
- मोहनविक्रम सिंह
ने.क.पा.(मसाल)ले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि अहिले देशमा प्रतिगमतको खतरा ०१७ सालमा वा ०५९ सालमा भन्दा बढी गम्भीर भएको छ । किनभने अहिले नेपालका राजावादीहरूलाई भारतका कट्टरवादी हिन्दु शासकवर्गको समर्थन प्राप्त छ । अहिले राजावादीहरूले राजा आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्दछन् । तर वास्तविकता यो हो कि अहिले पूर्व राजा भारतीय साम्राज्यवादको हातमा खेलेको र उनीहरुको मद्दतमा नै सत्ता प्राप्त गर्न खोजेको कुरा दिनको उजेलो झै छर्लङ्ग छ ।
फागुन २५ गते पोखराबाट काठमाडौँ आउँदा राजावादीहरूले गरेको उनको स्वागतमा पूर्वराजाका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोको समेत प्रदर्शन गरेको कुराबाट अहिले उनीहरुमा आदित्यनाथको बलमा नै जोश पलाएको कुरामा कुनै शङ्का रहन्न । अहिले कतिपय राजावादीहरुले त्यो फोटो कसैको षडयन्त्र वा संयोगवश मात्र राखिएको भनेर बचाउ गर्दैछन् । तर यो कुनै संयोगको कुरा होइन कि आदित्यनाथले पहिलेदेखि नै राजा र हिन्दु राज्यको कुरा गर्दै आएका थिए र पूर्व राजाले गोरखपुर गएर उनीसित भेट समेत गरेका थिए ।
यो पनि कसैको षडयन्त्र वा संयोगको कुरा थिएन कि गोरखपुरमा आदित्यनाथसित भेट भएपछि नै उनले फागुन ७ गते पोखरामा ‘साथ’ दिनका लागि जनतालाई आव्हान गरेका थिए । यो कुरा बुझ्न गाह्रो पर्दैन कि उनले जेठमा निरङ्कुश राजतन्त्र ल्याउन र धर्मनिरपेक्षता समाप्त गर्न नै जनताको ‘साथ’ खोजेका हुन् । आदित्यनाथको फोटोको कुरा जेसुकै होस् तर उनको आड पाएर नै पूर्वराजा र राजावादीहरूले गण्तन्त्र र धर्मनिरपेक्षताका विरुद्ध “निर्णयात्मक” आन्दोलन गर्न खोजेको कुरा स्पष्ट छ ।
हाम्रो पार्टीले प्रतिगमनको यस प्रकारको खतरालाई हल्का रूपमा लिने गरेको छैन र प्रतिगमनको खतराको गम्भीर्यतामाथि ध्यान दि“दै प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूका बिचमा गठबन्धनको लागि पहिलेदेखि नै जोड दिँदै आएको छ । तर गणतन्त्र पक्षधर शक्तिहरूका बिचका कतिपय गलत प्रकारका नीति वा क्रियाकलापका कारणले त्यस प्रकारको गठबन्धनमा बारम्बार बाधा पुग्दै आएको छ र त्यसबाट राजावादीहरूलाई बल पुग्ने गरेको छ ।
०४६ साल वा ०६२–६३ सालमा पनि प्रतिगमनविरोधी शक्तिहरूका बिचको गठबन्धनका बलमा नै प्रतिगमनको पराजयभएको थियो । त्यही प्रकारको गठबन्धनको कारणले नै देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र र धर्मनिरपेक्षताको स्थापना भएको थियो । तर विभिन्न ऐतिहासिक सन्दर्भमा कार्यगत एकता गरेका राजनीतिक शक्तिहरूले अपनाएका गलत नीतिहरूका कारणले त्यस प्रकारको एकता भङ्ग हुने र प्रतिगमनले बारम्बार एक वा अर्को प्रकारले टाउको उठाउने मौका पाउँदै आएको छ ।
०४६ सालपछि पनि राजावादीहरूको सक्रियता बढ्न थालेको कुरामाथि ध्यान दिँदै हामीले त्यसका विरुद्ध सतर्क हुनुपर्ने आवश्यकतामा जोड दिएका थियौँ । तर उनीहरूले हाम्रो त्यो सोचाइलाई हल्का रूपमा लिएका थिए। का. मोहन वैद्यले ता एउटा पुस्तिकामा यो सम्म लेखेका थिए : ‘सातकोस टाढा फलामको पिँजडामा थुनिएको बाघबाट किन तर्सने(भावार्थ) ?’
