आनन्द शर्मा ##
नेकपा (मसाल) हाम्रो देशको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । नेपाली जनताले सामन्तवाद, साम्राज्यवाद र सबै खाले अवसरवादका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएका छन् । नेकपा (मसाल) को राजनीतिक र सङ्गठनात्मक विकास पनि सामन्तवाद र साम्राज्यवाद विरुद्ध सङ्घर्षको क्रममा भएको हो । यस क्रममा नेकपा (मसाल) ले सबै खाले अवसरवाद र संशोधनवाद विरुद्ध सङ्घर्ष गर्दै आएको छ ।
स्वाभाविक रूपले देशको राजनीतिक परिस्थितिमा आउने बदलाव र त्यसको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर देशको राष्ट्रिय राजनीतिक आवश्यकताको आधारमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले राजनीतिक कार्यदिशा र कार्यनीति अवलम्बन गर्ने गर्दछ ।
सरकारप्रति समर्थनको नीतिबारे
नेपाली काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने पार्टीको जुन नीति छ, यो बेठिक छ; यसरी त राजमो सरकारी पार्टी भयो; सत्ताका लागि प्रतिकृयावादी शक्तिको पछि लाग्यो भन्ने धेरै मानिसलाई अहिले पनि लागिराखेको छ ।
अहिले देशमा नेपाली काङ्ग्रेस नेतृत्वको जुन सरकार छ, यो खास परिस्थितिको उपज हो । केपी शर्मा ओलीले पटक पटक जननिर्वाचित संसद् विघटन गरेपछि देशमा प्रतिगमनको खतरा उत्पन्न भयो । त्यसका विरुद्ध लोकतान्त्रिक शक्तिहरू मिलेर सङ्घर्ष गर्नुपर्ने परिस्थिति सिर्जना भयो । तत्कालीन ओली सरकार नेपाली जनताले लामो समयसम्म सङ्घर्ष गरेर पाएका उपलब्धिका विरुद्ध जान खोज्यो । भारतीय साम्राज्यवादको साथ–सहयोगमा उसले जनताका ती उपलब्धि गणतन्त्र, लोकतन्त्र, धर्म निरपेक्षता, समावेशितालाई कुल्चिने र यसरी मुलुकलाई पछाडि धकेल्ने प्रयास गर्यो ।
अहिले देशमा जुन लोकतान्त्रिक गणतन्त्र कायम छ, यसले जनताको आधारभूत हक, हित र अधिकार वा सम्पूर्ण शोषित–पीडित जनताको प्रतिनिधित्व गर्दैन भन्ने हामीलाई थाहा छ तर योभन्दा पश्चगामी व्यवस्था राजतन्त्र वा अझ निरङ्कुश राजनीतिक प्रणालीभन्दा यो प्रणाली अवश्य पनि एक कदम प्रगतिशील छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी यो प्रणालीलाई अत्य गरेर योभन्दा अझ अगाडि जानुपर्दछ भन्ने प्रष्टै छ । त्यो भनेको देशमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्नु हो तर अहिले नेपालमा यस्तो गणतन्त्र स्थापना गर्ने परिस्थिति बनिसकेको छैन । यो अवस्थामा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै त्यसमाथि टेकेर अझ अगाडि बढ्नु अर्थात् थप उपलब्धि हासिल गर्ने दिशातिर जानु सामान्य राजनीतिक आवश्यकता हो । त्यसका विपरीत तत्कालीन ओली सरकारले जननिर्वाचित संसद् विघटन गर्ने, संवैधानिक निकायमाथि प्रहार गर्ने, संविधानलाई कुल्चने, त्यसलाई च्यातचुत पार्ने जस्ता कार्यद्वारा देशलाई प्रतिगामी दिशातर्फ लैजाने काम ग¥यो । उसले भारतीय साम्राज्यवाद र देशभित्रका राजावादी तत्त्वको समर्थनमा नै ती कार्य गरेको थियो ।
त्यतिबेला त्यस प्रकारको प्रतिगामी कदमका विरुद्ध सङ्घर्ष गर्ने राजनीतिक आवश्यकता उत्पन्न भयो । त्यसो नगरेको भए जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने, फलस्वरूप देश अरू दशकौँ पछाडि धकेलिन सक्दथ्यो । त्यसो भएको खण्डमा अहिलेको परिस्थितिमा आइपुग्न नेपाली जनताले फेरि लामो बलिदानीपूर्ण सङ्घर्ष गर्नुपर्ने हुन सक्थ्यो । त्यस्तो सम्भावना देखा परिसकेपछि ओली सरकारले अवलम्बन गरेका ती नीति प्रतिगामी हुन्; त्यसलाई रोक्न सङ्घर्ष गर्नुपर्दछ भन्ने विन्दुमा जुन जुन राजनीतिक शक्ति सहमत भए, उनीहरूसँग कार्यगत एकता भयो । यसरी ओली सरकारको प्रतिगमनलाई रोक्न त्यसलाई हटाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी जस्ता पार्टीसँग तालमेल वा कार्यगत एकता भयो ।
प्रतिगमनलाई परास्त गर्न निर्णायक सशक्त आन्दोलनको आँधीबेहरी उठाउन आवश्यक भएकाले त्यस प्रकारको कार्यगत एकता वा गठबन्धन राष्ट्रिय आवश्यकता बन्न पुग्यो । त्यो गठबन्धन वा कार्यगत एकताको एक वाव अर्को रूपमा विरोध गर्दा वास्तवमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिगमनलाई नै मदत पुग्दथ्यो । त्यसकारण नेकपा (मसाल), राजमो जस्तो जिम्मेवार राजनीतिक पार्टी यस्तो राष्ट्रिय राजनीतिक आवश्यकताबाट विमुख हुन सक्दैनथे । त्यसैले नेकपा (मसाल), राष्ट्रिय जनमोर्चाले प्रतिगमन विरोधी संयुक्त आन्दोलन निर्माणका लागि पहल गर्यो ।
त्यस क्रममा पहिले छुट्टाछुट्टै आन्दोलन पनि हुने गरेका थिए तर यसरी छुट्टाछुट्टै गरिने आन्दोलनले प्रतिगमनलाई परास्त गर्न सकिँदैनथ्यो । संयुक्त र सशक्त आन्दोलनको माध्यमबाट मात्रै प्रतिगमनलाई रोक्न सकिन्थ्यो । राष्ट्रलाई पछाडि फर्काउने दुस्प्रयास भइरहेकोमा देशभित्रका लोकतान्त्रिक शक्तिको संयुक्त र सशक्त आन्दोलनबाट नै त्यसलाई रोक्न सकिन्थ्यो । त्यसका लागि संयुक्त आन्दोलन निर्माण गर्न ढिला गर्नुहुँदैन भनेर नेकपा (मसाल), राजमोले अहम् भूमिका खेले । अरू राजनीतिक दलहरू पनि त्यसमा सहमत बने । यसरी यो पाँचदलीय गठबन्धन वा कार्यगत एकता निर्माण भएको हो ।
प्रतिगमन विरुद्ध कार्यगत एकताका लागि पहल गर्ने नेकपा (मसाल), राजमोको नीति अनिवार्य आवश्यकता र सही थियो । यो क्रान्तिकारी नीतिको सेवा गर्ने कुरा थियो । त्यो कुनै अक्रान्तिकारी वा दक्षिणपन्थी कुरा थिएन किनभने प्रतिगमनका विरुद्ध सङ्घर्षका लागि क्रान्तिकारी पार्टीले पहलकदमी लिने प्रयास गर्नु आफैमा क्रान्तिकारी काम थियो । त्यो कुनै अवसरवाद वा त्यस खालको कुरा थिएन ।
काङ्गेस प्रतिकृयावादी शक्ति हो । त्यसले सामन्त र दलाल तथा नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्दछ । त्यसले विदेशी साम्राज्यवादको पनि सेवा गर्छ तर अहिलेको बखत्मा, खास गरी भारतीय साम्राज्यवादले काङ्ग्रेसमार्फत भन्दा पनि नेकपा (एमाले) मार्फत नै नेपालमा आफ्नो नीति लागु गर्न खोजेको देखिन्छ ।
भारतीय साम्राज्यवाद नेपालमा कायम भएको लोकतान्त्रिक गणतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्र, धर्म निरपेक्षताको ठाउँमा हिन्दु राज्य स्थापना गर्न चाहन्छ । हिन्दु राज्य र संवैधानिक राजतन्त्र कायम गरेर उसले नेपालमा दुईटा काम गर्न खोजिरहेको छ : एउटा– राजनीतिक अस्थिरता कायम गरिरहने, जसले गर्दा नेपालमा आफ्ना नीति लागु गर्न उसलाई सजिलो होस् अर्थात् अनुकूल परिस्थिति बनोस्; दोस्रो– नेपाली जनताले प्राप्त गरेका यी उपलब्धि खतम गरेर त्यसको ठाउँमा संवैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गर्ने । त्यसो गर्दाखेरि नै अहिलेको अवस्थामा भारतीय साम्राज्यवादको नीति नेपालमा लागु गर्न सहज वातावरण बन्छ भन्ने उनीहरूको निष्कर्ष छ । यी प्रतिगामी कामका लागि भारतीय साम्राज्यवाद लागिपरेको छ ।
प्रतिगमन विरुद्ध सङ्घर्षको दौरानमा ओली सरकारको पतन भयो । स्वाभाविक ढङ्गले ओली सरकारको पतन भइसकेपछि त्यसको ठाउँमा प्रतिगमन विरुद्ध सङ्घर्षमा सामेल भएका शक्तिहरूको सरकार बन्नुपर्दथ्यो र त्यो बन्यो पनि । त्यस प्रकारको सरकार बनिसकेपछि त्यो सरकारमा राजमो सामेल भएन किनकि सरकारमा सामेल भएका राजनीतिक शक्तिहरू राष्ट्र र जनताप्रति इमानदार, प्रतिबद्ध छन् भन्ने भ्रममा नेकपा (मसाल), राजमो कहिल्यै थिएन र अहिले पनि छैन । राष्ट्र, राष्ट्रियता र जनताप्रति रचनात्मक योगदान गर्न सक्ने उनीहरूसँग कुनै नीति थिएन ।
यसरी राष्ट्र र जनतासँग जोडिएका गम्भीर विषयमा सरकारमा सामेल भएका पार्टीसँग नेकपा (मसाल), राजमोको गम्भीर मतभेद वा असहमति थियो । उनीहरूका कतिपय जनविरोधी, राष्ट्रघाती नीति र चरित्रका विरुद्धमा हाम्रो सङ्घर्ष अहिले पनि कायमै छ । यस्तो परिस्थितिमा ती शक्तिसँग मिलेर सरकारमा सामेल हुँदा राष्ट्रियता र जनतन्त्रको आन्दोलन अगाडि बढाउन कुनै न कुनै रूपमा बाधा पुग्छ । त्यसकारण अहिले पनि सरकारमा सामेल हुनुहुँदैन भन्ने पार्टीको स्पष्ट दृष्टिकोण थियो । पार्टीको यस्तो निष्कर्ष अहिले पनि यथावत् छ ।
अर्को राजनीतिक जटिलता पनि थियो । प्रतिगमन विरुद्धको आन्दोलनबाट आएको सरकारलाई समर्थन नगर्दा प्रतिगमनलाई मदत पुग्दथ्यो एकातिर भने अर्काेतिर, त्यो सरकारमा सामेल हुँदा सरकारमा सामेल राजनीतिक पार्टीसित नीति, चरित्र मिल्दैनथ्यो । त्यसमध्ये कतिपय राष्ट्रघाती, जनविरोधी पृष्ठभूमिका पनि थिए । त्यसका बाबजुद पनि राजमो सरकारमा सामेल भएको भए त्यसका विरुद्धको सङ्घर्ष अगाडि बढाउन गा¥हो हुन सक्दथ्यो । त्यसकारण राजमोले सरकारमा सामेल हुने कुरालाई अस्वीकार गर्दै एकातिर, बाहिर बसेर सरकारलाई समर्थन गर्ने र अर्काेतिर, सरकारका जनविरोधी, राष्ट्रघाती कृयाकलाप विरुद्धको सङ्घर्षलाई पनि अगाडि बढाउने द्वन्द्वात्मक नीति अवलम्बन ग¥यो । यो एउटा माक्र्सवादी दृष्टिकोणको आधारमा अवलम्बन गरिएको नीति थियो । द्वन्द्वात्मक भौतिकवादको आधारमा अवलम्बन गरिएको नीति थियो । यो नीति नै अहिलेको अवस्थामा क्रान्तिकारी नीति हो ।
हाम्रो यस्तो नीतिलाई कतिपय मान्छेले सरकारमा सामेल भएको रूपमा व्याख्या गरे । यो गलत बुझाइ हो । गलत निष्कर्ष हो । त्यो बेलाका पार्टी महामन्त्री, प्रवक्तासहित अन्य जिम्मेवार नेताहरूका वक्तव्य, लेख, अन्तर्वार्तामार्फत त्यसबारे पार्टीले आफ्नो नीति प्रष्ट रूपमा राखिसकेको छ : हामी सरकारमा सामेल हुँदैनौँ । बाहिर बसेर सरकारका राम्रा कामको समर्थन र गलत नीतिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न पार्टी सरकारमा सामेल भएन र अहिले पनि सरकारबाहिर नै छ ।
एम.सी.सी. को सन्दर्भ
प्रतिगमन विरुद्धको सङ्घर्षबाट आएको सरकारलाई समर्थन गर्दा पार्टीले दुईटा उद्देश्य लिएको थियो : एउटा– प्रतिगमनलाई रोक्न यो सरकारलाई समर्थन गर्ने; अर्काे– सरकारमा सामेल भएका पार्टी र सरकारलाई राष्ट्रघाती, जनविरोधी नीति अवलम्बन नगर्नका लागि खबरदारी गर्ने, दबाब सिर्जना गर्ने र उनीहरू त्यो दिशामा जान खोजेमा रोक्न प्रयास गर्ने, साथै आवश्यकता अनुसार सडक र सदनबाट सङ्घर्ष गर्ने । उदाहरणका लागि एम.सी.सी. पास गर्ने विषय तत्कालीन सरकारले न्यूनतम कार्यक्रममा सामेल गर्न नेपाली काङ्ग्रेसको तर्फबाट गरिएको प्रयासलाई राजमोले दृढतापूर्वक विरोध गर्यो । माओवादी र एकीकृत समाजवादीले पनि जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने मत राखे । त्यसको परिणामस्वरूप उक्त विषय न्यूनतम कार्यक्रममा सामेल भएन तर पछि अमेरिकी दबाबमा सरकारले संसद्मा पेस गरी अनुमोदन गरायो । सो कार्यको विरोध गर्दै राजमो पाँचदलीय गठबन्धनबाट हटेर एम.सी.सी. विरुद्ध दृढतापूर्वक संसद् र सडकमा सङ्घर्ष गर्यो ।
चार दलको त्यस प्रकारको गम्भीर राष्ट्रघाती निर्णयका विरुद्ध सङ्घर्षकै रूपमा राजमो गठबन्धनबाट अलग भयो । यो निर्णय स्वाभाविक थियो तर गठबन्धबाट राजमो अलग भए पनि प्रतिगमनको खतरा अहिले पनि कायमै छ । त्यसकारण पार्टीले सरकारलाई बाहिरबाट दिएको समर्थन पूर्ववत नीतिको आधारमा कायम राख्ने निर्णय लियो । त्यसका बाबजुद गठबन्धनबाट बाहिरिनुको हाम्रो अर्थ थियो : गठबन्धनमा सामेल भएका दलका गलत नीति विरुद्ध हाम्रो सङ्घर्षको आवश्यकता अरू बढेर गएको थियो । त्यही विशेष परिस्थितिमाझ राजमो गठबन्धनबाट अलग भएको थियो ।
यति प्रष्ट नीति हुँदाहुँदै पनि हाम्रा विरुद्ध गलत प्रचार भइरहेको छ : यो पार्टी सरकारमा सामेल छ; सत्ताको रसस्वादन गर्न मरिहत्ते गरिरहेको छ । यस खालको गलत प्रचार केही व्यक्ति वा समूहबाट भएको छ । यो पूर्वाग्रहपूर्ण विरोध हो । यो पूर्वाग्रहमाथि आधारित भ्रम हो । यस प्रकारको झुटा प्रचारको कुनै औचित्य छैन ।
स्थानीय तहको निर्वाचनमा सहकार्य
पछि स्थानीय तहको चुनावमा चार दलसँग राजमोका तालमेल वा कार्यगत एकता भयो । एम.सी.सी. सम्झौता विरुद्ध भण्डाफोर गर्न गठबन्धनबाट बाहिर भएता पनि प्रतिगमन विरुद्ध सङ्घर्षको निरन्तरताकै रूपमा स्थानीय चुनावमा उनीहरूसित तालमेल गर्ने राजमोको निर्णय थियो । प्रतिगमन विरुद्ध सङ्घर्षकै रूपमा स्थानीय चुनावमा सामेल हुने नीति अवलम्बन गरिसकेपछि स्वाभाविकै रूपले प्रतिगमन विरुद्धका शक्तिहरूसँग तालमेल गर्ने र स्थानीय चुनावमा प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने राष्ट्रिय आवश्यकता पूरा गर्ने प्रयास भयो । त्यो नीतिअनुसार नै यो गठबन्धनका चार पार्टीसँग हाम्रो पार्टीले चुनावमा तालमेल गरेको थियो । यथार्थ र अन्तिम कुरा यही हो ः हाम्रो पार्टी चारदलीय गठबन्धनमा छैन । देशमा चार पार्टीको सरकार छ र चार पार्टीको गठबन्धन छ ।
स्थानीय चुनावमा प्रतिगमनलाई परास्त गर्नुपर्ने थियो, त्यसलाई कमजोर पार्नुपर्ने हुन्थ्यो । चुनावमा प्रतिगमनकारी शक्तिहरू बलियो भएर आए भने उनीहरू राष्ट्रिय स्तरमै हाबी हुन सक्दथे । जसले गर्दा वर्तमान लोकतान्त्रिक गणतन्त्रमाथिको खतरा अरू बढेर जान्थ्यो, जुन राष्ट्रको आवश्यकता थिएन । राष्ट्रको आवश्यकता अहिले पनि प्रतिगमनलाई परास्त गर्नु हो अर्थात् प्रतिगमनकारी शक्तिलाई कमजोर बनाउनु हो । वर्तमान लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु हो । स्थानीय चुनावमा प्रतिगमनकारीलाई कमजोर बनाउन प्रतिगमन विरुद्धका शक्तिहरूसँग कार्यगत एकता गर्नुपर्ने हुन्थ्यो । त्यसो नगर्नु भनेको प्रतिगमनलाई बलियो बनाउने कुरा हुन्थ्यो ।
यसरी स्वभाविकै रूपले चार दल र राजमोका बिचमा स्थानीय चुनावमा तालमेल भएको थियो एकातिर भने अर्काेतिर, एमाले, राप्रपालगायतका अरू आठ–नौ समूहका बिचमा पनि छुट्टै तालमेल भएको थियो । स्थानीय चुनावमा सबै पार्टीले कुनै न कुनै रूपमा तालमेल गरेर चुनाव लडेका थिए । राजमोले पनि कतिपय ठाउँमा चारदलीय गठबन्धनसँग वा चार दलभित्रका कतिपय पक्षसँग तालमेल गरेको थियो । राप्रपाले तालमेल गर्दैनौँ भने पनि कैयन ठाउँमा एमालेसँग तालमेल गरेको थियो । प्रतिगमन विरुद्धका शक्तिलाई हराउन राप्रपाले तालमेल गरेको थियो । प्रतिगमन विरोधी शक्तिलाई हराउन नै एमालेले तालमेल गरेको थियो ।
यतिखेर राजमोले विगतमा माधव नेपाल, प्रचण्ड, झलनाथ र ओलीको सरकारलाई झैँ बाहिर बसेर समर्थन गरेको छ भने अर्कातिर, सङ्घीयताको खारेजी, राष्ट्रियताको रक्षा, सरकारको राष्ट्रघाती, जनविरोधी नीतिनिर्णय विरुद्ध दृढतापूर्वक सडक र सदनबाट सङ्घर्ष गरिरहेको छ । हाम्रा सांसदहरू केन्द्र, प्रदेशमा जहाँ जहाँ हुनुहुन्छ, त्यहाँबाट यसरी सङ्घर्ष गर्ने काम भइरहेको छ ।
सरकारको आलोचना र संघर्ष
अहिले पनि सरकारले महङ्गी नियन्त्रण गर्न प्रभावकारी काम गर्न सकिरहेको छैन । यतिखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ । सरकारले त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय अवलम्बन गर्न सकेको छैन । अहिले पेट्रोलियम पदार्थको मूल्य केही घटाइए पनि त्यो पर्याप्त छैन । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । न्यून आय भएका शोषित–पीडित किसान, मजदुरलगायत तल्लो वर्गको दैनिकी कष्टकर बन्दै गएको छ । उनीहरूलाई चुलो बाल्न गार्हो हुँदै गइरहेको छ । यस्तो परिस्थितिमा सरकारले जनताका समस्या समाधान गर्न ठोस काम गर्न सकेको छैन । त्यसका विरुद्धमा राजमोको सङ्घर्ष जारी छ ।
अहिले पार्टीले तीनओटा मोर्चामा सङ्घर्ष गरिरहेको छ : प्रतिगमन विरुद्धको सङ्घर्ष, राष्ट्रियता रक्षाका लागि सङ्घर्ष र सङ्घीयता खारेजीका लागि सङ्घर्ष । सँगसँगै किसान, मजदुरलगायतका तप्काका समस्या, महङ्गी, भ्रष्टाचार विरुद्धको सङ्घर्ष, महिलाहिंसा विरुद्धको सङ्घर्ष, मलबिउ र पाठ्यपुस्तकको अभाव भइरहेकोमा त्यसको उपलब्धता जस्ता समस्यालाई लिएर राजमो सङ्घर्षमा छ ।
प्रतिगमन विरोधी संघर्षको नीतिमाथि आक्रमण
नेकपा (मसाल), राजमोको तात्कालिक कार्यदिशा विरुद्ध चौतर्फी आक्रमण भएको छ । साम्राज्यवादी र उनीहरूसँग सम्बन्ध राख्ने विभिन्न समूह वा पार्टीबाट यस्तो आक्रमण भइरहेको छ । उनीहरूले “यो पार्टी राम्रो थियो, काङ्ग्रेस, माओवादी जस्ता पार्टीसित कार्यगत एकता गरेर बिग्रियो” भन्ने प्रकारले पनि भ्रम फैलाइरहेका छन् ।
वास्तवमा राजमोले जजसका विरुद्ध सङ्घर्ष गरिरहेको छ, ती शक्तिले राजमोमाथि आक्रमण गर्नु स्वाभाविकै हो । उनीहरूले विरोध गर्नु भनेको राजमोलाई कमजोर बनाउनु हो । साम्राज्यवादी शक्तिहरू राजमोलाई कमजोर बनाउन चाहन्छन् किनकि नेपालमा साम्राज्यवाद विरुद्ध खुलेर विरोध गर्ने, साम्राज्यवाद विरुद्ध जनस्तरबाट सङ्घर्ष गर्ने शक्ति भनेको नेकपा (मसाल), राजमो नै हो । त्यसकारण साम्राज्यवादी शक्तिले पार्टी विरुद्ध लगातार आक्रमण गर्दछन् नै । त्यो आक्रमण सिधा प्रकारले मात्रै गरिएको हुँदैन । उनीहरूले कैयौँ समूह र शक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले उपयोग गरेर यस्तो आक्रमण हुने गर्दछ ।
