आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ? : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रश्न गर्नुभएको छ– आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ?

२०८२ वैशाख १२ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा मन्तव्य राख्दै अध्यक्ष केसीले सो प्रश्न गर्नुभएको हो ।

‘आफूलाई चाहिने पाँचओटा अध्यादेशहरू त विधेयक बनाएर तपाईंहरूले पास गर्नुभयो नि’ उहाँले अगाडि भन्नुभयो– ‘त्यति बेला तपाईंहरूले शिक्षा विधेयक किन रोकेको ?’

मन्तव्यको क्रममा उहाँले शिक्षकले लोकतन्त्र, गणतन्त्रका लागि राजनीतिक दलहरूलाई साथ दिएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘शिक्षकहरूले लोकतन्त्र, गणतन्त्र ल्याउन हामीलाई साथ दिएका हुन् ।’

अध्यक्ष केसीले आफू पनि शिक्षक भएर लोकतन्त्र, गणतन्त्रका लागि काम गरेको बताउनुभयो ।

सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको चरित्रको उहाँले आलोचना गर्नुभयो ।

‘तीन चोटी त तपाईंहरूले शिक्षकसित सम्झौता गर्नुभएको छ’ सांसद केसीले भन्नुभयो– ‘आन्दोलनकारीसित सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने । यस्तो भयो भने जनताले मान्छन् ?’

उहाँले सत्तालाई अप्ठ्यारो पर्दा सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने तरिका २०४६ सालदेखि नै चल्दै आएको बताउनुभयो ।

लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताबारे
मन्तव्यको क्रममा यतिखेर जनताले लडेर ल्याएको लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भइरहेको जिकिर गर्नुभयो ।

‘हामीले जसरी लोकतन्त्र, गणतन्त्रलाई नेपालमा स्थापना गरेका थियौँ, त्यसमाथि चौतर्फी हमला भइरहेको छ’ उहाँले भन्नुभयो– ‘सत्ताधारी साथीहरूकै कारण यस्तो भइरहेको छ भन्छु म ।’

२०४६ सालको जनआन्दोलन दमन गर्न दोषी ठहरिएकामाथि कारबाही नभएको बरु उनीहरूको प्रमोसन भएको स्मरण गर्दै उहाँले २०६२–६३ सालको जनआन्दोलन दबाउने दोषीमाथि पनि त्यही रवैया अपनाइएको बताउनुभयो ।

लोकतन्त्र, गणतन्त्रका लागि लडेकाहरूको भ्रष्ट चरित्रका कारण यो अवस्था आएको उहाँको भनाइ थियो ।

‘भ्रष्टाचारले सीमा नाघेको छ तर उनीहरूलाई सत्तापक्षबाट संरक्षण हुन्छ अनि जनताले कसरी मान्छन् तपाईंहरूलाई ?’ अध्यक्ष केसीले प्रश्न थियो ।

उहाँले विभिन्न मतभेदका बाबजुद लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीबिच जतिसुकै मतभेद भए पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउने कुरामा हामी एक ठाउँमा हुनुपर्दछ ।’

बजेटको बारेमा
चालु अधिवेशन बजेट अधिवेशन भएको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘बजेटमा सबैको बराबर वितरण हुनुपर्दछ ।’

अध्यक्ष केसीले त्यसो नभएकोमा सरकारको आलोचना गर्नुभयो ।

‘भान्सेले ठुलो रकम आफ्नो क्षेत्रमा लैजाने, जसको तागत छैन, उसले हेरेको हेऱ्यै गर्ने भयो भने त्यो पनि राम्रो हुन्न’ उहाँले भन्नुभयो– ‘यस्ता कुरा कति भन्नु ? कति चोटी घोच्नु ?’

सङ्घीयताको खारेजी
मन्तव्यको अन्ततिर अध्यक्ष केसीले सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘तपाईंहरूले सङ्घीयता आएपछि त देश स्विटजरल्यान्ड हुन्छ भन्नुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘सङ्घीयताअन्तर्गत महोत्तरीमा मैले देखेँ, त्यहाँ बासको पुल तर्न पनि पैसा तिर्नुपर्ने रहेछ । यस्तै हो सङ्घीयता ?’

उहाँले सङ्घीय प्रदेश देशले धान्न नसक्ने हुँदा खारेजीमा जोड दिनुभयो ।

‘हाम्रो देशले प्रदेश धान्नै सक्दैन’ उहाँले भन्नुभयो– ‘मेरो आग्रह छ, लाजघिन नमानीकन संविधान संशोधन गरेर सङ्घीयता हटाउनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार