आज नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवश

काठमाडौं, ९ वैशाख । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ । कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गरिने एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यी कार्यक्रमहरु दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा हुने छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

जहानियाँ राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

२०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा बलियो छाप पारेका थिए । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको नेतृत्व गर्दै पटक–पटक सरकारको नेतृत्व समेत गरे । तर जनअपेक्षा अनुसारका काम हुन नसकेको गुनासो व्याप्त छ । गैरकम्युनिष्ट चरित्र भएको भन्दै नेताहरुसमेत आलोचित छन् ।

२०७४ सालमा नेकपा एमाले र माओवादी मिलेर चुनाव लड्नुका साथै लगत्तै पार्टी एकतासमेत भएको थियो । तर एकताको १८ महिनामै सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि यी दुई दल पुरानै अस्तित्वमा फर्किएका छन् । स्थापनाको सात दशकको इतिहासमा कम्युनिष्ट पार्टीहरु टुटफुट र विभाजनबाट गुज्रिंदै आएका छन् । एउटा पूर्वतः दक्षिणपन्थी र अर्को उग्रक्रान्तिकारी गतिविधि हुँदै दक्षिणपन्थी शंशोधनवादी बाटोमा पतन भइसकेका अवस्था छ ।

यसै बीच नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले अहिलेसम्म देशको कम्युनिष्ट आन्दोलनको मर्मलाई मर्नबाट बचाउँदै आइरहेको छ । का. मोहनविक्रम सिंह माथि विभिन्न प्रकारका आरोप लान्छनाहरु लगाएर हमला हुँदै आएता पनि सिंहको नेतृत्वमा ने.क.पा. (मसाल) अनवरत रुपमा नेकपाको मूल मर्मबाट डगमगाएको छैन । कम्युनिष्ट पार्टीका दार्शनिकहरु भन्छन् “क्रान्तिको मार्ग सरल रेखाबाट तय नभएर बक्ररेखाबाट नै तय हुन्छ । तर खास परिवेशमा सरल रेखाबाट पनि क्रान्तिको मार्ग चित्र तय हुन्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार