लामो दुखान्त यात्राको सुखद अन्त ‘कामरेड जलजला’

(क)

मेरो साहित्यिक यात्राको कथा—खास गरेर कथा र उपन्यासको क्षेत्रमा—दुखान्त प्रकारको रहेको छ । त्यो दुखान्त यात्रा ‘कामरेड जलजला’ को प्रकाशनको साथै सुखद अन्तमा टुङ्गिएको छ । ती दुबै यात्राको विवरण कुन प्रकारको रहेको छ र ती दुबै पक्ष एकार्कासित कसरी जोडिएका छन् ? यो लेखमा मैले त्यसबारे नै केही प्रकाश हाल्ने प्रयत्न गर्ने छु ।

सम्भवतः २००८ वा २००९ सालमा जुद्धोदय पब्लिक हाईस्कुलमा साहित्यसम्बन्धी विद्यार्थीका विभिन्न कार्यक्रम आयोजना हुने गर्दथे । मैले पनि तिनीहरूमा भाग लिने गर्दथेँ । त्यो बेला मैले ती कार्यक्रममा प्रस्तुत गर्ने गरेको एउटा मात्र रचना ‘मेरो टुकी’ मात्र अहिले उपलब्ध छ । त्यो रचना कतिपय पत्रपत्रिकामा प्रकाशित पनि भएको छ ।

सुरुमा २००९ सालतिर झापामा आयोजित राष्ट्रिय कथा प्रतियोगितामा मैले एउटा कथा पनि पठाएको थिएँ । त्यो कथा प्रथम भएर पुरस्कृत भएको समाचार त्यो बेलाका अखबारमा पढेको थिएँ तर पछि त्यसबारे मलाई केही पनि थाहा हुन सकेन । अहिले मसँग त्यसको कुनै प्रति सुरक्षित छैन । मैले ५/६ वर्ष पहिले झापा गएर त्यो कथाबारे पत्ता लगाउने प्रयत्न गरेको थिएँ तर करिब ७२ वर्षपहिले त्यो कथा प्रतियोगिताका आयोजक वा त्यो कथाबारे कुनै जानकारी प्राप्त हुन सकेन । सायद मेरो साहित्यिक वा कथा वा उपन्यासको दुःखद यात्राको प्रस्थानविन्दु त्यही कथा नै थियो ।

२०१२ सालमा प्युठान जेलबाट चलान गरेर का. खगुलाल गुरुङ, नेकाका हेमराज पण्डितसहित हामीलाई पाल्पा जेलमा चलान गरियो र हामीलाई त्यो जेलको ४ नं. घरमा राखियो । त्यो जेलको वातावरण अत्यन्त सङ्गीतमय थियो । हामी बस्ने घरभन्दा पल्लोपट्टि महिला बन्दीका घर थिए । पुरुषबन्दी र महिला बन्दीको घरका बिचमा एउटा अग्लो पर्खाल थियो तर दुबै घरका माथिल्ला तलाका घरको झ्यालबाट वारिपारि देख्न सकिन्थो । हामी बस्ने घरका झ्यालमा आएर पुरुष बन्दीले र पारिपट्टिका महिला बन्दीका घरका झ्यालबाट महिला बन्दीले गीत गाउने गर्दथे । त्यसरी गीत गाउने क्रम करिब करिब दिनभरि नै चल्दथ्यो । ती गीत मधुर र प्रेममय हुने गर्दथे । त्यस प्रकारको सङ्गीतमय वातावरणले पनि मलाई लेख्ने कार्यमा उत्प्रेरित गरेको हुन सक्दछ ।

पाल्पा जेलमा भएको बेलामा नै मैले केही गीत, कविता, दुईटा उपन्यास र कैयौँ कथा पनि लेखेँ । त्यो बेला लेखेका गीत र कवितामध्ये केही त मैले आफूसित सँगै ल्याएको हुनाले सुरक्षित नै रहे । ती गीत र कविता पहिले ‘इङ्कलाब जिन्दावाद’ पुस्तिकामा र पछि युगनृत्य पुस्तकमा प्रकाशित भए । त्यो बेला लेखेका कथामध्ये संयोगले दुईटा कथा मसितसँगै आएका रहेछन् । तिनीहरूमध्ये एउटा थियो– ‘त्यो’ । त्यो पहिले २०६८ सालमा जीवन शर्माद्वारा सम्पादित ‘रातो लालटिन’ मा र २०८१ सालको साउनमा प्रकाशित ‘मधुपर्क’ मा प्रकाशित भएको छ । अर्को कथा ‘बालैमा दिनमा लाएको माया’ पनि जेलबाट मसित सुरक्षित नै आएको थियो तर मेरा कागजमा त्यो कतै परेको छ वा हराएको छ ? मैले अहिलेसम्म त्यसलाई फेला पार्न सकेको छैन ।

पाल्पा जेलमा छँदा नै मैले दुईटा उपन्यास लेखेको थिएँ– ‘बुढा बा’ र ‘झिलिमिली’ । तीमध्ये पहिलो उपन्यास प्युठानमा त्यो बेला चलेको किसान आन्दोलनसित सम्बन्धित थियो भने दोस्रो एक प्रकारको रहस्य र रोमाञ्चक प्रकारको थियो ।

२०१३ सालमा सल्यानको पुनरावेदन अदालतले हामीलाई पाल्पाबाट सल्यानमा पठाउने आदेश दियो । त्यसपछि हामी तीन जनालाई प्युठानको जेलमा चलान गरियो । त्यहाँबाट का. रुमबहादुर पाण्डे, का. नन्दलाल गुरुङ र का. सिद्धिमानसिंह जिसीसमेत हामी ६ जनालाई प्युठानको जेलबाट सल्यानको जेलमा चलान गरियो र त्यहीँबाट हामी जेलमुक्त पनि भयौँ । त्यही बेला नै मरिचमानले पार्टीको सदस्यताको लागि दर्खास्त दिनुभएको थियो तर पछि उहाँसित हाम्रो सम्पर्क भएन र उहाँलाई पार्टीको सदस्यता दिने वा कुनै कमिटीमा राख्ने काम पनि भएको थिएन । प्युठानको जेलबाट सल्यान जेलमा चलान हुने बेलामा नै मैले ‘लेफ्ट राइट कदम बढाऊ’ गीत लेखेको थिएँ ।

पाल्पा जेलबाट प्युठानको जेलमा चलान हुने बेलामा मैले पाल्पा जेलमा लेखेका दुईओटा उपन्यास, कथाहरू पाल्पा तानसेनका प्युठान कुटेचौरका एक जना परिचित व्यापारीलाई राख्न दिएको थिएँ । पछि जेलबाट छुटेर आउँदा उनले ती सबै नष्ट गरिसकेका रहेछन् । सायद पार्टीका मान्छेका कागजपत्र राख्दा डर हुन्छ भन्ने सोचेर उनले त्यसो गरेका थिए होलान् ।

पाल्पा जेलमा भएको नै बेलामा हामीले भूमिगत रूपले जेलबन्दीको सङ्गठन ‘पाल्पा जेलबन्दी सङ्घ’ बनाएका थियौँ र भूमिगत रूपले नै जेलभित्र त्यसको एउटा सम्मेलन पनि भएको थियो । त्यसमा मैले एउटा रिपोर्ट पनि पेस गरेको थिएँ । संयोगले त्यो रिपोर्ट मसित सँगै आएको रहेछ । त्यो काठमाडौँबाट पुस्तिकाको रूपमा पनि प्रकाशित भएको थियो । पछि विमल शर्माद्वारा प्रकाशित ‘चार दशक’ को दोस्रो भागमा पनि पाल्पा जेलबन्दी सङ्घको त्यो रिपोर्ट प्रकाशित भएको छ । पाल्पा जेलमा नै भूमिगत रूपले अक्टोबर दिवस मनाइएको थियो । त्यसमा मैले पेस गरेको रिपोर्ट पनि पछि एउटा पुस्तिकाको रूपमा प्रकाशित भएको थियो । ‘चार दशक’ को पहिलो वा दोस्रो भागमा पनि त्यो प्रकाशित भएको छ ।

२०१८ सालमा का. शक्ति लम्साल र का. खिमानसिंह गुरुङसहित हामी तीन जना तौलिहवामा गिरफ्तार भएर त्यहाँको जेलमा पर्‍यौँ । का. लम्साल बिरामी परेको हुनाले नौ महिनापछि र का. गुरुङ अठार महिनापछि जेलबाट मुक्त हुनुभयो तर मलाई करिब ४ वर्ष त्यहीँ जेलमा राखियो । पछि मलाई भैरहवा जेलमा र १ वर्षपछि काठमाडौँ जेलमा चलान गरियो ।

तौलिहवा जेलमा भएको बेलामा मैले पूरै अवधि एउटा उपन्यास लेख्ने काममा लगाएँ । त्यो उपन्यास पूरै ओखरकोट क्षेत्रसम्म नै सीमित थियो । त्यसका मैले तीनओटा खेस्रासमेत बनाएको थिएँ । तौलिहवा जेलबाट भैरहवा जेलमा चलान हुने बेलामा मैले आफ्ना सबै पुस्तक र लेखेका रचना का. टेकबहादुर पन्थीकहाँ राख्न दिएँ । म जेलमा भएको बेलामा नै उहाँको निधन भयो । जेलबाट छुटेपछि त्यो उपन्यास, अन्य रचना वा पुस्तक खोज्न मैले तौलिहवा गएर धेरै कोसिस गरेँ तर केही पनि पत्ता लाग्न सकेन । का. पन्थीकी पत्नी अहिले भैरहवामा हुनुहुन्छ । का. बद्रे आलमलाई उहाँसित सम्पर्क गर्न पठाएँ तर उहाँबाट पनि केही पत्ता लाग्न सकेन ।

अब मलाई लाग्दछ, मैले त्यो उपन्यासका तीनओटै प्रति पन्थीजीलाई राख्न नदिएर एउटा रफ कपीसँगै राख्नुपर्दथ्यो । तौलिहवा जेलमा छँदा नै मैले लेखेको ‘विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहासको पाण्डुलिपि’ मसँगै रहेको थियो र त्यो पछि पुस्तकको रूपमा प्रकाशित पनि भयो ।

मलाई काठमाडौँ जेलचलान गरेपछि त्यहाँको सेन्ट्रल जेलमा राखिएको थियो । पछि एक वर्षजति हनुमानढोका खोरमा राखिएको थियो । त्यहाँ छँदा मैले ‘बुढा बा’ शीर्षकको एउटा उपन्यास लेखेको थिएँ । त्यो पाल्पा जेलमा लेखेको ‘बुढा बा’ उपन्यासको परिमार्जित रूप थियो । जेलबाट छुट्दा त्यो उपन्यासको पाण्डुलिपि मसित सँगै थियो र पछि त्यो कहाँ हरायो ? मलाई सम्झना छैन ।

जेलबाट छुटेर प्युठान आउँदा मैले जेलमा भएका आफ्ना सबै रचना र पुस्तक सँगै ल्याएर आएको थिएँ । मैले ती सबै सामग्री मेरो राहिलो भाइ शङ्करविक्रमको भरमा राख्न दिएको थिएँ । २०३४ सालमा पर्चा आन्दोलनको सिलसिलामा प्युठानमा पनि व्यापक धरपकड भयो । त्यो बेला पुलिसले घरमा तलासी गरेर ती सबै सामग्री फेला पारेर उसलाई पनि गिरफ्तार गर्छन् कि भन्ने डरले उसले मेरा सबै पुस्तक र कागजपत्र जङ्गलको एउटा ओडारमा लगेर लुकाएछ । त्यो बेला मलाई वारेन्ट थियो र धेरै पछि मात्र म प्युठान पुगेँ । मेरा कागजपत्र र पुस्तक ओडारमा लगेर फालिदिएको थाहा पाएपछि मैले त्यहाँ गएर हेरेँ तर बर्खाको पानी भल, माटो र किराले सबै पुस्तक वा कागजपत्र नष्ट भइसकेका थिए । तिनीहरूमा नै ‘बुढा बा’ उपन्यास पनि पर्‍यो कि ? त्यसबारे मैले निश्चित रूपले केही भन्न सक्दिनँ । उपन्यासको त्यो पाण्डुलिपि अन्यत्र पनि हराएको हुन सक्छ ।

२०४२ सालमा बनारसमा भएको बेलामा मैले ‘तारा’ शीर्षकको एउटा उपन्यास पनि लेखेको थिएँ । त्यसमा मैले रेडियो नेपालको एउटा गीतको पनि उल्लेख गरेको थिएँ– तारा मेरो नाम, बादलपारि मेरो गाउँ’ । २०४६ सालपछि काठमाडौँ आउँदासम्म मसित त्यसको पाण्डुलिपि थियो तर पछि विभिन्न समयमा डेरा सर्दा त्यो कतै हरायो वा मेरा कागजमा त्यो अझै कतै छ कि ? मैले भन्न सक्दिनँ ।

त्यो लामो कालमा मेरो मुख्य जोड उपन्यास लेख्नेतिर नै गयो र मैले कुनै खास कथा लेखिनँ भने पनि हुन्छ यद्यपि अहिले पनि मेरो मनमा दर्जनौँ कथाका प्लट घुमिरहेका छन् । अहिलेको उपन्यास ‘कामरेड जलजला’ प्रकाशित भएपछि ती कथा लेख्ने मेरो विचार छ । अहिले मैले लामा होइन, छोटा छोटा कथा नै लेख्ने विचार गरेको छु ।

केही वर्षपहिले तनहुँको चुलेगौँडामा आदिकवि भानुभक्त आचार्यको स्मृतिमा भएको एउटा साहित्य सम्मेलनमा आयोजकहरूले मलाई एउटा कथा लेखेर पठाउन भनेका थिए र मैले ‘मास्टर सतलसिंह’ भन्ने एउटा लघुकथा लेखेर पठाएको थिएँ । उहाँ हाम्रो गाउँको नै एउटा शिक्षक हुनुहुन्थ्यो । उहाँ ‘अष्टवक्र’ जस्तै हुनुहुन्थ्यो । उहाँले कुनै शारीरिक परिश्रम गर्न सक्नु हुँदैनथ्यो र सम्पूर्ण जीवन नै शिक्षण पेसामा बिताउनभएको थियो । मैले उहाँलाई आधार बनाएर नै त्यो कथा लेखेको थिएँ । म स्वयम् त त्यहाँ जान सकेको थिइनँ तर दुर्गा पौडेलले मेरो तर्फबाट त्यहाँ गएर मेरो त्यो कथा वाचन गरेकी थिइन् ।

केही वर्षपहिले मैले अङ्ग्रेजीमा पनि The Mother: I Won’t Let Him Die शीर्षकको एउटा कथा लेखेको थिएँ र त्यो काठमाडौँबाट प्रकाशित भएको एउटा अङ्ग्रेजी जर्नल The Harbinger (November 2022) मा पनि प्रकाशित भएको थियो । यी एकाध कथाबाहेक मैले गतकालमा कुनै खास कथा लेखेको छैन । त्यसरी २०१२ सालमा पाल्पा जेलमा छँदा लेख्ने गरेको कथाको कडी पूरै नै टुट्न गएको छ भने पनि हुन्छ ।

(ख)

‘कामरेड जलजला’ उपन्यास मेरो लामो दुखान्त प्रकारको साहित्यिक वा औपन्यासिक यात्राको सुखद अन्त हो । त्यो उपन्यास मैले ठिक कहिले लेख्न सुरु गरेँ ? त्यसको ठिक मिति मलाई याद छैन किनभने त्यसका प्रारम्भिक पाण्डुलिपि अहिले मसित उपलब्ध छैनन अथवा ती कतै हुन सक्दछन् तर अहिले मैले तिनीहरूलाई फेला पार्न सकेको छैन तैपनि यति कुराको मलाई सम्झना छ, मेरो छोरो विश्व जन्मनुभन्दा करिब एक वर्षपहिले नै मैले त्यो उपन्यास लेख्न सुरु गरेको थिएँ । अहिले विश्व २२ वर्षमा लागेको छ, त्यसरी त्यो लेख्न थालेको करिब २३ वर्षजति भयो भन्न सकिन्छ । अहिलेभन्दा करिब एक दशकपहिले नै मैले त्यो उपन्यास समाप्त गर्ने योजना बनाएको थिएँ । कैयौँपल्ट मैले सार्वजनिक रूपले नै त्यो कुरा बताए पनि तर अन्तमा अहिले मात्र त्यो पुस्तक प्रेसमा जान सक्यो र अब यही सालको मङ्सिर १५ गते त्यसको प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा विमोचन हुँदै छ । जे होस, त्यो पुस्तक अब प्रकाशित हुने भयो । मलाई लाग्छ, कथा र उपन्यासको क्षेत्रमा मेरा धेरै रचना हराएर मलाई जुन ठुलो दुःख र पीडा पुगेको छ, त्यसको क्षतिपूर्ति यो उपन्यासको प्रकाशनले केही न केही गर्ने छ ।

यो उपन्यास ‘कामरेड जलजला’ को स्मृतिमा मेरो उपहार पनि हुने छ । मुमताजको स्मृतिमा शाहजहाँले ताजमहल बनाएका थिए । आफ्नी पत्नीको सम्झनामा पाल्पामा खड्गशमशेरले गण्डकीको तिरमा रानीमहल बनाएका थिए । कविवर माधव घिमिरेले आफ्नी पत्नी गौरीको सम्झनामा ‘गौरी’ काव्य लेखेका थिए । ताजमहल बनाउनका लागि म शाहजहाँ होइन† रानीमहल बनाउनका लागि म खड्गशमशेर होइन; ‘गौरी’ काव्य लेख्नको लागि म माधव घिमिरे होइन, त्यसैले ‘कामरेड जलजला’ को सम्झनामा मैले यो उपन्यास लेखेको छु र यो उपन्यास उनलाई नै समर्पण गरेको छु ।

प्रस्तुत उपन्यास कैयौँ कुराको सम्मिलित परिणाम हो । प्रथमतः मलाई सानै उमेरदेखि कथा लेख्ने रुचि थियो । २०१२ सालमा पाल्पा जेलमा परेपछि मेरो रुचि उपन्यास लेख्नेतिर गयो र एउटापछि अर्को गर्दै मैले पाँचओटा उपन्यास लेखेँ । प्रत्येक पल्ट कुनै उपन्यासको पाण्डुलिपि हराउँदा मलाई ठुलो दुःख लाग्दथ्यो तर म निराश हुन्नथेँ र कुनै अवसर मिल्नेबित्तिकै मैले पुनः उपन्यास लेख्न थाल्दथेँ । मेरो मनमा दबेर बसेको उपन्यास लेख्ने तीव्र इच्छाले पनि मलाई यो उपन्यास लेख्ने कार्यमा उन्मुख गर्‍यो ।

हाईस्कुलमा पढ्दा मेरो पहिले सबैभन्दा बढी रुचि गणिततिर नै थियो । पाँच क्लासमा पढ्दा मेरो बिजगणितको पुस्तक हरायो । पिताजी प्युठानको घरमा नै हुनुहुन्थ्यो । अर्को पुस्तक किन्न मसित पैसा भएन र मैले त्यो किताब किन्न सकिनँ । त्यसपछि गणिततिरको मेरो पढाइ अगाडि बढन सकेन ।

जुद्धोदय पब्लिक हाईस्कुलमा पढदा मेरो रुचि इतिहासतिर बढेर गयो । त्यो बेला भूवनलाल जोशी इतिहासको शिक्षक हुनुहुन्थो । उहाँको अध्यापन यति धेरै आकर्षण थियो कि मैले पनि इतिहासमा नै उच्च शिक्षा प्राप्त गर्ने तथा इतिहासको अध्ययन र अनुसन्धानमा सम्पूर्ण जीवन समर्पण गर्ने सपना देख्न थालेको थिएँ तर घटनाक्रम र परिस्थितिले गर्दा उच्च शिक्षाको मेरो विचार पूरा हुन सकेन र डिग्रीसम्मका सबै परीक्षा प्राइभेट परीक्षार्थीको रूपमा नै पास गर्दै जानुपर्‍यो तर इतिहासप्रतिको मेरो मनमा दबेको इच्छाले मलाई सधैँ घच्घचाइरह्यो । मेरो त्यो इच्छा उपन्यासकी एउटी प्रमुख पात्र सुनन्दाको रूपमा प्रकट भएको छ ।

सुनन्दाको सानैदेखि इतिहासमा धेरै नै रुचि थियो । उनले प्रत्येक विषयमा तहसम्म पुगेर त्यसको इतिहास पत्ता लगाउने प्रयत्न गर्दछिन् र अन्तमा दिल्लीको ‘जवाहरलाल नेहरू विश्वविद्यालय’ बाट इतिहासमा नै पिएचडी गर्न थाल्दछिन् । पूरै उपन्यासमा तपाईंहरूले पाउनुहुने छ, उनी जहाँ पनि पुग्छिन्, उनले त्यहाँको इतिहास पत्ता लगाउने कोसिस गर्छिन् ।

उनी नेपालमा आउँछिन् र उनले काठमाडौँ उपत्यकाका स्वयम्भू, अष्टमातृका वा पशुपतिनाथको इतिहास पत्ता लगाउने कोसिस गर्छिन् । उनले नवलपुर र दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यता, रामापिथेकसको इतिहास, कपिलवस्तु र लुम्बिनीको बौद्धकालीन इतिहास, थारू, मगर र खसको इतिहास, कर्णाली प्रदेशका मष्ट, मतवाली क्षेत्री, देउकी प्रथा, बाइसे/चौबिसे राज्यको इतिहास, प्युठान ओखरकोटका जाट राजाको इतिहास अध्ययन गर्ने प्रयत्न गर्दछिन् । फ्रान्सको प्राचीन इतिहास र त्यहाँको राजाविरोधी तथा गणतान्त्रिक शक्तिबिच अन्तर्द्वन्द्वको इतिहास, अङ्गेजविरोधी विराङ्गना जोन अफ आर्कको इतिहास, त्यहाँको कला र मूर्तिकलाको इतिहास, जर्मनीको फासिज्म र त्यसका विरुद्धको वीरतापूर्ण सङ्घर्षको इतिहास, रुसमा हिटलरको आक्रमण विरुद्ध स्टालिनग्राड र लेनिनग्राडको वीरता र बलिदानको इतिहास, त्यहाँको समाजवाद पतनको इतिहास, युनानको प्राचीन दर्शन वा त्यहाँका कैयन् बलिदानपूर्ण घटनाको समेत उनले अध्ययन गर्छिन् ।

मेरो नियमित रूपले उच्च शिक्षा प्राप्त गर्ने इच्छा पूरा हुन सकेन तर प्राइभेट रूपले उच्च शिक्षा प्राप्त गर्न मैले सधैँ प्रयत्न गरिरहेँ । २०१५ सालमा संसदीय चुनावको बेलामा गाउँगाउँमा चुनाव प्रचारका लागि हिँड्दा नै मैले एलएलसी परीक्षाको तयारी गरेँ र प्राइभेट रूपमा त्यो परीक्षा दिएँ ।
पार्टीको केन्द्रीय समितिमा भएको बेलामा नै मैले अध्ययन गर्न जानका लागि केन्द्रीय समितिबाट छुट्टी मागेँ र पार्टीले मलाई छुट्टी दिन स्वीकार पनि गर्‍यो । पिताजीसित मेरो राहिलो भाइ शङ्करविक्रमलाई लगेर म दार्जिलिङ पढ्न जाने, आइए र बिएसम्मको पढाइ त्यहीँ गर्ने र त्यसपछि भाइलाई पनि लगेर उच्च शिक्षाको लागि लन्डन पढ्न जाने सल्लाह भयो । पिताजीले दुई भाइ दार्जिलिङ पढ्न जानका लागि खर्चपर्चको व्यवस्था पनि गर्नुभयो । त्यही बिचमा पिताजीले टिमुरचौरको एउटा किसानको जबरजस्ती काटेर ल्याएको एउटा सालको रुखको विषयमा पिताजीसित विवाद भयो र ठुलो झगडा पर्‍यो । त्यसपछि भाइलाई लगेर दार्जिलिङ पढ्न जाने योजना पूरा हुन सकेन । त्यसपछि पिताजीसित कुनै सम्पर्क नगरिकन कतैबाट सरसापटी गरेर केही पैसाको व्यवस्था गरेर बनारस आएँ र आइए परीक्षाको तयारी गर्न थालेँ । त्यही बिचमा २०१७ पुस १ गतेको घटना भयो र देशमा राजाको तानाशाही व्यवस्था कायम भयो । त्यो अवस्थामा पार्टीबाट छुट्टी लिएर पढाइमा लाग्नु मैले उचित ठानिनँ र म पूरै पार्टीको काममा सक्रिय हुन थाले ।

केही समयपछि दरभङ्गा प्लेनम भयो । त्यसपछि हामी डा. केशरजङ्ग रायमाझीका विरुद्ध विद्रोह गरेर तेस्रो महाधिवेशनको तयारीमा लाग्नुपर्‍यो । तेस्रो महाधिवेशनको तयारीको सिलसिलामा प्युठान र अर्घाखाँची गएर फर्कदा का. शक्ति लम्साल र का. खिमानसिंह गुरुङसहित हामी तौलिहवामा गिरफ्तार भयौँ । त्यसपछि करिब ९ वर्ष मैले जेलमा नै बिताउनुपर्‍यो ।

काठमाडौँको भद्रगोल जेलमा छँदा आइए र बिएको परीक्षा दिएँ । जलजला प्रेम प्रकरणमा कारबाहीमा परेर निष्काशित भएको बेलामा आगरा विश्वविद्यालयबाट एमएको परीक्षा दिएँ र पछि त्यहीँबाट पिएचडीको लागि नाम दर्ता गराएँ । त्यो बेला मेरो शोधको विषय ‘पश्चिम नेपाल र कुमाउँ–गढवालको कृषिको तुलनात्मक अध्ययन’ थियो । जब पनि मलाई पार्टीको कामबाट केही फुर्सद हुन्थ्यो, मैले कुमाउँ र गढवाल गएर त्यहाँका पुस्तकालयबाट वा दिल्ली नैनिताल, आगरा, इलाहावाद, लखनऊ, अल्मोडा, बनारस आदि स्थानका पुस्तकालयमा गएर अध्ययन गर्ने वा शोधपत्रका लागि सामग्री जुटाउने प्रयत्न गर्दथेँ तर पछि पार्टीले ममाथिको कारबाही हटायो र पार्टीका काम र आन्दोलनसम्बन्धी जिम्मेवारी बढ्दै गए ।

पार्टीभित्रको अन्तरसङ्घर्ष बढ्दै गएकाले नै मैले त्यसमा बढी समय दिनुपर्ने स्थिति उत्पन्न भयो । त्यसले गर्दा मैले पिएचडीको तयारी बिचमा छाड्नुपर्‍यो तैपनि पिएचडीको तयारीको क्रममा मैले गढवाल र कुमाउँको धेरै भ्रमण गरेको थिएँ । त्यससम्बन्धी धेरै अध्ययन गरेको थिएँ । त्यससम्बन्धी धेरै सामग्री जम्मा गरेको थिएँ । पछि मैले पिएचडी गर्ने विचार त्यागे पनि त्यसको तयारीको सिलसिलामा मैले त्यो क्षेत्रसित सम्बन्धित जुन सामग्री जम्मा गरेको थिएँ, तिनीहरूलाई आधार बनाएर उपन्यास लेख्ने विचार गरेँ । त्यसैको परिणाम थियो, उपन्यासको पहिलो भाग पूरै नै कुमाउँसित सम्बन्धित छ र त्यो भागको शीर्षक पनि ‘कुमाउकी छोरी’ रहेको छ । उपन्यासकी सुनन्दाको शोधको विषय पनि मेरो शोधको विषयअनुसार नै ‘गढवाल र कुमाउँ तथा पश्चिम नेपालको मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन’ नै रहेको थियो । मेरो पिएचडीको शोधको विषय कृषि रहेको थियो भने उपन्यासकी सुनन्दाको शोधको विषय इतिहास रहेको छ तर क्षेत्र एउटै रहेको छ– गढवाल, कुमाउ र पश्चिम नेपाल । मैले त्यही क्षेत्रलाई आधार बनाएर नै उपन्यास लेख्ने योजना बनाए ।

सुरुमा मेरो विचार पिएचडीको शोधपत्रको लागि निर्धारित गरिएको ‘पश्चिम नेपाल र गढवाल, कुमाउ’ को क्षेत्रसम्म सीमित रहेर नै उपन्यास तयार पार्ने थियो तर पछि उपन्यासको क्षेत्र बढ्दै गयो र त्यसमा क्रमशः सम्पूर्ण विश्व नै, सम्पूर्ण धर्ती र अन्तरिक्षसम्म सामेल हुँदै गयो । अहिले प्रकाशित हुन थालेको—यो लेख प्रकाशित हुँदासम्म वा केही अघिपछिसम्म—त्यो उपन्यास पनि प्रकाशित भइसक्ने छ । उपन्यासको एउटी मुख्य पात्र सुनन्दा नै हुन् । उनी काल्पनिक पात्र हुन् तर उनलाई खोज्न पनि मैले कुमाउँ–गढवालका धेरै ठाउँको भ्रमण वा अध्ययन गर्नुपर्‍यो । अन्तमा मैले उनलाई दाँतुमा फेला पारेँ । त्यो पिथौरागढको धार्चुलाको दारमा पर्गनाको सौका जनजातिको पञ्चकन्या हिमालयको नजिकै रहेको एउटा सानो गाउँ हो । उनी त्यही गाउँकी एउटी युवती हुन् । त्यो गाउँको अध्ययन गर्न पनि मैले धेरै प्रयत्न गर्नुपर्‍यो । त्यो गाउँमा नै म त पुग्न सकेको छैन यद्यपि दुर्गा र म धार्चुलासम्म पुगेका थियौँ । लखनऊमा नोकरी गर्ने त्यो गाउँका कयौँ मानिससित मैले भेटघाट गरेर कुराकानी गरेको थिएँ वा लखनऊका कतिपय पुस्तकालयमा कतिपय सामग्री अध्ययन गरेर त्यो गाउँका मान्छेबारे जानकारी जुटाएको थिएँ । त्यसरी सुनन्दाको एउटा जीवित चित्र तयार पार्न मैले प्रयत्न गरेको थिएँ । वास्तवमा मैले जलजलाको सम्पूर्ण दृष्टिकोण र व्यक्तित्व सुनन्दामा समाविष्ट गर्ने प्रयत्न गरेको छु, जसबाट उनी साँच्चिकै जलजला बनुन् ।

कम्युनिस्ट पार्टीमा लागेपछि मैले पार्टीमा अनुभव गरेको सबैभन्दा मुख्य विषय दृष्टिकोणको नै हो । पार्टीको, नेपालको मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनको पनि एउटा मुख्य समस्या दृष्टिकोणको नै हो । सबैको होइन तर धेरैजसो मानिस कम्युनिस्ट पार्टीमा प्रवेश गर्छन् तर उनीहरूको दृष्टिकोण कम्युनिस्ट जस्तो हुँदैन । मार्क्सवादी–लेनिनवादी दर्शनले जुन प्रकारको विश्वदृष्टिकोण, सर्वहारा विश्वदृष्टिकोणमा जोड दिन्छ, त्यसलाई धेरै कम्युनिस्टले अपनाएका हुँदैनन् । त्यही कारणले कम्युनिस्ट पार्टीमा विभिन्न प्रकारका भड्काव देखा पर्दछन् र कम्युनिस्टले गैरक्रान्तिकारी बाटो समात्छन् । संसारमा त्यस प्रकारका थुप्रै उदाहरण पाइन्छन् । त्यसले गर्दा नै विश्व समाजवादी ब्यवस्थाको पतन भयो र आज विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । नेपालमा पनि त्यस प्रकारका उदाहरणको कमी छैन ।

कम्युनिस्ट पार्टीको त्यो समस्याप्रति मेरो सबैभन्दा बढी ध्यान जाने गर्दछ र मैले प्रत्येक प्रशिक्षण कार्यक्रम वा विभिन्न लेखमा त्यो विषयमा विशेष जोड दिने गर्छु । प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ मा पनि मेरो मुख्य जोड त्यही कुरामा रहेको छ र त्यसैलाई आधार बनाएर मैले उपन्यासको विषयवस्तु, कथाप्रवाह, पात्र, खलनायक वा प्रेमको पनि निर्माण गर्ने प्रयत्न गरेको छु । त्यही कुरालाई ख्यालमा राखेर उपन्यासमा विश्व कम्युनिस्ट आन्दोलनको पनि मूल्याङ्कन गर्ने प्रयत्न गरिएको छ ।

अन्तमा कामरेड जलजलाको मृत्युले पनि मलाई यो उपन्यास लेख्न उत्प्रेरित गर्‍यो । उनको मृत्युपछि नै मैले गढवाल, कुमाउँ र पश्चिम नेपालका पहाडलाई आधार बनाएर पिएचडी गर्ने विचार गरेको थिएँ । वास्तवमा भन्ने हो भने कुमाउँ, गढवालप्रति मेरो धेरै नै मानसिक लगाव पनि छ । प्रथमतः त्यहाँ घुम्न जाँदा मैले नेपालमा जस्तै घुमेको अनुभूति गर्दछु । त्यहाँका नेपालका जस्तै वनजङ्गल, पहाड पर्वत, मानिसको बोलीचाली र स्वभाव आदिले मेरो मनमा कुमाउँ, गढवालप्रति बढी आत्मीयताको भाव पैदा हुन्छ ।

पञ्चायती कालमा वारेन्टका कारणले नेपालतिर म खुल्ला रूपले वा तनावरहित तरिकाले घुम्न जान सक्दैनथेँ । त्यस्तो बेलामा म प्रायशः गढवाल कुमाउतिर नै घुम्न जाने गर्दथेँ । कतिपय बेला जलजला र म पनि सँगसँगै त्यहाँ घुम्न जाने गर्दथ्यौँ । उनको मृत्यु भएपछि उनीसित सँगसँगै त्यहाँ घुम्न गएका कुराहरू मैले सम्झन थालेँ र कुमाउँ–गढवालको मलाई झन् बढी माया लाग्न थाल्यो । त्यही कारण थियो कि मैले आफ्नो पिएचडीको विषय छान्दा पनि त्यसमा गढवाल र कुमाउँलाई सामेल गरेको थिएँ । उपन्यासको पहिलो भागको पूरै नै कुमाउँसित सम्बन्धित छ र उपन्यासकी एउटी मुख्य पात्र सुनन्दालाई पनि कुमाउँबाट नै लिइएको छ । उपन्यासमा सुनन्दाको स्थान कति महत्त्वपूर्ण रहेको छ ? त्यो कुरा उपन्यासको प्राक्कथनमा लेखिएको यो पङ्क्तिबाट थाहा हुने छ : ‘सुनन्दा बिना उपन्यासको गति अगाडि बढ्न नै सक्दैन’ ।

(ग)

‘कामरेड जलजला’ उपन्यास तयार पार्न मलाई करिब २३ वर्षको लामो समय लाग्यो । प्रथमतः जस्तो कि माथि पनि उल्लेख गरियो, उपन्यासको प्रारम्भ कुमाउँबाट नै सुरु हुन्छ । पहिले त पिएचडीका लागि सामग्री जुटाउन म गढवाल र कुमाउमा धेरै घुमेको थिएँ । त्यहाँका कैयौंँ पुस्तकालयमा गएर अध्ययन गरेको थिएँ । मैले त्यहाँका कैयौँ बुद्धिजीवी, राजनीतिक वा सामाजिक कार्यकर्ता, जनसाधारणसित पनि भेट गरेको थिएँ । मैले त्यहाँका कैयौँ विचारगोष्ठी वा साहित्यिक कार्यक्रममा पनि भाग लिएको थिएँ । मेरो सोचाइ थियो, त्यस प्रकारको स्थलगत अध्ययनले मलाई उपन्यासलाई वास्तविक धरातलमा स्थापित गर्न मदत पुग्ने छ ।

पहिले जलजलासित गढवाल, कुमाउँतिर घुम्दा पिएचडी वा उपन्यासका लागि सामग्री जुटाउने कुनै योजना थिएन । त्यो बेलाको भ्रमण खालि दृश्यावलोकनका लागि मात्र थियो तैपनि त्यो बेलाको यात्राले कुमाउँ वा गढवालप्रति आत्मीयता पैदा गर्‍यो र त्यो बेलाको अनुभव वा अनुभूतिले पछि उपन्यासमा त्यहाँको प्रकृति वा जीवनको चित्रण गर्न पनि धेरै मदत पुर्‍यायो ।

पिएचडीको लागि गढवाल र कुमाउँको यात्रा मैले प्रायःजसो एक्लै नै गरेँ । पछि उपन्यासको लागि सामग्री जुटाउने सिलसिलामा त्यहाँको यात्रा गर्दा दुर्गा मेरो साथमा नै रहिन् । हामीले सँगसँगै कुमाउँ, गढवालका कैयौँ सहर गाउँ वा अग्ला पर्वत शिखरको यात्रा गर्‍यौँ । उनको साथले त्यहाँको जनजीवन, खास गरेर गाउँका महिलासित पनि भेटघाट वा कुराकानी गर्नलाई धेरै मदत पुग्यो ।

गढवाल र कुमाउँ यात्राको सिलसिलामा हामीले कैयौँ दिन अल्मोडाको कौसानीको लक्ष्मी आश्रममा पनि बितायौँ । हामी जाँदा सरला बहनको निधन भइसकेको थियो तर लक्ष्मी आश्रममा बस्दा उहाँको जीवनबारे धेरै कुरा थाहा भयो, खास गरेर ग्रामीण महिलाको सेवा वा उनीहरूको शिक्षाको विकासमा उहाँले गरेको त्याग र तपस्याको जीवन । त्यही लक्ष्मी आश्रमबाट मैले मेरो उपन्यासकी एक जना पात्र सुनन्दालाई पनि लिएको छु । पछि हामी सरला बहनले अन्तिम दिन बिताएको हिमदर्शन कुटीमा पनि गएका थियौँ । हामी सुन्दरलाल बहुगुणा र विमला बहुगुणालाई भेट्न पनि गएका थियौँ ।

दुर्गा र म खिराकोटकी मालतीदेवीलाई भेट्न पनि गएका थियौँ । उनी नै खिराकोटको पर्यावरण आन्दोलनको नेता थिइन् । उनका पुर्खा नेपालबाट नै गएका थिए । उनी राधा बहनका साथमा बालाजुको सिद्धार्थ वनस्थलीमा आयोजित पर्यावरणसम्बन्धी एउटा कार्यक्रममा भाग लिन नेपाल पनि आएकी थिइन् । उपन्यासमा खिराकोटको पर्यावरण आन्दोलन र त्यो आन्दोलनमा मालतीदेवीको भूमिकाबारे पनि विस्तृत रूपले चर्चा गरिएको छ ।

उपन्यासको लागि कुमाउँमा घुम्ने सिलसिलामा हामी झन्डैले गिरफ्तार भएका थियौँ । धार्चुला निषेधित क्षेत्र रहेछ । हामीलाई त्यो कुरा थाहा थिएन । कैयौँ दिन कुमाउँका कैयौँ गाउँमा घुमेर दुर्गा र म जौलजिवी आइपुग्यौँ । उनलाई त्यहीँ एउटा होटलमा छाडेर म एक्लै धार्चुलातिर गएँ । म अबेलासम्म नफर्केको देखेर उनी मलाई खोज्न धार्चुलातिर लागिछन् । उनी धार्चुला पुग्दा झमक्क साँझ परिसकेको थियो । सन्जोगले एक ठाउँमा हामी बजारमा नै भेट भयौँ र सँगै जैलजिवी फर्केर आयौँ । यो कुरा सन्जोग नै थियो कि त्यहाँका चौकीका मानिसले हामीलाई कुमाउका स्थानीय मानिस जस्तै ठाने र हामीलाई कुनै सोधपुछ गरेनन् ।

नेपालका काठमाडौँ उपत्यका, लुम्बिनी, कर्णाली वा सुदूरपश्चिमका विभिन्न जिल्लाहरू म पहिलेदेखि नै जानेआउने गरेका जिल्ला थिए । त्यसकारण ती जिल्लासित सम्बन्धित सामग्री जुटाउन मलाई खास अप्ठेरो परेन तैपनि ती जिल्लाको इतिहास, संस्कृति, जनजीवन वा भौगोलिक विवरणसम्बन्धी जानकारी प्राप्त गर्न मैले कैयौँ पल्ट ती स्थानको भ्रमण गर्नुपर्‍यो वा पुस्तकपत्रिकाबाट कयौँ सामग्रीको अध्ययन गर्नुपर्‍यो । त्यस सिलसिलामा काठमाडौँको मूर्तिकला, अष्टमातृका, स्वयम्भू वा पशुपतिनाथको अध्ययनका लागि मैले धेरै प्रयत्न गर्नुपर्‍यो । नवलपुर डण्डाका ढुङ्गेयुगीन औजार, पाल्पाको तिनाउ नदीछेउमा प्राप्त रामापिथेकसको बङ्गारा, कपिलवस्तु र लुम्बिनीको बौद्धकालीन सभ्यताको इतिहास अध्ययनको लागि पनि मैले धेरैतिरबाट सामग्री जुटाउन पर्‍यो । थारू, मगर र खसको इतिहाससम्बन्धी अध्ययनका लागि पनि मैले धेरैतिर सामग्री खोज्नुपर्‍यो वा धेरैतिर गएर भेटघाट वा सम्पर्क गर्नुपर्‍यो ।

उपन्यासको एउटा मुख्य विषयवस्तु कर्णाली प्रदेशको अध्ययन पनि थियो । कर्णाली प्रदेशका प्राग्ऐतिहासिक कालका कर्णाली नदी र रारा ताल, त्यहाँका मष्ट, मतवाली क्षेत्री, देउकी प्रथा आदिको अध्ययनमा पनि उपन्यासले विशेष जोड दिएको छ । त्यससम्बन्धी सामग्री जुटाउन पनि मैले धेरैतिर दौडधुप, अध्ययन वा परिश्रम गर्नुपरेको थियो ।

सुनन्दाको पिएचडीको अध्ययनको विषय ‘कुमाउँ र गढवाल तथा पश्चिम नेपालको मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन’ थियो । त्यसकारण उपन्यासमा ती दुबै क्षेत्रको अध्ययनमा विशेष जोड दिइएको छ तर उनको शोधभित्र गण्डकी क्षेत्र पर्दैनथ्यो । त्यसैले उपन्यासमा गण्डकी क्षेत्र वा गुरुङ जातिबारे थोरै मात्र उल्लेख गरिएको छ र विशेष अध्ययन गरिएको छैन ।

उपन्यासको अर्को मुख्य विषय युरोपसित नै सम्बन्धित छ । उपन्यासको सातौँ भाग पूरै नै युरोपसित सम्बन्धित छ । उपन्यासमा युरोपलाई दर्शन, क्रान्ति र बलिदानको महाद्वीप बताइएको छ । त्यस सिलसिलामा युरोपको दर्शन, इतिहास, संस्कृति, कला वा त्यहाँका क्रान्तिकारी आन्दोलनबारे प्रकाश हाल्ने विशेष प्रयत्न गरिएको छ । ती सामग्री जुटाउन मैले धेरै पल्ट युरोपको भ्रमण गर्नुपरेको थियो ।

म सन् १९८४ मा रिमको स्थापनाको सिलसिलामा फ्रान्समा गएको थिएँ । पछि रिमबाट हाम्रो पार्टी हटेपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसित सम्पर्क बढाउनको लागि मैले करिब तीन महिनासम्म युरोपका विभिन्न देशको भ्रमण गरेको थिएँ । सन् २०१० मा जर्मनीमा आइसिओआरको स्थापना भएपछि पनि त्यसका कतिपय सम्मेलन, बैठक वा अन्य विभिन्न कार्यक्रमको सिलसिलामा पनि मैले युरोपका विभिन्न देशको भ्रमण गर्नुपर्ने आवश्यकता पर्‍यो । ती यात्राको सिलसिलामा पनि मैले उपन्याससित सम्बन्धित बढीभन्दा बढी जानकारी वा अध्ययन सामग्री जुटाउने प्रयत्न गरेँ ।

उपन्यासमा मैले संसारका सबै महाद्वीप, महासागर, सौर्य जगत्का सबै ग्रह, अन्तरिक्षका तारामण्डल वा सम्पूर्ण विश्वबारे प्रकाश हाल्ने प्रयत्न गरेको छु । उपन्यासमा यो प्रश्न पनि उठाउने प्रयत्न गरिएको छ : अहिलेको ज्ञात विश्व वा ब्रह्माण्डभन्दा बाहिर अरू अज्ञात विश्व त छैनन् ? त्यसरी विश्वको सम्पूर्ण संरचना कुन प्रकारको छ ? त्यसबारे पनि उपन्यासमा बुझ्ने प्रयत्न गरिएको छ ।

उपन्यासको अर्को महत्त्वपूर्ण विषय सम्पूर्ण मानवजातिको विश्वदृष्टिकोण र विश्व कम्युनिस्ट आन्दोलनको विषय पनि रहेको छ । उपन्यासले यो कुरालाई स्वीकार गरेको छ कि अहिलेको विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएको छ र रक्षात्मक अवस्थामा पुगेको छ । त्यसको मुख्य कारण कम्युनिस्ट वा कम्युनिस्ट पार्टीमा आएको दार्शनिक वा वैचारिक विचलन नै हो । त्यो पक्षको विवेचना गर्नका लागि मार्क्सवादी दर्शन वा अन्य धार्मिक वा दार्शनिक पक्षको पनि मैले धेरै अध्ययन गर्नुपरेको थियो । त्यस सिलसिलामा गीताको ‘कर्म गर तर फलको आशा नगर’ वा ‘साङ्ख्य दर्शनको दुःख–सुख, लाभहानि, मानअपमानसमेत बारे समभाव राख्नुपर्ने’ जस्ता सिद्धान्त विशेष रूपले उल्लेखनीय छन् । उपन्यासमा ती सिद्धान्तको विस्तृत रूपले चर्चा गरिएको छ ।

उपन्यासमा यो कुरामा पनि विशेष प्रकाश हालिएको छ कि शोषणप्रधान समाजका व्यक्तिवादी वा स्वार्थपरायण सोचाइले शोषित वा सारा जनतामा पनि धेरै तलसम्म घर जमाएका छन् । त्यसैले समाजको सम्पूर्ण चिन्तन प्रणाली नै दूषित र विषाक्त प्रकारको बन्न गएको छ । त्यस प्रकारको चिन्तन प्रणालीलाई हटाएर समाजको सम्पूर्ण चिन्तन प्रणालीलाई उच्च मानवीय स्तरमा कसरी उठाउने ? त्यो नै अहिलेको विश्वको मुख्य समस्या हो । अर्को शब्दमा, मनुष्यको सम्पूर्ण चिन्तन प्रणालीलाई आमामय बनाउनुपर्दछ । त्यसको अर्थ हो– जसरी आमाहरूले निःस्वार्थ भावले आफ्ना सन्तानलाई माया गर्छन् वा सेवा गर्दछन्, त्यही प्रकारको मानसिकता मानव मात्रमा हुनुपर्दछ । उपन्यासले त्यही कुरामा जोड दिन्छ । त्यसपछि नै संसार स्वर्ग बन्ने छ यद्यपि उपन्यासले स्वर्ग र नर्कको दैवी अवधारणालाई स्वीकार गर्दैन र स्वर्गको अवधारणालाई लौकिक अर्थमा नै लिन्छ ।

उपन्यासको आवरण पृष्ठको पछिल्लो भित्री पेजको अन्तमा लेखिएको छ : ‘प्रायः दुईटा विन्दुका बिचमा एउटा रेखा खिचिन्छ र त्यसरी टाढा टाढा वा आपसमा कुनै सम्बन्ध नभएका विन्दुका बिचमा सम्बन्ध कायम हुन्छ । सायद नियमितता र आकस्मिकताका बिचको द्वन्द्वात्मक सम्बन्धको नियमको कारणले त्यस्तो हुने गर्दछ । त्यस्तै, जलजला र सुनन्दाका जीवनमा पनि हुन जान्छ । कुमाउँबाट आएर सुनन्दाले क्रमशः जलजलाको जीवनमा प्रवेश गर्दै जान्छिन् र अन्तमा स्वयम् जलजला बन्दछिन् । उपन्यासको सम्पूर्ण कथाप्रवाह त्यही दिशामा बढ्दछ र त्यही विन्दुमा गएर समाप्त पनि हुन्छ ।’

(रातो लालटिन, २०८१ कात्तिकबाट)

भुलसुधार

‘कामरेड जलजला’ उपन्यासको विवरणमा कतिपय ठाउँमा ७२ परिच्छेद भएको लेखिएकोमा ७० परिच्छेद मात्र भएकाले त्यसलाई सच्याउनको लागि अनुरोध गर्दछु ।

का. मोहनविक्रम सिंहको ‘तारा’ उपन्यास २०४६ सालमा बनारसमा लेखिएको थियो । कतिपय ठाँउमा त्यो मिति अन्यथा लेखिएकामा सच्याएर पढ्नका लागि अनुरोध गर्दछु ।

दुर्गा पौडेल
जनशिक्षा गृह

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार