बुटवल । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विदेशीले दिएको अनुदानबाट देशको विकास नहुने बताउनुभएको छ ।
शनिबार बुटवलमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै नेता नेपालीले विदेशी अनुदानले विकास हुने भए देशमा खर्बौं रुपैयाँ आएको उल्लेख गर्दै त्यसले अहिलेसम्म कति विकास भयो भनी प्रश्न गर्नुभयो ।
कार्यकारी अध्यक्ष नेपाली भन्दा अगाडि बोलेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुदान भएको र देशको हितमा रहेको बताउनुभएको थियो । एमसीसीको पैसाले रुपन्देहीको पनि विकास हुने प्रधानमन्त्रीको आश्वासन थियो ।
सोही सन्दर्भमा नेपालीले भन्नुृभयो, ‘विदेशी अनुदानले देशको विकास हुने भए अहिलेसम्म देशमा खबौँ रुपैयाँ भित्रिएको छ । त्यसले कति विकास भयो ? बरु विदेशी अनुदानसँगै देशमा विदेशीको चलखेल बढ्छ, हस्तक्षेप बढ्छ ।’
नेता नेपालीले अहिलेको सन्दर्भमा प्रतिगमनलाई परास्त गर्न गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई भोट दिएर विजयी गराउन आह्वान गर्नुभयो । उहाँले गठबन्धनमा कतैबाट पनि धोका हुन नहुने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘बलदेव’ एकीकृत समाजवादी पार्टीकी सचिव एवम् सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।