घका जिल्ला उपाध्यक्ष लेखराज आचार्यको पनि उपस्थिति रहेको थियो ।
राजमो लमही नगर समितिका अध्यक्ष हरि थापाको अध्यक्षतामा अघि बढेको उक्त भेला “सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलन–२०८१ सफल पारौँ” नाराका साथ सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम वासुदेव भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।
भेलाको सञ्चालन राजमो नगर समितिका सचिव बुद्धबहादुर जिसीले गर्नुभएको थियो ।