
जयपुर । भारतको राजस्थान राज्य सरकारको जागिरबाट अवकाश प्राप्त गरी नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई अब पेन्सनको लागि राजस्थान आउनुनपर्ने भएको छ । अब उनीहरू नेपालबाटै पेन्सन प्राप्त गर्न सक्नेछन् ।
राजस्थान सरकारको पेन्सन एवं पेन्सनर्स वेलफेयर विभागले अप्रिल २८, २०२५ का दिन एक सर्कुलर जारी गर्दै यस्तो सुविधा प्रदान गरेको हो ।
विभागका निर्देशक डा. देवराजद्वारा हस्ताक्षरित उक्त सर्कुलरमा राजस्थान सरकारका नेपाली पेन्सनरले आफ्नो पहिलो पेन्सन तथा ग्रेच्युटीको रकम आफूले स्यालरी प्राप्त गर्दै आइरहेको बैङ्क खातामा नै पाउनेछन् भने त्यसपछि आफ्नो पेन्सन नेपालमै प्राप्त गर्नका लागि उनीहरूले सम्बन्धित कोषाधिकारीमा आवेदन दिनुपर्नेछ । उक्त आवेदनलाई सम्बन्धित कोषाधिकारीले आफ्नो सम्बन्धित क्षेत्रीय कार्यालयमा महालेखाकारलाई पठाउनेछ । यसरी प्रक्रिया पूरा भएपछि ट्रेजरी अफिस इन्डियन एम्बेसी इन नेपालको माध्यमबाट नेपालमा पेन्सन सुविधा सुरु हुनेछ । यसका लागि राजस्थान सरकारको संयुक्त शासन सचिव वित्त विभागले पेन्सन एवम् पेन्सनर्स वेलफेयर विभागलाई पत्र लेखेको थियो ।
यस प्रकारको सुविधा प्राप्त गर्नका लागि आफूहरू गत १८ महिनादेखि लागिपरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय सदस्य नारायण ज्ञवालीले बताउनुभयो ।
उहाँले मूल प्रवाह जयपुर उत्तरका अध्यक्ष मङ्गलसिंह खड्काको संयोजकत्वमा विभिन्न ठाउँमा रहेका नेपालीलाई सामिल गराई राजस्थान नेपाल पेन्सनर समिति गठन गरेको र सोही समितिको माध्यमबाट आफूहरूले सङ्घर्ष गरेको जानकारी दिनुभयो ।
भारतका कतिपय राज्यबाट अवकाश प्राप्त गरी नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकले नेपालमै पेन्सन पाइरहेको हुँदा राजस्थान सरकारबाट अवकाश प्राप्त नेपाली कर्मचारीले पनि नेपालमै पेन्सन पाउनुपर्ने व्यवस्थाको लागि राजस्थानका विभिन्न निकायमा बारम्बार भेटघाट, छलफल तथा बैठकको माध्यमबाट दबाब दिइएको थियो । यसमा समितिका विभिन्न सदस्य तथा आम नेपाली नागरिकको पनि सहयोग रहेको थियो । यसै क्रममा पेन्सनसित सम्बन्धित विभिन्न सामग्री विभिन्न ठाउँबाट सङ्कलन गरी सरकारलाई बुझाइएको थियो ।
‘राजस्थान सरकारको यो फैसलाबाट राजस्थानमा बसोबास गरिरहेका आम नेपालीमा खुसीको लहर छाएको छ’ ज्ञवालीले भन्नुभयो–’यसबाट एकतामा ठुलो शक्ति हुँदो रहेछ भन्ने कुराको पनि महसुस नेपालीले गरेका छन् ।’