काठमाडौँ । नेकपा (मसाल) ले इजरायली युद्धको विरोध गर्दै प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज २९ गते सोमबार जारी प्रेसविज्ञप्तिमा सो धारणा व्यक्त गरिएको हो ।
इजरायल नामको कुनै देश पहिले विश्व मानचित्रमा नभएको, प्यालेस्टानी जनतालाई विस्थापन गरेर नै सो देश अस्तित्वमा आएको भन्दै पार्टीले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गरेको छ ।
विज्ञप्तिमा इजरायल र हमाल दुवैद्वारा चलाइएको युद्धको विरोध गरिएको छ । खासगरी गाजा र इजरायल दुवैतर्फ आम जनताको नरसंहार भएको भन्दै मसालले युद्ध रोक्न पनि आग्रह गरिएको छ ।
इजरायल र हमासबिचको युद्धले पूरै मध्य एसिया मात्रै होइन, विश्व्युद्धकै रूप लिन सक्ने भन्दै विश्वका जनतासित त्यसबारे उच्च सतर्कता अपनाउन पनि वक्तव्यमा अनुरोध गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेकपा (मसाल) को केन्द्रीय समितिले अहिले प्यालेस्टाइन र इजरायलका बिचमा चलिरहेको युद्धबारे विस्तृत रूपले छलफल गरी तल लेखिएअनुसारको निष्कर्ष निकालेको छ ।
प्यालेस्टाइन र इजरायलका बिचमा सङ्घर्षको लामो इतिहास छ । अमेरिकी मदतमा यहुदीहरूले लाखौँको सङ्ख्यामा प्यालेस्टाइनीलाई देशबाट निष्काशित गरेपछि दुबैका बिचमा तनाव र युद्धको स्थिति उत्पन्न भएको छ । प्यालेस्टाइनीले आफ्नो मातृभूमिमा फर्कनका लागि युद्ध गरिरहेका छन् ।
केही दिनपहिले हमासले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको युद्ध सुरु भएको हो । यो युद्धमा १० जना नेपाली विद्यार्थीलगायत विभिन्न मुलुकका नागरिकको पनि हत्या गरिएको थियो र ठुलो सङ्ख्यामा इजरायलका जनताको हत्या गरिएको थियो वा उनीहरूलाई अपहरण गरेर बन्धक बनाइएको छ ।
जुनसुकै पक्षबाट भए पनि निशस्त्र र निरपराध जनताको हत्या वा अपहरणलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । त्यसैले हमास पक्षबाट निरपराध र निशस्त्र जनतामाथि—जसमा १० जना नेपाली पनि पर्दछन्—माथि गरिएको हत्या र इजरायल पक्षका जनताको अपहरण र हत्यालाई पनि हामीले गलत मान्दछौँ । त्यसरी अपहरण गरिएका इजरायली जनतालाई ढालको रूपमा प्रयोग गर्ने जुन नीति अपनाइएको छ, त्यसलाई पनि हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । त्यस प्रकारको आत्मघाती कार्यविधिले प्यालेस्टाइन जनताको महानु मुक्ति आन्दोलनलाई कमजोर बनाएको छ र त्यसलाई धेरै क्षति पुर्याएको छ ।
अहिले इजरायलले ठुलो पैमानामा गाजामाथि हवाई वा स्थलमार्गबाट हमला गरेको छ । त्यस प्रकारको हमलाबाट गाजाका निशस्त्र र निरपराध जनता ठुलो सङ्ख्यामा मारिनुका साथै त्यहाँका स्कुल, अस्पताल र विश्वविद्यालय पनि ध्वस्त पारिएका छन् । इजरायलद्वारा गाजा क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारण जनतामाथि अमानवीय नरसंहार मच्चाइएको छ । त्यहाँ ठुलो सङ्ख्यामा महिला र बालबालिकाको पनि हत्या भएको छ । इजरायलले पानी र बिजुली पनि रोक्ने काम गरेको छ । त्यो वास्तवमा घोर अमानवीय र क्रुर प्रकारको नरसंहार हो । त्यस प्रकारको हमलाको हाम्रो पार्टीले कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछ ।
अब इजरायल र प्यालेस्टाइनबिचको युद्ध मध्यएसियाको युद्धमा बदलिने सम्भावना प्रष्ट नै छ । त्यसका साथै त्यो युद्धले विश्वयुद्धको रूप लिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसकारण त्यो युद्धप्रति सम्पूर्ण विश्वको नै ध्यान जानुपर्ने आवश्यकता छ ।
यहुदी जातिमाथि हिटलर र फासिवादले गरेको अत्याचारको विश्वको सम्पूर्ण इतिहास साक्षी छ । विश्वका सम्पूर्ण जनताको संयुक्त प्रयासद्वारा नै फासिवादलाई पराजित गर्नु सम्भव भएको थियो । यो धेरै नै दु:ख र आश्चर्यको कुरा हो कि त्यही यहुदी जाति वा इजरायलले प्यालेस्टाइन जातिलाई आफ्नो भूमिबाट जबरजस्तीपूर्वक हटाइयो र उनीहरूमाथि फासिष्ट प्रकारको दमन र नरसंहारको नीति अपनाइएको छ ।
पहिले हिटलरको अमानवीय र नरसंहारको विरुद्ध सारा संसार उठे जस्तै अहिले इजरायलको त्यस प्रकारको नीतिका विरुद्ध पनि सारा संसार उठ्नुपर्ने वा सारा संसारका जनताले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता छ तर अहिले अमेरिका र कैयौँ साम्राज्यवादी देशले पनि इजरायलको त्यस प्रकारको घोर अमानवीय युद्ध र नरसंहारको नीतिलाई मदत गरिरहेका छन् । जुन राष्ट्रहरूले पहिले फासिष्टवाद र हिटलरको नरसंहार नीतिका विरुद्ध आवाज उठाएका थिए र लडेका थिए, जसले अहिले पनि संसारमा लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारको चर्को कुरा गर्दछन्, उनीहरूले नै इजरायलको प्यालेस्टाइनमाथि हमलाको त्यस प्रकारको समर्थन गरिरहेका छन् । हामीले इजरायलका साथै ती साम्राज्यवादी देशको त्यस प्रकारको कार्यशैलीको पनि तीव्र शब्दमा भत्र्सना गर्दछौँ र प्यालेस्टाइनका जनता तथा उनीहरूको मुक्ति आन्दोलनसित विश्वव्यापी रूपमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ ।
अन्तमा, हाम्रो यो दृढ मत छ कि इजरायल पहिले कुनै देशको रूपमा थिएन । प्यालेस्टाइनीलाई उनीहरूको भूमिबाट विस्थापित गराएर इजरायल भन्ने देश खडा गरिएको थियो । प्यालेस्टाइनका जनतालाई आफ्नो मातृभूमिको स्वतन्त्रताको लागि लड्ने अधिकार छ र हामीले उनीहरूको मुक्ति आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछौँ ।”