काठमाडौं । राष्ट्रिय सभा सांसद तुलप्रसाद विक (राजेश) ले सीमा समस्याबारे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजानुपर्ने बताउनुभएको छ ।
बिहीबार सरकारको नीति तथा कार्यक्रममा भएको छलफलमा भाग लिँदै सांसद विकले भारतबाट भइरहेको अतिक्रमणबारे अन्तर्राष्ट्रिय अदालतमा कुरा उठाउनुपर्ने बताउनुभएको हो । नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुर भनिए पनि भनिएजस्तो नभएको बताउनु भयो ।
‘नेपाल भारतको सम्बन्ध सुमधुर छैन । लिपुलेक, सीमासुरक्षाका कुरा हाम्रो प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उठ्न सकेनन्, नीति तथा कार्यक्रममा पनि आएनन्’ उहाँले भन्नुभयो, ‘सीमाका बारेमा हामीले अन्तर्राष्ट्रिय अदालतमा उठाउन पहल गर्नुपर्छ ।’
राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरु समेटिएको उल्लेख गर्दै प्रदेश विघटन गरी त्यसको खर्च विकास निर्माणमा लगाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘धेरै पक्षहरु समेट्ने प्रयास गरेको छ । जनताको आकंक्षा र मनोभावनालाई बुझ्ने कोशिस गरेको छ । कतिपय कुराहरु छुट्न गएका छन् र कतिपय कुराहरु देश र जनताको चाहना विपरित् छन् । प्रादेशिक संरचना विघटन गरेर विकास निर्माणमा लगाऔँ ।’