पृष्ठभूमि
५ मई १८१८ का दिन जर्मनीमा कार्ल मार्क्सको जन्म भयो । द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई आधार मान्दै एङ्गेल्ससँग मिलेर वहाँले कम्युनिस्ट घोषणापत्र लेख्नुभयो । ‘संसारका मजदुर एक होऔँ’ भन्दै एउटा अन्तर्राष्ट्रिय नारा स्थापित भयो । जर्मन दर्शन, बेलायतको अर्थशास्त्र तथा फ्रान्सको समाजशास्त्रलाई संयोजन गर्दै मार्क्सवादलाई एउटा विज्ञानको रूपमा विकास गरियो । पुँजी तथा अतिरिक्त मूल्यको सिद्धान्तका आधारमा पुँजीवादी समाजको नकारात्मक चरित्रको उजागर गरियो । यसरी विकास भएको मार्क्सवादलाई विभिन्न देशमा प्रयोग गरियो ।
सन् १९१७ मा क. लेनिनको नेतृत्वमा रुसमा क्रान्ति भयो । सन् १९४९मा क. माओको नेतृत्वमा चीनमा क्रान्ति भयो । त्यस्तै अन्य थुप्रै देशहरूमा पनि समाजवादी क्रान्तिहरू भए । मामार्क्सवादको प्रयोगका सन्दर्भमा यी सफल उदाहरणहरू हुन् ।
कम्युनिस्ट पार्टीको स्थापना
मार्क्सवादलाई नेपाली भूमिमा प्रयोग गर्ने उद्देश्यले २००६ साल वैशाख १० गते, (२२ अप्रिल १९४९) का दिन लेनिन जयन्तीको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । क. पुष्पलाल यो पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
अन्य संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी हुनुहुन्छ । भारतको कलकत्तास्थित श्याम बजारमा सर्वप्रथम यो पार्टीको स्थापना भएको हो । नेपाली समाजको आमूल परिवर्तन गर्ने अर्थात सामाजिक तथा राजनीतिक विसङ्गतिहरुको अन्त गर्ने, कम्युनिस्ट पार्टीको उद्देश्य थियो । नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने रणनीतिक लक्ष्य निर्धारित गरियो ।
कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा अर्थात मार्क्सवादलाई नेपाली भूमिकामा प्रयोग गर्दै जाँदा विभिन्न प्रकारका चुनौतीहरू पनि उत्पन्न हुँदै गए । वैधानिक राजतन्त्र स्वीकार गर्ने कि नगर्ने ? यो विषयमा सर्वप्रथम कम्युनिस्ट पार्टीमा राजनैतिक विवाद भयो । २०१२ सालबाट सुरु भएको त्यस प्रकारको दुई लाइनको सङ्घर्ष, ०१४ सालमा भएको दोस्रो महाधिवेशनको कालसम्म झनै सशक्त रूप लियो । यस प्रकारको राजावादी विचार पार्टीमा मौलाउँदै जाँदा कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति बेहोर्नु पर्यो ।
दरभङ्गा प्लेनम
सन् १९६१ मा भारतको दरभङ्गामा १ महिनासम्म चलेको प्लेनममा तीव्र राजनैतिक अन्तर्विरोध चल्यो । नेपालको राजनैतिक इतिहासमा सबैभन्दा लामो राजनैतिक अन्तर्विरोध यही हुनुपर्दछ । केशर जङ्ग रायमाझीको संसदीय व्यवस्थाको लाइन, क. पुष्पलालको विघटित संसद्को पूर्नस्थापनाको लाइन र क. मोहनविक्रम सिंहको संविधान सभाको चुनावको लाइन गरी तीन वटा लाइन त्यहाँ देखा परे । प्लेनमले क. मोहनविक्रम सिंहको लाइनलाई पारित गरे पनि केन्द्रीय समितिमा वहाँ एक्लो भएकाले रायमाझीको लाइनलाई पार्टी नीतिको रूपमा पारित गरियो । त्यस प्रकारको अराजकतावादी संस्कार पनि कम्युनिस्ट पार्टीको इतिहासमा मौलाउँदै गएको हामी पाउँछौँ ।
