एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्दै आठ दल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै आज संसद भवन घेराउ हुने भएको छ । नेकपा (मसाल) सहितका ८ राजनीतिक दल तथा संगठनले माइतीघर मण्डलाबाट जुलुशसहित संसद भवन घेराउ गर्ने तयारी गरेका हुन् ।

यसअघि मंगलबार देशभर कोणसभा गरेका दलहरुले आज बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम गर्ने जनाएका छन् । बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई विरोध र्यालीसहित संसद् भवन पु्ग्ने कार्यक्रम छ।

विरोध सभालाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल र नेकपा (मसाल) का बागमती प्रदेश प्रवक्ता समीर सिंह लगायत विभिन्न दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमसीसीको विरोधमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चासहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले संयुक्त कार्यक्रम आयोजना गरेका हुन् ।

यसैबीच आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि अचानक स्थगन गरिएको छ। अब बैठक फागुन २ गते बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार