“पूर्णबहादुरको सारङ्गी” : जे हो, त्यो हैन; जे हैन, त्यो हो

प्रेम गायक ##

मैले फिल्म नहेरेको करिब २५ वर्ष पुग्यो होला । थुप्रै साथीहरूले आआफ्ना फेसबुक वालमा “पूर्णबहादुरको सारङ्गी” को बारेमा धारणा राख्नुभयो । मेरा अधिकांश साथीभाइले मलाई फोन गरेर, म्यासेज गरेर र कतिपय साथीहरूले घरमै आएर एकपटक फिल्म हेरेर आफ्नो धारणा राख्न अनुरोध गर्नुभयो । त्यसैले आज २५ वर्षपछि हलमा गएर उक्त फिल्म हेरेँ ।

अब लागौँ, फिल्मका राम्रानराम्रा पक्षको बारेमा ।

सर्वप्रथमत म आफै ११ वर्षको उमेर हुँदादेखि २० वर्षको उमेरसम्म घाँटीमा जनै भिरे जस्तै खाँदा पनि सारङ्गी साथी, बस्दा, हिँड्दा र सुत्दा पनि त्यही सारङ्गी साथी बनाएर हुर्केको मान्छे परेँ । त्यसैले पनि होला, मसित सारङ्गीको बारेमा केही अनुभव छ भन्ने ठान्दछु ।

फिल्ममा जुन सारङ्गीको चित्रण गरिएको छ, त्यसमा मैले सहमति जनाउन सकिनँ ।

पहिलो कुरा यत्रो फिल्म बनाउने टिमले अभिनय गर्ने कलाकारलाई सारङ्गी बजाएको अभिनय कसरी गर्ने ? सारङ्गी कसरी भिर्ने ? त्यतिसम्म तालिम गराउनुपर्थ्यो । न बजाएको अभिनय गर्नेबारे थाहा छ, न सारङ्गी भिर्न नै थाहा छ । एकातिरको काँधमा घुँडासम्म आउने गरी सारङ्गी भिरेको अहिलेसम्म थाहा छैन मलाई अनि यत्रतत्र जति बेला मन लायो, त्यति बेला सारङ्गी भिरेको छ, हिँडेको छ । न झोला छ, न झिटी छ, न घरमा आउँदा केही लिएर आएको छ । रित्तै घरबाट निस्किएको छ, रित्तै फर्किएको छ ।

त्यस्तै, बच्चाले सारङ्गी बजाउँदै हिँड्दा घुचेटेर पठाएको देखाइएको छ । खासमा मेरो भोगाइमा अपवादलाई छोडेर यस्तो गरेको मलाई थाहा छैन किनभने दलित जातमै पनि गाइने र दमाईलाई हिँड्ने बेलामा देखे “साइत” पर्छ भन्ने गरिन्छ ।

अनि हामी मागेर खाने गाइनेको के जनगणना हुन्छ र ? जति पढे पनि त्यही सारङ्गी रेट्नी त हो भन्ने जस्ता शब्दले आफैले आफ्नो भविष्य नदेख्नु, निराश हुनु, यहाँ के हुन्छ र ? के गर्न सकिन्छ र ? लौ मेटियो, लौ सक्कियो भन्ने जस्ता सन्देश दिन खोजिएको छ ।

त्यस्तै, तेरो छोरा र हाम्रो छोराले एउटै ड्रेस लाएपछि तेरो र हाम्रो के फरक भयो भनेर देखाइएको छ ।

प्रथम कुरा त यो फिल्म कुन व्यवस्था वा समयको हो ? त्यो मलाई थाहा भएन । मैले राणाशासन जानिनँ । २०२७ सालदेखि निरङ्कुश पञ्चायती शासन जानेँ तर मैले जाने र सुनेसम्म स्कुलमा दलितलाई स्कुल ड्रेस लाउन नदिएको थाहा छैन बरु पानी छुन नदिएको, सँगै बस्न नदिएको, छोइन्छ भनेर मास्टरले परैबाट लौरो फालेर झटारो हानेको थाहा छ ।

त्यस्तै, न केटाकेटीको अघिपछि भेटघाट हुन्छ, न बोलचाल हुन्छ, न चिनजान हुन्छ ।

पहिलोपटकको भेटमै केटाले गीत गाएर जिते लैजाने (बिहे गर्ने) शर्त, त्यो पनि केटीबाट ? यो पनि पत्याउने खालको छैन ।

किरिया बसेको बाउलाई छोराले दगुर्दै आएर अँगालो हाल्छ । न त्यहाँ बसेकाले छेक्छन्, न किरियापुत्रीसँग छोइएकोमा पश्चाताप नै मान्छन् ।
समग्रमा मध्यान्तरभन्दा अगाडि फिल्मले एउटा पनि राम्रो सन्देश दिन सकेको छैन । मध्यान्तरपछि फिल्मले दिन खोजेको र केही हदसम्म दिएको सन्देश भनेको पढ्नुपर्छ, पढाउनुपर्छ ।

खासमा यो फिल्मको सन्देश एउटा बाउले आफ्नो सन्तानको भविष्यका लागि भिक माग्न पनि पछि पर्दैन भन्ने नै हो । त्यो पनि डाक्टर पढ्न ३०/३५ लाख रुपैयाँ व्यवस्था गर्नु एउटा सारङ्गीको भरमा असम्भव कुरा हो ।

अनि पूर्णबहादुरकी श्रीमती कहाँ गइन् ? के भइन् ? अत्तोपत्तो छैन ।

त्यस्तै, अन्तिममा एक्कासि कमलको बुइ चढ्न एउटी सानी बच्ची आइन् । उनी को हुन् ? कमल अर्थात प्रकाश सपुतकी छोरी हुन् भने उनको बिहे कहिले कोसँग भयो ? यो पनि अत्तोपत्तो छैन ।

प्रकाश सपुतको अभिनयप्रति गुनासो गर्ने ठाउँ छैन । शतप्रतिशत अङ्क दिँदा पनि फरक पर्दैन ।

अन्तमा, कसैले पूर्णबहादुरको ठाउँमा आफूलाई राखेर फिल्म हेरे; कसैले कमल गन्धर्वको ठाउँमा आफ्ना छोराछोरीलाई राखेर हेरे; कसैले आफ्ना बाउलाई पूर्णबहादुरको ठाउँमा राखेर हेरे; कसैले आफूले आफैलाई कमलको ठाउँमा राखेर हेरे तर मैले मलाई नै आफ्नो ठाउँमा राखेर फिल्म हेरेँ । त्यसैले जे देखेँ, त्यही लेखेँ ।

निचोडमा जति हल्ला गरिएको थियो, जति प्रचार प्रसार गरिएको थियो, त्यस्तो लागेन । अब यति मात्रै भन्न सकिन्छ, जे हो त्यो हैन, जे हैन, त्यो हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार