‘कामरेड जलजला’ उपन्यासको विमोचन कार्यक्रमकी प्रमुख अतिथि श्रीमती ललिता ढकाल, आजको विमोचन कार्यक्रमको अध्यक्ष कामरेड चित्रबहादुर केसी तथा आजको कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागी मित्रहरू । तपाईंहरू सबैप्रति हार्दिक अभिनन्दन ।
१) आज ‘कामरेड जलजला’ उपन्यासको विमोचन हुन थालेको छ । २०३८ मङ्सिर १ गते दिल्लीमा एउटा बस दुर्घटनामा कामरेड जलजलाको मृत्यु भएको थियो । उनको त्रिचालिसौँ स्मृतिदिवसको अवसरमा मङ्सिर १ गते नै यो उपन्यासको विमोचन गर्ने हाम्रो सोचाइ थियो तर त्यहीबिचमा दशैँतिहार र छठ पर्वहरू परेकाले प्रेस बन्द भएकाले तथा अन्य कतिपय प्राविधिक समस्याका कारणले मङ्सिर १ गते यो पुस्तकको विमोचन गर्नु सम्भव भएन तैपनि उनको निधन भएको त्रिचालिसौँ स्मृतिवर्षको मङ्सिर महिनामा नै यो पुस्तकको विमोचन हुँदै छ ।
२) यो उपन्यास के हो र कस्तो लेखिएको छ ? त्यो कुरा मैले भन्न सक्दिनँ र मैले भन्न सक्ने कुरा पनि होइन । त्यसको निरुपण पाठक र समीक्षकले नै गर्नु हुने छ । जे होस्, यो उपन्यास लेख्नुको पछाडि मेरो कुन दृष्टिकोण वा उद्देश्यले काम गरेको छ वा कुन प्रकारको परिस्थितिमा मैले यो उपन्यास लेखेँ ? यहाँ मैले त्यसबारे सङ्क्षिप्त रूपमा केही प्रकाश हाल्ने प्रयत्न गर्ने छु ।
३) उपन्यासको क्षेत्रमा मेरो यो पहिलो प्रवेश हो । निश्चय नै २०१२ सालमा पाल्पा जेलमा भएको बेलादेखि मैले उपन्यासको क्षेत्रमा लेख्ने कार्य गर्दै आएको छु र त्यसरी उपन्यासको लेखनको क्षेत्रमा मेरो करिब ७० बर्षको लामो समय बितिसकेको छ । मैले यसभन्दा पहिले पाँचओटा उपन्यास लेखेको छु तर ती सबै कतै हराए वा नष्ट भए र त्यसैले तीमध्ये कुनै पनि प्रकाशित हुन सकेनन् र ॅका. जलजला’ मेरो प्रकाश हुन थालेको पहिलो उपन्यास हो ।
४) प्रस्तुत उपन्यास मुख्य रूपले जलजलासित नै सम्बन्धित छ तर यो उनको जीवनी, आत्मकथा वा संस्मरण होइन र यो उपन्यास हो । त्यसैले यो उपन्यास उनको जीवनको घेरासम्म सीमित छैन र यसले उनको जीवनभन्दा बाहिरको विस्तृत क्षेत्रमा प्रवेश गर्दछ । त्यो क्षेत्रभित्र सम्पूर्ण प्रकृति, मानव समाज र ब्रह्माण्डसमेत आउँछ । प्रस्तुत उपन्यासले सम्पूर्ण विश्वको परिभ्रमण गर्दछ । उपन्यासले त्यसरी विश्वको परिभ्रमण गर्ने बेलामा आजको समाज वा संसार जुन रूपमा छ, त्यही रूपमा मात्र तिनीहरूलाई बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न नगरेर तिनीहरूलाई बदल्ने र तिनीहरूको ठाउँमा नयाँ, स्वतन्त्र, सुखी र सुन्दर संसार र मानव जीवनको परिकल्पना गर्दछ । उपन्यासको सम्पूर्ण विषयवस्तु वा कथाप्रवाहको सारतत्त्व त्यही नै हो । उक्त विषयमा यो उपन्यास कति सफल भएको छ ? यो तपाईंहरूले बताउने कुरा हो ।
५) प्रस्तुत पुस्तक तयार पार्न मलाई करिब २३ वर्षको लामो समय लागेको छ । मैले त्यो पुस्तक लेख्न ठिक कुन दिन सुरु गरेँ ? त्यो मिति मलाई सम्झना छैन । अहिले त्यसका पुराना पाण्डुलिपि पनि उपलब्ध छैनन् तर एउटा कुराको मलाई सम्झना छ, मेरो छोरा विश्वमोहन जन्मनुभन्दा करिब एक वर्षपहिले मैले यो उपन्यास लेख्न सुरु गरेको थिएँ । अहिले विश्व २२ वर्षमा लाग्यो । त्यसैले यो पुस्तक लेख्न थालेको करिब २३ वर्ष लागेको मैले अनुमान गर्दछु ।
६) त्यो अवधिमा म पार्टीका राजनीतिक, सङ्गठनात्मक कार्य, विभिन्न आन्दोलन वा पार्टीसँग सम्बन्धित कैयौँ दस्तावेज, लेख तथा विभिन्न पुस्तक वा पुस्तिका लेख्ने काममा पनि लाग्नुपर्यो । त्यसका साथै उपन्यासको कथाप्रवाह नेपालका कैयौँ स्थानका साथै भारतको कुमाउँ, गढवाल र केरल तथा युरोपका फ्रान्स, जर्मनी, रुस र युनानका कतिपय स्थानसित पनि सम्बन्धित छ । ती स्थानको चित्रणमा सकेसम्म यथार्थता दिनका लागि मैले ती सबै स्थानसम्बन्धी बढीभन्दा बढी सामग्री जुटाउन वा अध्ययन गर्न तथा स्थलगत अध्ययन गर्नका लागि ती सबै स्थानमा प्रायशः भ्रमण गर्नुपरेको थियो । त्यसैले यो पुस्तक पूरा गर्न यति धेरै समय लाग्न गयो ।
७) प्रस्तुत उपन्यासमा नेपालका र सम्पूर्ण संसारका पनि कैयौँ महत्त्वपूर्ण पक्षमाथि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । प्राथमिक रूपमा यो उपन्यास प्रेमको कथा नै हो तर उपन्यासको प्रधान पक्ष प्रेम नभएर विश्वको दर्शन नै हो । उपन्यासमा प्रेम र दर्शन दुवै आपसमा कसरी घुलमिल हुन पुगेका छन् ? त्यो पनि यहाँहरूले उपन्यास पढेपछि नै थाहा पाउनुहुने छ । विभिन्न कथा वा उपन्यासमा प्रेमका कथाहरू सुखान्त वा दुखान्त रूपमा टुङ्गिन्छन् तर हिन्दु पुराणमा एउटा कथा यस्तो छ : जो एकैसाथ दुखान्त र सुखान्त रूपमा टुङ्गिन्छ । त्यो हो– महादेव र पार्वतीको कथा । सतीको दक्षप्रजापतिको यज्ञमा आत्मदाह गरेर मृत्यु हुन्छ । त्यो कथाको दुखान्त पक्ष थियो तर सतीको पार्वतीको रूपमा पुनर्जन्म हुन्छ र उनको पुनः महादेवसित नै विवाह हुन्छ । त्यो कथाको सुखान्त पक्ष थियो । त्यसरी त्यो कथामा दुखान्त र सुखान्त पक्ष आपसमा मिल्न पुग्दछन् । प्रस्तुत उपन्यासमा पनि एक प्रकारले त्यस्तै हुन्छ र दुःखान्त र सुखान्त पक्षको आपसमा घुलमिल हुन्छ । निश्चय नै त्यसमा एउटा अन्तर भने अवश्य छ : महादेव र पार्वतीको कथामा अलौकिक रूपमा अर्थात् पुनर्जन्मको माध्यमबाट त्यस्तो हुन गएको छ तर प्रस्तुत उपन्यासमा लौकिक रूपले नै दुःखान्त र सुखान्त पक्षको एकार्कामा रूपान्तरण हुन्छ ।
८) उपन्यासको प्रधान पक्ष दर्शन नै हो । उपन्यासले मुख्य रूपले सम्पूर्ण मानव जातिको चिन्तन प्रणाली र दर्शनबारे विचार गर्दछ । चिन्तन प्रणाली कुन प्रकारको हुन्छ ? त्यसले इतिहासको प्रवाह र समाजको स्वरूपलाई पनि काफी हदसम्म प्रभावित गर्दछ । अहिले समाजमा विद्यमान दूषित र विषाक्त प्रकारको मानसिकताको परिणामस्वरूप मानव समाज नर्क जस्तै भएको छ । उपन्यासले त्यस प्रकारको मानसिकतालाई उच्च मानवीय स्तरमा उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसपछि नै अहिलेको मानव समाज स्वर्ग बन्न सक्ने छ । उपन्यासले नर्क र स्वर्गसम्बन्धी अवधारणालाई दैवी वा अलौकिक रूपमा होइन लौकिक रूपमा नै बुझ्दछ र त्यही रूपमा प्रस्तुत पनि गर्दछ ।
९) मार्क्सले यो बताएका छन्– हाम्रो मुख्य जोड संसारलाई बदल्ने कुरामा हुनुपर्दछ । त्यो कार्य कम्युनिस्ट आन्दोलनद्वारा नै सम्पन्न हुन सक्दछ तर अहिलेको कम्युनिस्ट आन्दोलनको मुख्य समस्या के हो भने आफ्ना सिद्धान्त र आदर्शबाट त्यसको धेरै नै विचलन भएको छ । उपन्यासमा त्यो अवस्थाको विस्तृत रूपले समीक्षा गरिएको छ ।
१०) समग्र रूपमा उपन्यासलाई उच्च दार्शनिक चिन्तन र क्रान्तिकारी दृष्टिकोणद्वारा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । आफ्ना विचार र उद्देश्यमा उपन्यास कति सफल भएको छ ? त्यो कुरा यसका पाठक र समीक्षकले नै बताउन सक्नुहुने छ । उपन्यास साहित्यिक र कलात्मक रूपले पनि कति सफल भएको छ ? त्यो कुरा पनि यो उपन्यासको समीक्षाको दौरानमा नै प्रष्ट हुँदै जाने छ ।
११) यो उपन्यास तयार पार्न मलाई पार्टीका सबै साथीहरूबाट धेरै मदत पुग्यो । उपन्यासका लागि स्थलगत अध्ययन वा विभिन्न स्थानको भ्रमण आदि कामका लागि नेपाल, भारत र युरोपका साथीहरूबाट महत्त्वपूर्ण सहयोग प्राप्त भएको छ । त्यस प्रकारको सहयोग बिना यो पुस्तक तयार हुन नै सक्दैनथ्यो ।
१२) त्यो पुस्तक तयार पार्न मलाई नेपाल, भारत वा युरोपका धेरै देशका मित्र र शुभेच्छुकबाट पनि सहयोग प्राप्त भएको छ । तिनीहरूको सूची लामो छ । त्यसैले ती सबैको नाम उल्लेख गर्नु सम्भव छैन । मैले समग्र रूपमा नै सबैलाई धन्यवाद दिन चाहन्छु ।
१३) उपन्यास तयार पार्न सहयोग गर्ने केही मानिसको नामको उल्लेख नगरिकन रहन सक्दिनँ । त्यस सिलसिलामा सर्वप्रथम यो उपन्यासको आवरण चित्र बनाइदिनु हुने वरिष्ठ कलाकार रतनकुमार राईप्रति आभार प्रकट गर्न चाहन्छु । उहाँले उपन्यासको सम्पूर्ण पाण्डुलिपि पढेर त्यसको आत्मा र सौन्दर्यलाई आवरण चित्रमा उतार्नुभएको छ । डा. सुकुम शर्माले तीन/तीन पल्ट उपन्यासको प्रुफ रिडिङ पढेर धेरै नै मदत गर्नुभएको छ । रामप्रकाश पुरीले पनि पुस्तकको सम्पादन गर्न र शुद्धाशुद्धि पढ्नसमेत धेरै मदत गर्नुभएको छ । त्यो उपन्यास तयार पार्ने कार्यमा डा. गोविन्दप्रसाद आचार्यले पनि विभिन्न प्रकारले धेरै मदत पुर्याउनु भएको छ । उहाँ दृष्टिविहीन भए पनि उहाँले त्यो उपन्यासलाई सम्पूर्ण रूपमा पठन गरेर जुन सल्लाह र सुझाव दिने गर्नुभयो, त्यसबाट मलाई धेरै मदत पुगेको छ ।
१४) त्यो उपन्यास टाइप गर्ने कार्यमा प्रारम्भमा बहिनी गायत्री पौडेलले धेरै नै सहयोग गरेकी थिइन् । खास गरेर मेरा नबुझिने अक्षर पढेर उनले उपन्यास टाइप गर्ने कार्यमा धेरै मदत गरेकी थिइन् । पछि गोविन्द शर्माले उपन्यासको टाइपको कामलाई अगाडि बढाउने र पूरा गर्ने कार्य गरे । त्यो उपन्यासको टाइप गर्ने काममा उनले लामो समयदेखि निरन्तर कडा मिहिनेत गर्दै आएका छन् । मेरा नबुझिने अक्षर बुझ्नु पनि सामान्य कुरा थिएन । प्रत्येक म्याटरलाई कैयौँ पल्ट दोहोर्याएर टाइप गर्नुपर्दथ्यो वा कैयौँ पल्ट प्रुफ रिडिङलाई सच्याउनुपर्दथ्यो । उपन्यासका कैयौँ परिच्छेदमा बारम्बार थपघट वा परिवर्तन भइरहन्थ्यो । ती सबै काम उनले धैर्यतापूर्वक गरिरहे । ती सबै कामको लागि गायत्री र गोविन्द दुवैलाई धेरै धन्यवाद दिन चाहन्छु ।
१५) गत केही वर्षदेखि मेरा आँखा कमजोर भएर मैले अक्षर राम्ररी पढ्न वा लेख्न नसक्ने समस्या पैदा भयो । त्यो अवस्थामा मैले आफ्ना कैयौँ सहयोगी साथीद्वारा नै उपन्यास लेख्ने वा पढ्न पठाएर प्रुफ रिडिङ गर्ने काम गर्नुपर्यो । त्यो काममा सुवास जिसी, बासुदेव पोखरेल, प्रकाश जिसी, मिलनसिंह ठकुरी र सगर सुवेदीसमेतबाट मलाई धेरै सहयोग प्राप्त भएको छ । ती सबैलाई पनि मैले धेरै धन्यवाद दिन चाहान्छु ।
१६) माथि जुन व्यक्तिको चर्चा गरियो, उहाँहरूको सहयोग उपन्यासको आन्तरिक तयारीसित नै सम्बन्धित रह्यो । त्योबाहेक बाह्य रूपले त्यो उपन्यासको तयारीमा सहयोग गर्ने मान्छेको लामो सूची छ । ती सबैको नामको उल्लेख गर्नु सम्भव छैन तैपनि यहाँ मैले केही मान्छेको नामको अवश्य पनि उल्लेख गर्न चाहन्छु । उपन्यासको तयारीमा दुर्गा पौडेलको सहयोग विशेष रूपले उल्लेखनीय छ । नेपाल र कुमाउँ, गढवालका कतिपय स्थान वा युरोपका पनि कतिपय देशमा मसँगै गएर उनले उपन्यासका लागि सामग्रीको सङ्कलन, स्थलगत अध्ययन वा जनसम्पर्कको काममा धेरै मदत गरेकी थिइन् । अहिले उपन्यासको प्रकाशनमा पनि उनको सहयोग धेरै महत्त्वपूर्ण रहेको छ । उनको मदत बिना यो पुस्तक प्रकाशन गर्न धेरै नै मुस्किल पर्ने थियो । घरभित्र पनि उनको धेरै नै महत्त्वपूर्ण सहयोग रह्यो । घरभित्रका दैनिक कार्यसहित घरव्यवहारसम्बन्धी सबै कामबाट उनले मलाई पूरै फुर्सद दिने गरिन् । मेरो स्वास्थ्य, खानपिनमा समेत उनले मेरो सधैँ ध्यान राखिरहिन् । त्यसले गर्दा मलार्ई उपन्यास, अन्य लेखपढ वा पार्टीसम्बन्धी काममा पूरा समय दिन अवसर प्राप्त भयो तैपनि मैले उनलाई कुनै धन्यवाद दिनुपर्ने आवश्यकता ठान्दिनँ ।
१७) उपन्यासको काममा अन्य साथी वा इष्टमित्रबाट पनि धेरै सहयोग प्राप्त भएको छ । थवाङमा बर्मन बुढा र उहाँकी बहिनी तुलकुमारी बुढा, थवाङको यात्रामा थवाङमा सामग्री सङ्कलन गर्न वा स्थलगत भ्रमण गर्न जाँदा शशिधर भण्डारी, मेघनाथ विष्ट, सुवर्ण पौडेल, तिलक जिसी, गोपाल नेपाली, फ्रान्सका शोधकर्ता बेनोइट केलमेल, लुम्बिनी र तिलौराकोटसमेतको बौद्ध स्थान वा बौद्ध सभ्यताको अध्ययनमा डा. गीतु गिरी र बद्रे आलम, मगर जातिको इतिहासको अध्ययनमा भोजविक्रम बुढामगरसमेत, थारू जातिको इतिहासको अध्ययनमा रश्मिराज नेपाली र शिव पौडेल, खसजातिको इतिहासको अध्ययनमा बालकृष्ण पोखरेल, प्युठानका विभिन्न स्थानको अध्ययनमा खगुलाल गुरुङ, रणबहादुर खड्का, ठाकुर गिरी, भेषमान गिरी, टीका जिसी, तिलक जिसी, फ्रान्सको अध्ययनमा डा. बेनोइट केलमेल, कर्णाली र सुदूरपश्चिमको अध्ययनमा मनोज भट्ट र प्रेम कैदी, कुमाउँ र गढवालको अध्ययनमा सुन्दरलाल बहुगुणा, बिमला बहुगुणा, मालतीदेवी र कौसानी आश्रमका शिक्षक र छात्रा, रुसको अध्ययनमा रुसका तत्कालीन नेपाली राजदूत रविमोहन कोपिला, जीवा लामिछाने, कृष्णप्रकाश श्रेष्ठ आदि, जर्मनीमा थोमस, गाबी तथा एमएलपिडीका साथी, युनानमा शेखर र अन्य कतिपय साथी आदिको महत्त्वपूर्ण सहयोग रहेको छ । मैले उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।
१८) उक्त उपन्यास तयार पार्न नेपालको काठमाडौँ उपत्यकाको स्वयम्भुनाथ, पशुपतिनाथ, अष्टमातृका, पाल्पाको रामापिथेकसको बङ्गराको अवशेष, नवलपुर र दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यता, लुम्बिनी र कपिलवस्तुको बौद्ध सभ्यता, कर्णाली प्रदेश र सुदूरपश्चिमको इतिहास र संस्कृति, थारू, मगर र खसको इतिहास, गण्डकीको गुरुङ जातिको परिचय, कर्णाली प्रदेशको मध्यकालीन इतिहास, मष्ट, मतवाली क्षेत्री र देउकी प्रथा, कुमाउ र गढवालको इतिहास, संस्कृति र जनजीवन, फ्रान्सको इतिहास र राजतन्त्र विरोधी आन्दोलन, त्यहाँको कला र संस्कृति, जर्मनीको इतिहास, फासिज्म र फासिवाद विरोधी आन्दोलन, फासिवादका विरुद्ध जर्मन जनताको वीरतापूर्ण सङ्घर्ष, रुसमा खास गरेर स्टालिनग्राद र लेनिनग्रादमा हिटलरको आक्रमणको विरुद्ध प्रतिरोधात्मक युद्ध र समाजवादको पतन, युनानको प्राचीन दर्शन, सौर्य जगत्, तारामण्डल र सुदूर अन्तरिक्ष, हिमाल र संसारका सबै महासागर र महाद्वीप आदिसम्बन्धी पुस्तक, पत्रिका, गजेटिएर, इन्टरनेट, विश्वकोश आदिको अध्ययनबाट पनि यो उपन्यास तयार पार्न धेरै मदत पुगेको छ । ती सबै पुस्तक, पत्रिका वा तिनीहरूका लेखक वा सम्पादकको नामको सूची धेरै नै लामो छ र ती सबैको उल्लेख गर्नु सम्भव छैन तैपनि मैले ती सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
१९) प्रस्तुत उपन्यासमा करिब ५०० पात्र छन् । तिनीहरूमध्ये केही वास्तविक पात्र पनि छन्, जसमध्ये निर्मल लामा, जयगोविन्द साह, चित्रबहादुर केसी, रश्मिराज नेपाली, लैनसिङ बाङ्देल, पारिजात, सत्यमोहन जोशी, बालकृष्ण पोख्रेल, खगुलाल गुरुङ, भक्तपुरका लीलाभक्त मुनकर्मीलगायत हुनुहन्छ । त्यस्तै, अल्मोडाको लक्ष्मी आश्रमकी सरला बहन, कुमाउँका सुन्दरलाल बहुगुणा, मालती देवी, गढवालका चन्द्रसिंह गढवाली, तौलिहवा कुश्माका हर्के र हमाने, भैरहवाका बद्रे आलम, सङ्गीतकार जीवन शर्मा, ओखरकोट पिपलटारीकी साहिली भाउजू, ओखरकोट काब्रारुखे साइली आमा, ओखरकोटका जुठे विक, थबाङका बर्मन बुढा, बागलुङका चन्द्र नरसिंह आदिको पनि चर्चा गरिएको छ । उपन्यासमा जलजलाको बुबा वेदप्रसाद ढकाल, आमा प्रभा (ललितादेवी ढकाल) र बहिनी कान्ताको पनि उपन्यासमा वास्तविक पात्रको रूपमा उल्लेख गरिएको छ । यो उपन्यासको काल अवधि करिब २०३२ देखि २०४१ सम्मको करिब एक दशकको अवधि नै रहेको छ । यो उपन्यासमा वास्तविक पात्रको चित्रण गर्दा त्यही कालसित सम्बन्धित पात्रलाई नै चित्रण गरिएको छ । त्यसरी उपन्यासलाई बढीभन्दा बढी वास्तविक धरातलमा स्थापित गर्ने प्रयत्न गरिएको छ ।
२०) यो उपन्यासको प्रकाशन जन शिक्षा गृहले गर्दै छ । जनशिक्षा गृहको २०१३ सालमा प्युठानको ओखरकोटमा स्थापना गरिएको थियो र त्यसले गत करिब ७ दशकको अवधिमा धेरै पुस्तकपुस्तिकाको प्रकाशन गरिसकेको छ । अहिले त्यो सस्थाको काठमाडौँमा दर्ता भएको छ र त्यसको दर्ता भएपछि त्यसले प्रकाशन गर्न थालेको ‘कामरेड जलजला’ उपन्यास त्यसको पहिलो प्रकाशन हो ।
२१) ‘कामरेड जलजला’ उपन्यासको प्राडा हरि शर्माले अङ्ग्रेजीमा अनुवाद गरिरहनुभएको छ । उहाँले त्यो उपन्यासका आठ भागमध्ये सात भागको अनुवाद पूरा गरिसक्नुभएको छ । अहिले आठौँ भागको अनुवाद गर्दै हुनुहुन्छ । यो उपन्यासलाई हिन्दीमा पनि अनुवाद गर्नका लागि प्रयत्न भइरहेको छ र यो उपन्यासको प्रकाशनपछि छिट्टै हिन्दीमा पनि अनुवादको सुरु गर्ने हाम्रो योजना छ ।
अन्त्यमा, यो उपन्यासको विमोचन गर्न आउनुभएकी का. जलजलाकी वयोवृद्ध आमा ललितादेवी (प्रभा) र यो विमोचन कार्यक्रमको अध्यक्षता गरिरहनु भएका का. चित्रबहादुर केसीसहित यो विमोचन कार्यक्रममा उपस्थित हुनु भएका सबै अतिथि र सहभागीप्रति आभार प्रकट गर्न चाहन्छु ।
(२०८१ मङ्सिर १५ गते शनिबार सम्पन्न विमोचन कार्यक्रममा प्रस्तुत लिखित मन्तव्य)