वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमा भारत क्षेत्रीय समितिको आयोजनामा भलिवल पतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन महासचिव ठाकुर खनालले गर्नुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीहरुको हकहितको लागि नेपालीहरुलाई संगठित गर्नुका साथसाथै स्वस्थ मनोरञ्जनको लागि समय समयमा खेल तथा साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्दै आएको छ । खेलकुदले स्वस्थ मनोरञ्जनका साथसाथै शारीरिक तन्दुरुस्ती पनि प्रदान गर्दछ खनालले भन्नु भयो ।
‘यतिवेला हाम्रो संगठन आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक अभियानमा छ । क्षेत्रीय समितिले यो यो भलिवल प्रतियोगिता आयोजना गरेर प्रचारात्मक कार्यलाई अगाडि बढाएको छ ।’ खनालले भन्नु भयो – ‘भारतस्थित नेपालीहरुका समस्याको मूल जरो देशको सामाजिक आर्थिक राजनीतिक समस्यासँग जोडिएको हुँदा हामी सामाजिक कार्यको साथसाथै नेपालमा चल्ने लोकतान्त्रिक जनआन्दोलनमा सहभागि हुँदै देशको राजनीतिलाई नजिकबाट अंगाली सहयोग र समर्थन गर्ने गरेका छौं ।’
देशको राजनीतिक अवस्थाप्रति बोल्दै- ‘आज देशमा जनताको बलिदानीपूणर् संघर्षद्धारा स्थापित मूल्य मान्यता, संविधान, गणतन्त्र, धर्मनिरपेक्षता माथि आन्दोलन कै घटक मध्यबाट नै हमला गरि देशलाई प्रतिगमन तिर धकेल्ने काम भइरहेको छ ।’ महासचिव खनालले बताउनु भयो- ‘यो परिस्थितिमा जनआन्दोलनका उपलब्धिहरुलाई रक्षा गर्न जनआन्दोलनका घटक दलहरु जो प्रतिगमनको विरुद्धमा संघर्षरत छन्, उनीहरु बीच सहकार्य गरि अगाडि बढ्नु पर्ने आजको आवश्यकता हो ।’
एकातिर देशमा प्रतिगमनका विरुद्ध संघर्ष गर्नु परेको छ भने, अर्कोतिर राष्ट्रियता रक्षाको लागि संघर्ष गर्नु पर्ने आवश्यकता छ । देशमा भारतीय साम्राज्यवादले लिपुलेख, कालापानी लगायत मानेभञ्ज्यांग, सुस्ता माथि कब्जा जमाएर बसेको छ । लिपुलेखलाई नेपालको मानचित्रमा समावेश गर्ने अवसरमा देखिएको राष्ट्रिय एकता अहिले खण्डित अवस्थामा छ । भारतीय साम्राज्यवादी सेनाले नेपाली भूमिमाथि हेलिकप्टरले पटक पटक चक्कर लगाउँदा पनि वर्तमान सरकार मौन रहनु र अमेरिकी सैन्य रणनीति अन्तर्गतको एमसीसी सम्झौतालाई पास गर्न देखाइएको आतुरताले राष्ट्रियता संकटमा रहेको अवस्था जगजाहेर रहेको खनालको भनाई थियो ।
यसैलाई मध्य नजर राख्दै हामीले आठौं अखिल भारत सम्मेलन “गणतन्त्र, राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने नाराका साथ सम्पन्न गर्न गइरहेका छौं । यो सम्मेलनलाई सफल पार्न हामी भारतस्थित श्रमजिवी नेपालीहरुको कर्तव्य हुने खनालको भनाई थियो ।
कार्यक्रमको अध्यक्षता भूवन धामीले र सञ्चालन गणेश ओझाले गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई सुरेन्द्र रानाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सचिव वेद बहादुर कार्की, केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, रमकला काउछा, श्रीधर शर्मा, कृष्ण कुँवर, समाज सेवी पुनम गुरुङको आतित्थ्यता रहेको थियो । प्रतियोगितामा १४ टिमले भाग लिएका थिए ।