पछि ओलीले पनि प्रतिगामी र अधिनायकवादी नीति अपनाउँदै गए । उनको अधिनायकवादी शैलीका कारणले नै त्यो बेलाको नेकपा फुटेको थियो । पछि उनले दुई–दुईपल्ट संसदलाई विघटन गरेर देशलाई प्रतिगमनतिर लैजाने कोशिस गरे । उनले चुनावमा राप्रपा समेतसित गठबन्धन गरेर संसदमा प्रतिगमनलाई बलियो रूपमा स्थापित गर्न मदत पु¥याएका थिए । अहिले संसदभित्र राजावादीहरूको राजाको पुनस्र्थापनाको पक्षमा जुन चर्काे आवाज सुनिन्छ, त्यसका पछाडि ओलीको पनि महत्वपूर्ण ‘योगदान’ रहेको छ ।
नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउन ने.का.को पनि महत्वपूर्ण भूमिका रहेको छ । तर त्यसभित्र राजतन्त्र पक्षीय र धर्मनिरपेक्षता विरोधी पक्षको पनि बलियो उपस्थिति भएको कुनै लुकेको कुरा होइन । त्यसभित्र कुनै पनि प्रकारको गठबन्धन गर्ने पक्ष पनि बलियो छ । त्यसबाट प्रतिगमनका विरुद्धको गठबन्धनमा बारम्बार बाधा पुग्ने गरेको छ ।
प्रचण्डको पदलोलुप र सिद्धान्तहीन भूमिकाका कारणले पनि खास गरेर प्रधानमन्त्री पदका लागि जुनसुकै बेला पनि गठबन्धनको हेराफेरी गर्न तयार हुने प्रवृत्तिले पनि प्रतिगमनविरोधी गठबन्धनमा बारम्बार टुटफुट हुने गरेको छ । कतिपय वामपन्थी शक्तिहरूले अपनाएका प्रतिगमनप्रतिका सम्झौतापरस्त र गणतन्त्रविरोधी नीतिबाट पनि प्रतिगमनलाई मद्दत पुग्ने गरेको छ ।
वामपन्थीहरू मध्ये देशमा विद्यमान गणतन्त्रको विरोध गर्ने प्रश्नमा का. वैद्य अग्रिम पङ्क्तिमा छन र त्यसैले उनले गणतन्त्रका विरुद्धको राजावादीहरूको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने काम गरेका छन् । उनले देशमा प्रतिगमनको खतरा गम्भीर भएको कुरालाई स्वीकार गर्दैनन् र राजावादीहरूप्रति उनले सम्झौतापरस्त दृष्टिकोण अपनाउँछन् । उनको त्यस प्रकारको दृष्टिकोणका कारणले नै वामपन्थीहरूको बिचमा लामो समयदेखि हुँदै आएको संयुक्त आन्दोलनको कडी टुट्न गएको छ । यो कुरालाई स्पष्ट शब्दमा राख्नुपर्दा, उनले वामपन्थीहरूको संयुक्त आन्दोलनमा राजावादीहरूलाई पनि सामेल गर्न जोड दिने नीतिका कारणले नै वामपन्थीहरूका बिचको संयुक्त आन्दोलन कमजोर मात्र होइन, एक प्रकारले टुट्न गएको छ भने पनि हुन्छ ।
वैद्यको त्यही प्रकारको नीतिको असरमा परेर हाम्रो पार्टीको एउटा फुटपरस्त पक्ष हामीबाट अलग भएर गएको थियो र पछि वैद्यजीको समूहमा नै त्यसको विलय भएको थियो । आफ्ना पहिलेका राजनीतिक अडानहरूमा त्यसले जसरी आत्मसमर्पण गरेको छ, त्यसबाट त्यसको विलय भएको भन्नु नै उचित हुनेछ । ने.क.पा. (माले) पनि घोषित रूपले नै धर्मनिरपेक्षता विरुद्ध उभिएको छ ।
उपर्युक्त कतिपय कारणहरूले, राजावादीहरूलाई भारतको कट्टर हिन्दुवादी शासकवर्गको समर्थन, एमालेको अधिनायकवादी र प्रतिगामी नीति, माओवादीको बारम्बारको गठबन्धनको हेराफेरीको सिद्धान्तहीन र अवसरवादी नीति, ने.का. भित्रको राजतन्त्रको पुनस्र्थापना र धर्मनिरपेक्षताको विरोध तथा गठबन्धनलाई अस्वीकार गर्ने पक्षको बलियो उपस्थिति, कतिपय वामपन्थी पक्षहरूको राजा वा प्रतिगमनप्रतिको सम्झौतापरस्त र गणतन्त्रविरोधी नीति समेतका कारणले नेपालमा प्रतिगमनलाई बल पुग्ने गरेको छ ।
देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र पक्षधर राजनीतिक पार्टीहरूका जनविरोधी, भ्रष्ट र कुशासन सम्बन्धी नीति र क्रियाकलापहरूका कारणले जनतामा पैदा भएको असन्तोषबाट पनि राजावादीहरूलाई बल पुग्ने गरेको छ । यी सबै कारणले देशमा प्रतिगमनको खतरा धेरै नै गम्भीर बनेको छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।
उपर्युक्त प्रकारको स्थितिमा हामीले, प्रथम, बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा भएका राजनीतिक शक्तिहरूसित आफ्ना गत कालका गलत नीति र क्रियाकलापहरूमा सुधार गरेर प्रतिगमनका विरुद्ध बलियो गठबन्धन बनाउनुपर्ने र, द्वितीय, प्रतिगमनका साथै सरकारका सबै जनविरोधी, कुशासन र भ्रष्ट नीतिहरूका विरुद्ध पनि आवाज उठाउनुपर्ने र सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसरी हामीले प्रतिगमनलाई रोक्न सक्ने छौँ र सक्नु पनि पर्दछ ।