राजमोको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला, ५० प्रतिशत उम्मेदवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले महिला र दलित मात्रै प्रतिस्पर्धा गर्ने गरी केही निर्वाचन क्षेत्र छुट्याउनुपर्ने आवश्यकता दोहोर्याएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभातर्फ महिलाहरुको संख्या कम हुने गरेको तर्फ ध्यानाकर्षण भएको जनाउँदै पार्टीले चुनावको सन्दर्भमा आफ्नो धारणा पुनः सार्वजनिक गरेको हो ।

मसाल प्रवक्ता रामप्रकाश पुरीले बिहीबार विज्ञप्ति प्रकाशित गरी महिलाहरूको आफ्नै क्षमताका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुनु पर्नेमा जोड दिनुभएको छ ।

साथै प्रवक्ता पुरीले नेपालका राजनीतिक पार्टीहरुमध्ये राष्ट्रिय जनमोर्चाले मात्रै केन्द्रीय समितिमा ३३ प्रतिशत महिला राखेको र निर्वाचनमा ५० प्रतिशत उठाएको बताउनुभएको छ । राजमोले प्रतिनिधि सभातर्फ दुई जनाको उम्मेदवारी दिएकोमा बागलुङ १ बा अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ भने प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेललाई अघि सारेको छ ।

यस्तो छ वक्तव्य
“चुनावमा महिलाहरूको प्रतिशत सम्बन्धी विवाद अहिलेको चुनावमा प्रतिनिधि सभा र प्रदेश सभातिर महिलाहरूको प्रतिशत अत्यन्त कम भएको विषयमा निकै चर्चा परिचर्चा भइरहेको छ । महिलाहरूको प्रतिशत किन कम भयो ? त्यसबारे हाम्रो पार्टीको पनि गम्भीर ध्यान आकर्षित भएको छ ।

नेपालमा विभिन्न राजनीतिक पार्टीहरूका केन्द्रीय समितिमा महिलाको प्रतिशत ३३ प्रतिशत भन्दा कम हुने गरेको छ । खाली राष्टिय जनमोर्चाको केन्द्रीय समितिमा मात्र महिलाहरूको प्रतिशत ३३ प्रतिशत रहेको छ । विभिन्न राजनीतिक पार्टीहरूका केन्द्रीय समितिमा महिलाहरुको प्रतिशत निर्धारित संख्या भन्दा कम हुने कुराको चर्चा गर्दा राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिमा मात्र महिलाहरूको प्रतिशत ३३ प्रतिशत भएको वास्तविकताप्रति मानिसहरूको कम ध्यान जाने गरेको छ ।

अहिलेको चुनावमा पनि राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा खडा गरेका उम्मेदवारहरु मध्ये ५० प्रतिशत संख्या महिलाहरुको छ । राष्ट्रिय जनमोर्चाले बाग्लुङ्ग र प्यूठानका २ वटा संसदीय सिटहरूमा उम्मेदवारहरू खडा गरेको छ । त्यस अनुसार बाग्लुङको १ नम्बर क्षेत्रमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी र प्यूठानमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र केन्द्रीय प्रवक्ता का दुर्गा पौडेललाई खडा गरेको छ । त्यसरी राष्ट्रिय जनमोर्चाले खडा गरेका उम्मेदवारहरूमा महिलाहरूको संख्या ५० प्रतिशत हुन जान्छ ।

यो कुरा पनि बारम्बार उठ्ने गरेको छ कि विभिन्न राजनीतिक पार्टीहरूले महिलाहरूलाई विजयको सम्भावना भएको क्षेत्रहरूमा कम र हार्ने सम्भावना भएका क्षेत्रहरूमा नै बढी उठाउने गर्दछन् । तर राष्ट्रिय जनमोर्चाको सन्दर्भमा त्यो कुरा सत्य होइन । प्यूठान पार्टीले बारम्बार विजय प्राप्त गर्ने गरेको बलियो क्षेत्र हो । त्यहाँ नै महिला उम्मेदवारलाई अहिले पनि खडा गरिएको छ ।

तर कुनै क्षेत्रमा महिलाहरूलाई उम्मेदवार बनाउनु मात्र पर्याप्त हुँदैन । निर्णयात्मक महत्वको कुरा यो हो ः चुनावमा कति प्रतिशत महिलाहरूले विजय प्राप्त गर्दछन् ? त्यसैले हामीले सुरुदेखि नै यो कुरामा जोड दिने गरेका थियौँ कि महिला र दलितहरूले मात्र प्रतिस्पर्धा गर्न पाउने सुरक्षित सिटहरूको व्यवस्था गरिनु पर्दछ । त्यसो गरेमा मात्र प्रत्यक्षतर्फ उनीहरूको स्थान सुरक्षित हुनेछ ।

महिलाहरूको प्रत्यक्ष वा समानुपातिक चुनावतर्फ आरक्षणको व्यवस्था अस्थायी व्यवस्था हो र त्यसका आधारमा महिलाहरूको सिट सँधै सुरक्षित हुँदैन । उनीहरूको आफ्नै क्षमताका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुनु पर्दछ र त्यो नै महिलाहरूको विकासका लागि स्थायी व्यवस्था हो ।

त्यसका लागि खाली चुनावका बेलामा मात्र होइन, अन्य सबै सामाजिक र राजनीतिक क्षेत्रहरूमा पनि महिलाहरूलाई सक्रिय पार्ने र अगाडि बढाउने प्रयत्न गर्नु पर्दछ । त्यसो भएमा नै उनीहरूको वास्तविक विकास हुन सक्नेछ र पछि उनीहरूलाई संरक्षणको आवश्यकता नै पर्ने छैन । त्यसैले हामीले महिलाहरूको सर्वाङ्गीन विकासमा नै बढी ध्यान दिनु पर्दछ।”
२०७९ असोज २७ गते ।
रामप्रकाश पुरी
प्रवक्ता

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार