देशविहीन हुनुको पीडा के हुन्छ, प्यालेस्टाइनबाट सिकौँ : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशविहीन हुनुको पीडा प्यालेस्टाइनबाट सिक्नुपर्ने बताउनुभएको छ ।

प्यालेस्टाइनी जनताको पक्षमा २०८१ मङ्सिर ८ गते शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘हामी कहिल्यै राष्ट्रविहीन भएनौँ, त्यसैले देशविहीन हुनुको पीडा हामीलाई थाहा छैन’ उहाँले भन्नुभयो– ॅराष्ट्रविहीन हुनुको पीडा के हुन्छ, त्यो प्यालेस्टाइनका सिक्न सकिन्छ ।’

उहाँले गत सात दशकभन्दा बढी समयदेखि प्यालेस्टाइनी जनता राष्ट्रका लागि सङ्घर्ष गरिरहेको धारणा राख्नुभयो ।

‘महिला, बालबालिकासहित ठुलो सङ्ख्यामा प्यालेस्टाइनीहरू यतिखेर इजरायली आक्रमअणको नरसंहार झेलिरहेका छन्’ फरक प्रसङ्गमा उहाँले भन्नुभयो– ‘साम्राज्यवादको त्यो आक्रमण नेपालमा पनि हुन सक्दछ र हाम्रो अवस्था पनि भोलि प्यालेस्टाइनको जस्तो हुन सक्दछ ।’
उहाँले नेपालले कहिले इजरायलको पक्षमा मतदान गर्ने त कहिले तटस्थ बस्ने नेपाल सरकारको कूटनीतिको पनि विरोध गर्नुभयो ।

गत मङ्सिर ५ गते प्रधानमन्त्रीसँगको भेटमा यो विषय उठाएको स्मरण गर्दै अगाडि भन्नुभयो– ‘प्रधानमन्त्रीले त्यस मामिलामा गल्ती भएको र त्यो गल्ती सच्याइन थालेको दाबी गरे पनि पनि हामीलाई यस्तो लाग्दैन ।’

कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधि आनन्द शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य परि थापा, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रवेश हमाल, नेकपा (क्रान्तिकारी माओवादी) का राम कार्की, नेकपा (संयुक्त) का सरोज बिसी, जनता समाजवादी पार्टीका रणध्वज कन्दङ्वा, राष्ट्रियसभाका सांसद ओहम्मद खालिद, जनता समाजवादी पार्टी नेपालका विद्यत बज्राचार्य, वैज्ञानिक समाजवादी पार्टीका आहुति, राष्ट्रिय क्रान्तिकारी मोर्चाका लोकनारायण सुवेदी, नागरिक अगुवा सञ्जीव उप्रेती, अपूर्वाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता श्याम श्रेष्ठले र सञ्चालन पुष्कर गौतमले गर्नुभएको थियो ।

सो अवसरमा प्यालेस्टाइनलाई समर्थन गरिएको, नाटक, कविता र मनोवाद पनि प्रस्तुत गरिएको थियो ।

माइतीघर मण्डलाबाट निस्केको सयौँको जुलुस बबरमहल हुँदै पुनः सोही स्थानमा आएर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार