दाङ । दाङ जिल्लाको एक मात्र पहाडी स्थानीय निकाय बङगलाचुली गाउँपालिका हो । जहाँको जीवनशैली जिल्लाका अन्य पालिकाको तुलनामा कस्टपुर्ण रहेको छ । पालिका प्राकृतिक हिसाबले धेरै सम्पन्न छ, तर जनताको जीवनशैली धेरै कमजोर छ ।
त्यहाँको चुनढुङ्गाबाट धेरै पुँजिपतिहरुले सम्पत्ती आर्जन गरेका छन् । त्यहाँको श्रोतबाट आएको आम्दानीबाट भारतको दिल्ली र मुम्बईमा ठुलाठुला महल बनेका छन् । तर आफ्नै आगनको श्रोत प्रयोग गर्नु त कता हो कता उल्टै गाउँ र गाउँका बाटोमा धुलो र हिलोले जनजिबनलाई झनै कस्टपुर्ण बनाएको छ ।
पानी नपर्दा बाटोमा यात्रा गर्ने मोटरसाइकल यात्री वा पैदल यात्रीहरु धुलोले गर्दा सहज यात्रा गर्न सक्दैनन् भने पानी पर्दा हिलोका कारण अत्यन्तै दुःखद अबस्था छ । सिमेन्ट उद्योगका ठुलाठुला टिप्परहरुका कारण बाटो अस्तब्यस्त भएको छ । यात्रीहरु सहज रुपमा गन्तब्यमा पुग्न सक्दैनन् ।
सिमेन्ट उद्योगले अनुमती लिंदा गरेका सम्झौताहरु कार्यान्वयन गरेका छैनन् । त्यहाँ चल्ने टिप्परले उडाउने धुलोका कारण त्यहाँका नागरिक रोगी बनेका छन् । पानीका मुहान सुक्दै गएका छन् । त्यहाँ काम गर्ने स्थानीय मजदुरहरुलाई सस्तो दरमा काममा लगाउने गरिएको छ ।
अहिले पनि निरन्तर नयाँ कम्पनीहरुलाई चुनढुङ्गा उत्खनन् गर्ने अनुमति दिइएको छ, तर पहिलेका सम्झौता कार्यान्वयन गराउने कुरामा स्थानीय सरकारको खास भुमिका देखिएको छैन । स्थानीय जनताका समस्यामा सरकारमा बस्नेहरु जनप्रतिनिधिहरुको ध्यान जान जरुरी छ ।