पार्टीले प्रतिगमनका विरुद्ध सङ्घर्ष गरिरहेको छ । प्रतिगमन विरुद्ध संयुक्त आन्दोलन संयोजन गर्ने र संयुक्त आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छ । त्यसकारण प्रतिगामी कोणबाट पनि पार्टीका विरुद्ध आक्रमण भइरहेको छ । खासगरी राजावादी शक्ति वा देशलाई प्रतिगमनतिर धकेल्न खोजिरहेको एमाले जस्ता शक्तिले लगातार पार्टीमाथि आक्रमण गरिरहेका छन् । पार्टी विरुद्ध भ्रम सिर्जना गर्ने प्रयास गरिरहेका छन् ।
यतिखेर नेकपा (मसाल), राजमो विरुद्ध उनीहरूको आक्रमणको एउटा रूप भनेको नयाँ नयाँ प्रकारले भ्रम सिर्जना गर्नु पनि हो । अहिले प्रतिगामी कोणबाट हुने एउटा आक्रमणको तरिका यस्तो छ : ‘काङ्ग्रेस जस्तो प्रतिकृयावादी शक्तिसँग राजमोले कार्यगत एकता गरेपछि यो पार्टी पहिलाको नीतिमा कायम रहेन; पहिलाको शक्ति रहेन; यो पतन भयो; काङ्ग्रेस जस्तो पार्टीको पछि लाग्यो ।’
वास्तवमा काङ्ग्रेस प्रतिकृयावादी शक्ति नै हो । काङ्ग्रेसले सामन्तवादकै प्रतिनिधित्व गर्दछ । नेपालको परिस्थितिमा साम्राज्यवादकै प्रतिनिधित्व गर्दछ तर अहिलेको परिस्थितिमा ऊ प्रतिगमनको विरुद्धमा छ । त्यो विन्दुमा राजमोको प्रतिगमन विरुद्ध जाने शक्तिमाझ कार्यगत एकता निर्माण भयो । मसाल र राजमोले यस्तो नीतिको वैचारिक नेतृत्व गरेका कारण उनीहरूले हाम्रो पार्टी विरुद्ध आक्रमण गरिरहेका छन् ।
त्यसका विपरीत अहिलेको अवस्थामा काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासँग तालमेलको नीतिको विरोध गर्नु भनेको उनीहरूसँग कार्यगत एकताको विरोध गर्नु हो । त्यो भनेको प्रतिगमनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले मदत पु¥याउनु हो किनभने यसरी प्रतिगमन विरुद्धको मोर्चा कमजोर हुन्छ । प्रतिगमन विरुद्धका शक्ति कमजोर हुन्छन् । प्रतिगमन विरुद्धका शक्ति कमजोर हुनु भनेको प्रतिगमन हाबी हुनु हो ।
त्यसकारण प्रतिगामी कित्तामा भएका शक्ति वा जानअन्जान प्रतिकृयावादी शक्तिसँग तालमेलमा रहेका आफूलाई क्रान्तिकारी ठान्ने कतिपय समूहले गठबन्धनको विरोध गर्नुका पछाडि प्रतिगामी प्रकारको दृष्टिकोणले काम गरेको प्रष्टै छ ।
तीन प्रकारका राजनीतिक दृष्टिकोण
यस सन्दर्भमा तीन प्रकृतिका राजनीतिक दृष्टिकोण प्रष्ट रूपमा देख्न सकिन्छ ।
प्रथम– राजावादी शक्तिहरू घोषित रूपमा देशमा पुनः राजतन्त्र कायम गर्न चाहन्छन् । उनीहरू राजतन्त्र आवश्यक छ; यी दलहरूले देश चलाउन सक्दैनन् भनेर आइरहेका छन् । उनीहरू कमजोर छन् तर निरन्तर राजतन्त्र फर्काउन योजनाबद्ध ढङ्गले काम गरिरहेका छन् ।
द्वितीय– घोषित रूपमा राजतन्त्र स्थापना हुनुपर्दछ भनेर नभनिएता पनि विद्यमान गणतन्त्र, लोकतन्त्रलाई कमजोर बनाउने काम गर्ने; जस्तै : जननिर्वाचित संसद् विघटन गर्ने, संसदीय निकायमाथि आक्रमण गर्ने, तिनीहरूमाथि लगातार प्रहार गर्ने—सार रूपमा प्रतिगमनका लागि बाटो बनाउने र देशलाई अस्थिरतातिर लैजाने । त्यस क्रममा हुँदाहुँदैको बलियो पार्टी फुटाल्ने काम एमालेको गरेको हामी सबैलाई थाहा छ । यसरी घोषित रूपमा राजतन्त्र स्थापना गर्नुपर्छ नभन्ने तर नीति र व्यवहारले प्रतिगमनतिर लैजाने काम गर्ने एमाले जस्ता शक्ति यहाँ छन् ।
तृतीय– प्रतिगमन विरुद्ध रहेका संसदवादी शक्तिको विरोध गर्ने र विद्यमान लोकतन्त्रका विरुद्ध राजावादीसमेतसँग कार्यगत एकता गरेर सङ्घर्ष गर्ने कुरामा जोड दिने । तर लोकतान्त्रिक गणतन्त्रलाई अहिलेको अवस्थामा संस्थागत गर्ने नीतिको विरोध गर्ने । सिधै नयाँ जनवाद, समाजवाद, क्रान्ति, आधार इलाका जस्ता ‘क्रान्तिकारी’ कुरा गर्ने तर व्यवहारमा प्रतिगमन विरोधी शक्ति, त्यस्तो कार्यगत एकता वा गठबन्धनको विरोध गर्ने । कुरा क्रान्तिको गर्ने, व्यवहारमा प्रतिगमन विरुद्ध सङ्घर्ष गर्ने कुराको विरोध गर्ने जस्ता कतिपय तथाकथित अराजकतावादी, “क्रान्तिकारी” नीतिले पनि प्रतिगमनकारी शक्तिलाई मदत पुगिरहेको छ । उनीहरूको तर्फबाट पनि पार्टीका नीतिका विरुद्धमा आक्रमण गर्ने कार्य भइरहेको छ ।
एकातिर घोषित रूपमा राजावादी शक्ति, अर्काेतिर घोषित रूपमा राजावादी नभए पनि, घोषित रूपमा राजतन्त्रको वकालत नगरेता पनि विद्यमान लोकतान्त्रिक गणतन्त्रका आधारलाई खलबल्याउने, तिनलाई कमजोर पार्ने, तिनलाई भत्काउने अर्थात् देशलाई प्रतिगामी दिशातिर लैजान काम गरिरहेका एमाले जस्ता शक्ति नेपालको राजनीतिक वृत्तमा छन् । त्यस्तै, क्रान्तिकारी कुरा गरेर प्रतिगमन विरुद्ध सङ्घर्षको विरोध गर्ने, प्रतिगमन विरुद्ध सङ्घर्षको लागि कायम भएको कार्यगत एकताको विरोध गर्ने, प्रतिगमन विरुद्धको सङ्घर्ष आवश्यक नठान्ने—यस प्रकार आफूलाई क्रान्तिकारी ठान्ने कतिपय शक्तिले पनि जानअन्जानमा प्रतिगमनलाई मदत पु¥याइरहेका छन् । त्यसलाई हामीले वामपन्थी सङ्कीर्णतावादी नीति भनेका छौँ ।
भारतीय साम्राज्यवाद देशलाई प्रतिगमनतर्फ लैजान यिनै प्रतिगामी शक्तिको समर्थनमा उभिएको छ । यसरी देशमा प्रतिगमनको खतरा ज्यादै नै बढेर गएको देखिन्छ । लोकतान्त्रिक गणतन्त्र रहने कि नरहने भन्ने स्थिति उत्पन्न भएको छ । यस्तो स्थितिमा यसका विरुद्ध राजमोले एकातिर, राजावादी शक्ति विरुद्ध सङ्घर्ष गरिरहेको छ भने अर्कातिर, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई भत्काएर देशलाई प्रतिगामी दिशातिर लैजान खोज्ने एमाले जस्ता शक्तिको विरुद्ध सङ्घर्ष गरिरहेको छ । त्यसैगरी वैचारिक रूपले क्रान्तिकारी कुरा गरेर आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सङ्घर्ष गर्ने नीतिको विरोध गर्ने वाम सङ्कीर्णतावादी नीतिको पनि हामीले विरोध गरिरहेका छौँ ।
वाम संकीर्णतावादी नीति
राष्ट्रियताको सवालमा नेकपा (मसाल), राजमोले कतिपय क्रान्तिकारी हौँ भन्ने शक्तिसँग सहकार्य गर्ने प्रयास गरिरहेको छ तर उनीहरूको वामपन्थी सङ्कीर्णतावादी नीति राष्ट्रियताको पक्षमा निरन्तर संयुक्त सङ्घर्ष अगाडि बढाउने सवालमा बाधक बनेको छ ।
अहिले हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको आक्रमण भएको छ, त्यो सारमा प्रतिगामीलाई मदत पुर्याउने गरी भएको छ । वास्तवमा अहिले नेकपा (मसाल), राजमोको क्रान्तिकारी कार्यदिशाको विरोध गर्नु भनेको सामन्तवादलाई सघाउ पुर्याउनु हो । हाम्रो पार्टीका विरुद्ध भ्रम सिर्जना गर्नु भनेको प्रतिगमन विरुद्ध सङ्घर्षको विरोध गर्नु हो । नेकपा (मसाल), राजमोको विरोध गर्नु भनेको नयाँ जनवादी क्रान्ति स्थापना गर्ने नीतिको विरोध गर्नु हो । त्यसका लागि दीर्घकालीन जनयुद्ध गर्नुपर्छ भन्ने नीतिको विरोध गर्नु हो । यस्तो विरोध अन्ततः तात्कालिक राजनीतिक सङ्घर्षसम्बन्धी क्रान्तिकारी नीतिको विरोध गर्नु हो । अन्ततः प्रतिगामी दिशामा देशलाई अगाडि लैजाने कुरालाई जान वा अन्जानमा सहयोग पुर्याउनु हो ।
पार्टीबाट बाहिरिएका कतिपय व्यक्ति वा समूहले पार्टीका विरुद्ध लगातार आक्रमणको नीति अपनाएका छन् । उनीहरू मसाल काङ्ग्रेसको पछि लायो, राजमो सत्ताभन्दा बाहिर बाँच्न सक्दैन, मोहनविक्रम सिंह सरकारी मान्छे बनिसके भन्ने प्रकारको रुवाबासी गरिरहेका छन् किनकि उनीहरू अहिले देशमा प्रतिगमनको खतरा छ भन्ने देख्न सक्दैनन् । प्रतिगमन विरुद्ध सङ्घर्ष गर्नुपर्दछ भन्ने स्वीकार्दैनन् । उनीहरू जान वा अन्जानमा प्रतिगामी क्याम्पमा उभिन पुगेका छन् । त्यसरी उनीहरूले प्रतिगामी दिशालाई मदत पु¥याउने गरी काम गरिरहेका छन् । उनीहरू कुरामा क्रान्तिकारी जस्तो देखिएता पनि यथार्थमा त्यो कुनै माक्र्सवादी दृष्टिकोण होइन । त्यस प्रकारको वामपन्थी सङ्कीर्णतावादी नीतिले अन्ततः प्रतिगमनलाई नै मदत पुर्याउँछ ।
कैयौँ मान्छेलाई उनीहरू क्रान्तिकारी भएको हुनाले काङ्ग्रेससँग गरेको कार्यगत एकताको विरोध गरेको हो भन्ने भ्रम परिरहेको छ । वास्तवमा उनीहरूले क्रान्तिकारी कोणबाट होइन, प्रतिगामी कोणबाट पार्टीको प्रतिगमनका खतराका विरुद्धको नीतिको विरोध गरिरहेका छन् । यस प्रकारको नीति कुनै क्रान्तिकारी नीति त होइन नै, सामान्य तात्कालिक सुधारका लागि गरिने सङ्घर्षको समेत विरुद्धमा छ । यसबाट जानअन्जानमा उनीहरू प्रतिगामी कित्तामा उभिन पुगेका छन् । यसरी कैयौँ समूहहरू गलत राजनीतिका कारण नचाहँदा नचाहँदै थाहै नपाइकन प्रतिगामी वा प्रतिक्रान्तिकारी कित्तामा उभिन पुगेको पाइन्छ ।
अहिलेको परिस्थितिमा पार्टीमाथि वामपन्थी सङ्कीर्णतावादी कोणबाट मसाल दक्षिणपन्थी भयो, संसदीय पार्टी बन्यो भन्ने जुन भ्रम फैलाइएको छ, यसमा कतिपय वामपन्थी सङ्कीर्णतावादी ‘स्वघोषित क्रान्तिकारी’ र हालै पार्टीबाट बाहिरिएका व्यक्तिबाट समेत पूर्वाग्रहपूर्ण प्रकारले विरोध हुने गरेको छ । यस प्रकारको विरोध वा आलोचना प्रतिगामी कोणबाट सिर्जना गर्न खोजिएको भ्रमबाहेक केही होइन । त्यो प्रचारले प्रतिगमन विरुद्ध सङ्घर्ष गर्नुहुँदैन भन्ने उहाँहरूको प्रतिगामी प्रकारको राजनीति दृष्टिकोणको प्रतिनिधित्व गरिरहेको छ । त्यसकारण यस्तो प्रतिगामी कित्तामा उभिएर नेकपा (मसाल), राजमोको क्रान्तिकारी नीतिको विरोध गर्नु हास्यापद कुरा हो । त्यस्तो भ्रमले लामो समय काम गर्न सक्ने छैन ।
हामी आम जनसमुदायमा त्यस्तो भ्रममा नपर्न बरु प्रतिगामी खतराका विरुद्ध सङ्घर्षमा जुट्न तथा उक्त आन्दोलनलाई निरन्तर अगाडि बढाउन आह्वान गर्दछौँ । यसरी नै प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै जनताको जनवादी गणतन्त्र स्थापना गर्ने दिशामा अगाडि बढ्न सम्भव हुने छ । अहिले प्राप्त उपलब्धिको रक्षा गर्ने कार्यको विरोध गरेर वा प्रतिगमन विरुद्धको सङ्घर्षलाई कमजोर बनाएर, त्यसको फलस्वरूप प्रतिगमनलाई मद्दत पु¥याएर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरा भ्रम मात्रै हो । त्यो पूरै गलत छ । यस्ता भ्रमबाट हामी सबै मुक्त हुनु अहिलेको आवश्यकता हो ।