अन्तर्राष्ट्रिय प्रभाव
सन् १९५६ मा स्टालीनको मृत्युपश्चात् निकिता ख्रुश्चेव सत्तामा आए । उनले कम्युनिस्ट पार्टीका आधारभूत सिद्धान्तहरूलाई परित्याग गर्दै संशोधनवादी विचारहरू ल्याए । रुसको पार्टी, ‘सबै जनताको पार्टी’ भनेर उनले सैद्धान्तिक रूपमा मार्क्सवादमाथि आक्रमण गरे । रसियन कम्युनिस्ट पार्टीलाई पुँजीवादी कम्युनिस्ट पार्टीमा परिणत गर्न आधार तयार पार्दै गए । बर्नस्टीन, कार्ल काउत्स्की आदिको संशोधनवादी विचारहरूलाई नयाँ रूप र रङ्ग दिएर पुनस्र्थापित गरियो । बर्नस्टीनले पुँजीवादबाट समाजवादमा शान्तिपुर्ण तरिकाले अवतरण गर्न सकिने मान्यता राख्दथे । त्यस्तै कार्ल काउत्स्कीले लेनिनको सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई परित्याग गर्दै शान्तिपुर्ण सङ्क्रमणको सन्दर्भमा ‘सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य’ जस्ता अवधारणाहरू ल्याएका थिए ।
द्वितीय अन्तर्राष्ट्रियमा देखिएका यस प्रकारका संशोधनवादी विचारधाराको प्रत्यक्ष असर, रुसी कम्युनिस्ट पार्टीमा पनि देखियो । जसको विरोधमा दूनियाभरिका मार्क्सवादी-लेनिनवादीहरू उभिए । ती क्रान्तिकारीहरूको नेतृत्व क.माओले गर्नुभयो । यसै सन्दर्भमा सोभियत सङ्घको खुला पत्र माथि टिप्पणी गर्दै वहाँले भन्नु भएको छ, ‘जहिलेसम्म फौजी-नोकर शाही संयन्त्रमाथि पुँजीपति वर्गको कब्जा रहन्छ, त्यति बेलासम्म सर्वहारा वर्गले संसद्मा स्थायी बहुमत प्राप्त गर्नु असम्भव हुन्छ वा स्थायी बहुमत अविश्वसनीय सिद्ध हुन्छ । संसदीय मार्गबाट समाजवाद हासिल हुने कुरा असम्भव र धोका मात्र हो ।’ यसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संसदीय बाटो तथा शान्तिपुर्ण सङ्क्रमणको बाटोलाई रणनीतिक विषय बनाउने जस्तो संशोधनवादी धारणा सशक्त रूपमा विकसित भएको पाइन्छ । तर अर्कोतर्फ दूनियाँभरिका माक्र्सवादी-लेनिनवादीहरूले त्यस प्रकारका संशोधनवादी विचारधाराको सशक्त रूपमा प्रतिकार गरेको पनि पाइन्छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेको दुई लाइनको सङ्घर्षको प्रत्यक्ष असर नेपालको कम्युनिस्ट आन्दोलनमा पनि देखा पर्यो । रुसवादी हुने कि चीनवादी ? यस प्रकारको दुई धार, नेपालको कम्युनिस्ट आन्दोलनमा पनि देखा पर्यो । सन् १९७२ पछि पार्टीभित्र रुस-चीन विवादले तीव्र रूप लियो । ‘नयाँ जनवादी क्रान्ति वा राष्ट्रिय प्रजातन्त्र’, यो विषयमा मत विभाजन हुन थाल्यो । यो विवाद तीव्र रूपमा बढ्दै जाँदा केन्द्रको जिल्लासितको सम्पर्क टुट्दै गयो । यस प्रकारको जटिल अवस्थामा २०२३ सालतिर नेपालको कम्युनिस्ट पार्टी करिब-करिब विघटनको अवस्थामा पुग्यो ।
झापा विद्रोह
भारतमा क. चारूमजुमदारको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनको नक्कल गरिदा झापा विद्रोहजस्तो उग्र‘वामपन्थी’ भड्कावको स्थितिबाट गुज्रिनुपर्ने स्थिति आयो । यो विद्रोह, कम्युनिस्ट पार्टीको नेतृत्वसँग असहमति राख्दै स्वतन्त्र रूपमा कार्यरत पूर्व कोसी प्रान्तीय कमिटी अन्तरगत झापा जिल्ला कमिटीले गरेको थियो । २०२८ साल वैशाख १० गतेदेखि ‘वर्ग शत्रु’ खतम गर्न गुरिल्ला सङ्घर्ष भनेर यस प्रकारको विद्रोहको सुरूवात गरिएको थियो । त्यस प्रकारको अपरिपक्व क्रियाकलापबाट बच्न पनि कम्युनिस्ट पार्टीले ठुलो सङ्घर्ष गर्नु पर्यो ।
केन्द्रीय न्यूक्लस
२०२८ साल मङ्सिरमा क. मनमोहन अधिकारीको संयोजकत्वमा केन्द्रीय न्यूक्लसको गठन भयो । राजनैतिक लाइन निर्धारण गर्ने सन्दर्भमा क. मोहन विक्रमले कम्युनिस्ट पार्टीको मातहतमा तथा किसान-मजदुरको नेतृत्वमा नयाँ जनवादी सरकार गठनको अवधारणा ल्याउनु भयो । क. शम्भुराम, क. मनमोहनहरूले देशभक्त र जनतान्त्रिक शक्तिको सरकारको अवधारणा ल्याउनु भयो । यस प्रकारको विवाद बढ्दै जाँदा पनि कम्युनिस्ट पार्टीको एकतामा दरारको स्थिति सिर्जना भयो ।
०३६ सालमा राजाद्वारा घोषणा गरिएको जनमत सङ्ग्रहको विषय, ०३६ सालको आन्दोलनपछि पञ्चायती चुनावलाई उपयोग गर्ने या बहिष्कार ? आदिजस्ता विषयहरूले पनि गम्भीर रूपमा विवादित रूप लिन पुग्यो । यस प्रकारका अन्तर्विरोधपुर्ण विषयहरूले बाम राजनीतिलाई विभाजित गर्दै लग्यो ।
केन्द्रीय न्यूक्लस हुँदै अघि बढेको कम्युनिस्ट पार्टी चौथो, पाँचौँ महाधिवेशन हुँदै अगाडि बढ्दै जाँदा विभिन्न प्रकारको भड्काव तथा अवसरवादी प्रवृत्तिहरू देखिँदै गए । यस प्रकारका गलत प्रवृत्तिहरूको विकासले कतिपय बाम शक्तिमा गलत चिन्तन र संस्कार पनि मौलाउँदै गयो । जसको परिणामस्वरूप गम्भीर प्रकारका राजनैतिक दुर्घटनासम्म हुन पुग्यो ।
नेपालको बाम आन्दोलनमा गलत चिन्तन हाबी हुँदै जानुमा अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट आन्दोलनको प्रतिकूल अवस्था पनि हो । सन् १९७६मा चीनमा प्रतिक्रान्ति भयो । क।माओपछिका नेता देङ स्याओ पिङले ‘मुसा समात्न कालो बिरालो वा सेतो बिरालो जे भए पनि हुन्छ’ भन्दै समाजवादी चीनलाई पुँजीवादी चीनमा बदल्न आधार तयार पार्दै गए । बिस्तारै त्यहाँको समाजवादी संरचना पूणर् रूपमा ध्वस्त भयो ।
समाजवादको किल्ला रहेको सोभियत युनियन झनै पतन हुँदै गयो । सन् १९८५ सम्म मिखाइल गोर्वाचोवको ग्लास्नोस्त (खुलापन) र पेरेस्त्रोइका पूनःसुधारले समाजवादलाई पूणर् रूपमा ध्वस्त बनाइदियो । यो नीतिका आधारमा विदेशी पुँजीलाई नियन्त्रण गर्न छाडियो, निजी सम्पत्तिलाई प्रोत्साहन गर्न थालियो । यही नीतिका कारण पोलेण्ड, हङ्ंग्री, पूर्वी जर्मनी, चेकोवास्लीया, बुल्गारिया, रोमानीया, यूगोस्लावियामा रहेको समाजवादको अंश पनि समाप्त भयो ।
अन्तर्राष्ट्रिय रूपमा समाजवादी मुलुकहरू ध्वस्त हुँदै जाँदा नेपालको बाम आन्दोलन, विभिन्न प्रकारका युद्ध, हिंसा, जनआन्दोलनको चरण हुँदै अहिलेको स्थितिसम्म आइपुगेको छ ।
युद्ध, हिंसा आदिका केही सकारात्मक पक्ष होलान् र केही नकारात्मक पक्ष पनि । झापा विद्रोह तथा माओवादी ‘जनयुद्ध’का दौरानमा थुप्रै क्रान्तिकारी जनताको सहभागिता भयो । उनीहरूको क्रान्तिकारी स्प्रिटलाई अर्थात् सामन्तवाद तथा प्रतिक्रियावाद विरुद्धको उनीहरूको आक्रोश, बहुसङ्ख्यक श्रमजीवी जनता प्रतिको लगाव त्यसका साथै उनीहरूको हिम्मत र साहसलाई हामीहरूले उच्च रूपमा मूल्याङ्कन गर्नुपर्दछ । तर नेतृत्व पङ्क्तिको उग्र‘वामपन्थी’ सोंच र दृष्टिकोणले गर्दा यस प्रकारका युद्धहरूको सकारात्मक परिणाम निस्कन सकेन ।
मार्क्सवादका चुनौतीहरू
कार्ल मार्क्स जन्मिएको २०५ वर्ष पुरा हुँदै छ । यो अवधिमा विश्व कम्युनिस्ट आन्दोलनमा थुप्रै उतार-चढावहरू भएको हामी पाउँछौँ । कुनै समयमा मार्क्सवादका मूल्य मान्यताहरूलाई पक्रँदै समाजवादी तथा जनवादी आन्दोलनहरूमा निकै उभार आयो भने हालका दिनहरूमा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्नु पर्ने नै हुन्छ । ‘मार्क्सवाद फेल भयो’ भन्दै मार्क्स र लेनिनका सालिकहरू ढाल्ने कार्य पनि हुँदै छ । संसदीय राजनीतिमा भारतका बाम शक्तिहरू पराजित हुँदै गइरहेका छन् । यो उदाहरणले पनि बाम आन्दोलन कमजोर हुँदै गइरहेको पुष्टि हुन्छ । केही वर्ष पहिलेको त्रिपुरा राज्यको बेलोनीयाको घटनाले पनि बाम आन्दोलनका अगाडि चुनौतीहरू बढ्दै गइरहेको प्रस्ट हुन्छ ।
निष्कर्ष
नेपालको स्थिति अलि फरक खालको छ । विश्वव्यापी रूपमा वामपन्थी आन्दोलन कमजोर हुँदै गए पनि नेपाली जनतामा यस प्रकारको आन्दोलनमा ठुलो आशा र विश्वास छ । नेपाली जनताले बाम राजनीति गर्नेहरूलाई अत्यधिक मतदान गर्नुले पनि त्यो कुराको सङ्केत गर्दछ । अहिलेसम्म देशमा राष्ट्रियता र जनतन्त्रका पक्षमा चल्दै आइरहेका आन्दोलनहरूमा उनीहरूको सशक्त भूमिकाले पनि त्यो कुराको पुष्टि गर्दछ । जब परमाणुको खोज भयो, त्यो समयमा माक्र्सवादको निर्माण भयो । तर अहिले परमाणुको विखण्डन भैसकेको छ । इलेकट्रोन, प्रोटोन हुँदै फोटानसम्मको खोज भैसकेको छ । सन् २०१२ सम्म आई पुग्दा त गड्स पार्टिकल (हिग्स बोसान) को पनि खोज भइसक्यो । यो अवस्थामा मार्क्सवाद सान्दर्भिक नहुने तर्क पनि गरिँदै छ ।
तर नेपालको सन्दर्भमा हामीले बुझ्नुपर्ने कुरा के हो भने ‘मार्क्सवाद भनेको परिवर्तन’ हो । भौतिक विज्ञानको विकासले मार्क्सवादलाई झनै पुष्टि गर्दै गइरहेको छ । नेपाली समाजमा थुप्रै परिवर्तनहरू हुँदै आएका छन् । ०७ साल, ०४६ साल तथा ०६२-०६३ सालको परिवर्तनलाई हामीले महान् सफलताको रूपमा मूल्याङ्कन गरिनुपर्दछ । देशमा गणतन्त्र र धर्मनिरपेक्षताको प्राप्ति हुनु पनि नेपाली जनताको ठुलो उपलब्धि हो । यस प्रकारको परिवर्तनमा क्रान्तिकारी नेपाली जनताको ठुलो योगदान छ । यही परिवर्तनका कारण निरङ्कुशताको पर्खालमा बाँचिरहेका नेपाली जनता, केही हदसम्म भए पनि प्रजातान्त्रिक वातावरणको अनुभूति गर्न पाइरहेका छन् । यो पनि एक प्रकारको मार्क्सवादको सफलता हो । अन्तमा, क. फ्रेडरिख एङ्गेल्सको सङ्कलित रचनाबाट, ‘संसार परिवर्तनशील छ भन्ने सिद्धान्त कहिल्यै परिवर्तन हुँदैन बाँकी सबै कुरा परिवर्तनशील छ ।’