प्रिसा आत्महत्या सामान्य नभएको राजमोको निष्कर्ष

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको कलिङ्गा युनिभर्सिटीमा बी.टेक. दोस्रो सेमेस्टरमा अध्ययतरत पर्साकी छात्रा प्रिसा साहको आत्महत्या सामान्य नभएको बताएको छ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ वैशाख १९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

प्रेसवक्तव्यमा २०८१ फागुन ४ गतेको रुपन्देही प्रकृति लम्सालको प्रसङ्ग जोड्दै किट युनिभर्सिटीमा कुनै गिरोहले नेपाली छात्रामाथि लगातार प्रताडना दिने गरेकाले सो विश्वविद्यालयमा नै समस्या रहेको बताइएको छ ।

प्रिसा प्रकरणमा भारत सरकार, उडिसा राज्य सरकार र किट युनिभर्सिटीसमक्ष यो विषय उठाउनुपर्ने आवश्यकतामा जोड दिँदै वक्तव्यमा यसबारे जनता, राजनीतिक पार्टी र सांसदको समेत ध्यान जानुपर्ने आवश्यकतमा जोड दिइएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“भारतको उडियास्थित कलिङ्गा विश्वविद्यालयमा अध्ययनरत एक जना अर्की छात्रा वीरगञ्जकी प्रिसा साहले आत्महत्या गरेको घटनालाई राष्ट्रिय जनमोर्चाले अत्यन्त गम्भीर रूपमा लिन्छ । त्यही विश्वविद्यालयमा नै केही महिनापहिले भैरहवाकी प्रकृति लम्सालले आत्महत्या गरेको समाचार आएको थियो । यो दोहोरो आत्महत्याको घटनाले बताउँछ कि त्यो विश्वविद्यालयमा नै गम्भीर समस्या छ र कुनै गिरोहले नेपाली छात्रामाथि लगातार प्रताडना दिने गरेको छ ।

पहिले पनि यो समाचार आएको थियो कि प्रकृति लम्सालले आफूमाथि भएको दुर्व्यवहारबारे बारम्बार उजुरी गर्दा पनि विश्वविद्यालय प्रशासनले ध्यान दिएको थिएन र उनी आत्महत्या गर्न बाध्य भएकी थिइन् । यो अनुमान गर्न गाह्रो पर्दैन कि त्यही प्रकारको स्थितिमा नै प्रिसा साह पनि आत्महत्या गर्न बाध्य भएकी थिइन् ।

प्रकृति लम्सालसमेतको घटनामाथि विचार गर्दा प्रिन्सा साहको आत्महत्या पनि सामान्य नभएको कुरा दाबीपूर्वक भन्न सकिन्छ । प्रकृति लम्सालको घटनासित त्यहाँका उच्च नेता वा उच्चाधिकारीका छोराहरू संलग्न भएको र उनीहरूको दबाबका कारणले नै उनीमाथि भएको दुर्व्यवहारबारे कारबाही नगरेको मात्र होइन, विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन र निष्काशनसमेत गरेको थियो । प्रिसा साहको घटना पनि प्रकृति लम्साल घटनाको पुनरावृत्ति वा निरन्तरता भएको कुरा प्रष्ट छ । त्यसैले राष्ट्रिय जनमोर्चाले त्यो घटनाबारे कडा रुख अपनाउन तथा त्यसबारे भारत सरकार, उडिसाको राज्य सरकार तथा कलिङ्गा विश्वविद्यालयको प्रशासनसितसमेत त्यो मुद्दालाई गम्भीर रूपले उठाउन माग गर्दछ ।

प्रिसा साहको घटना एउटा सामान्य आत्महत्याको घटना मात्र होइन, त्यसकारण त्यसप्रति हाम्रो पार्टीले सम्पूर्ण न्यायपूर्ण जनता, राजनीतिक पार्टी र सांसदको पनि त्यसप्रति ध्यान आकर्षण गर्न चाहन्छौँ । हाम्रो पार्टीले उक्त घटनाबारे छानबिन गरेर त्यो घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कडा कारबाही गर्न तथा विश्वविद्यालयको प्रशासनले प्रकृति लम्सालको सन्दर्भमा जस्तो अन्यायपूर्ण र पक्षपातपूर्ण व्यवहार नगरोस्—त्यसबारे विशेष जोड दिन चाहन्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार