काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकाले नेपालमा सरकार परिवर्तन गर्न खोजेको सम्भावनाप्रति सचेत रहन आग्रह गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ मङ्सिर २८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।
वक्तव्यमा आफ्नो शासनकालको अन्तिम समयमा अमेरिकी राष्ट्रपति जो वाइडेनले आफूअनुकूल सरकार बनाउन चाहेको उल्लेख छ । केही समयअघि अमेरिकी मन्त्री लको नेपाल भ्रमणले काङ्ग्रेस र माओवादी केन्द्रमाझको सरकार बन्ने सम्भावनातर्फ उल्लेख गर्दै मसालले एमसिसी र इन्डोप्यासिफिक रणनीतिको पक्षमा यस्तो कदम उठाउन सक्ने सम्भावनाप्रति सचेत गराएको छ ।
मसालले पछिल्लो समयमा प्रभाव बढ्दै गएको तर त्यसप्रतिको सतर्कता एकदम कमजोर रहेको उल्लेख गरेको छ ।
नेपालमा अमेरिकी प्रभाव बढ्दा चीन विरुद्ध नेपाललाई उपयोग गर्ने काम हुने र त्यसो भएमा नेपालको राष्ट्रियता सार्वभौमिकता र भौगोलिक अखण्डता र असंलग्न परराष्ट्रनीति धरापमा पर्ने धारणा मसलाको छ ।
अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षमा जोड दिइएको सो वक्तव्यको पूर्णपाठ यस्तो छ :
“अमेरिकाको राष्ट्रपतिको चुनावमा ट्रम्पको जित भएपछि अब वाइडेन थोरै समयको लागि नै सत्तामा रहनेछन् । त्यो अवधिमा विश्वको राजनीतिक नक्सा र स्थितिमा आफ्नो प्रकारले परिवर्तन गर्नको लागि उनले योजनाबद्ध प्रकारले कदमहरु चाल्न थालेको पाइन्छ ।
वाइडेनले आफ्नो प्रभावलाई प्रयोग गरेर फ्रान्सका पहिलेका प्रधानमन्त्रीलाई अवदस्त गराएर आफ्नो अनुकूलको नयाँ प्रधानमन्त्रीलाई निर्वाचित गराए । युक्रेनको युद्धमा आफ्नो पूरा शक्ति लगाउन परेकोले सिरियाका पहिलेका राष्ट्रपति अलअसदको मद्दतका लागि पर्याप्त सैनिक मद्दत गर्न नसकेको अवस्थाबाट फाइदा उठाएर वाइडेनले त्यहा“ पनि सत्ता परिवर्तन गर्न लगाए ।
ट्रम्पले युक्रेनको युद्धलाई राष्ट्रपतिको पद ग्रहण गर्ने बित्तिकै त्यहाँको युद्धलाई समाप्त गर्ने कुरा गरिरहेका छन् । उनको त्यो नीतिलाई कार्यान्वयन हुन नदिन वाइडेनले युक्रेनमा बढीभन्दा बढी सैनिक वा आर्थिक मद्दत गरिरहेका छन् । आफ्नो छोटो शासनकालमा उनले त्यही प्रकारको रणनीति अन्य देशहरूमा पनि अपनाउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यस प्रकारको पृष्ठभूमिमा यो प्रश्न उठाउनु पनि सायद अप्रासाङ्गिक हुने छैन : कहीँ आफ्नो त्यही प्रकारको रणनीति अन्तर्गत उनले नेपालमा पनि सत्ता परिवर्तनको लागि कुनै योजनाअन्तर्गत काम गइरहेका त छैनन् ?
अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले हालै नेपालको भ्रमण गरेर फर्केका छन् । उनको नेपालको यात्रा पनि नेपालमा सत्ता परिवर्तन गर्ने कुनै अभिप्रायद्वारा निर्देशित त थिएन ? उनको यात्राको सन्दर्भमा यो कुरा उल्लेखनीय छ कि उनले माओवादी र नेपाली काँग्रेसका नेताहरूसित त भेट गरे, तर प्रधानमन्त्री ओलीसित भेट गरेनन् । उनको त्यस प्रकारको पृष्ठभूमिमा यो प्रश्न पनि नउठाइकन रहन सकिन्न : के त्यसरी अहिले अमेरिकाले ओलीको नेतृत्वको गठबन्धनको ठाउ“मा माओवादी र नेपाली काँग्रेस सहितको अर्को गठबन्धनको सरकारको गठन गर्ने योजनाअन्तर्गत काम गरिरहेको त छैन ?
नेपालका सबै प्रमुख राजनीतिक दलहरूले अमेरिकापरस्त नीति नै अपनाउने गरेका छन् । तर अमेरिकाले उनीहरूको त्यस प्रकारको नीतिलाई ढुलमुल ठान्दछ । त्यसले नेपालमा यस प्रकारको सरकारको निर्माण गर्न चाहन्छ कि जसले एमसीसीको स्पिड अनुसार अमेरिकाको साम्राज्यवादी सैनिक रणनीतिलाई अमेरिकाको निर्देशनअनुसार दृढतापूर्वक लागू गरोस् । एकातिर, चीनका विरुद्ध सैनिक मोर्चाबन्दी र, अर्कातिर, तिब्बतमाथि आक्रमणका लागि नेपाललाई युद्धभूमिका रूपमा उपयोग गर्नका लागि अमेरिकाले नेपालमा त्यही प्रकारको सरकार चाहन्छ । यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न कि अहिलेको डोनाल्ड लुको भ्रमण त्यही उद्देश्यद्वारा निर्देशित थियो । प्रकट रूपमा उनका यात्राका परिणामहरू कुन रूपमा अगाडि आउने छन् ? त्यो कुरा आउने दिनहरूमा प्रष्ट हुँदै जानेछ ।
जेहोस्, नेपालको सन्दर्भमा अमेरिकाको रणनीति नेपाललाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत उपयोग गर्ने नै रहेको छ र आफ्नो त्यो उद्देश्य पूरा गर्नको लागि त्यसले नेपालको राज्य सत्तालाई त्यसरी नै उपयोग गर्नको लागि योजनाबद्ध प्रकारले काम गर्दै जाने कुरा निश्चित छ । अमेरिकाको त्यस प्रकारको नीति नेपालको असंलग्नताका विरुद्ध मात्र होइन, नेपालको सम्पूर्ण राष्ट्रिय हित र शान्ति तथा दीर्घकालीन हित समेतका विरुद्ध हुनेछ ।
अमेरिकी साम्राज्यवादी खतराका विरुद्ध सङ्घर्ष नेपालको राष्ट्रिय र दीर्घकालीन हितको प्रश्न हो । तर त्यो सङ्घर्ष अत्यन्त कठिन र जटिल छ ।
जुन कुराले त्यो कार्यलाई कठिन बनाउँछ, त्यो यो हो कि अमेरिकाले नेपालका विभिन्न क्षेत्रहरूमा घुसपैठ गरेर आफ्नो प्रभावको धेरै विस्तार गरेको छ । समाजका कैयौ“ समूह वा व्यक्तिहरूले देशका राष्ट्रिय वा दीर्घकालीन हितहरू भन्दा बढी आफ्ना व्यक्तिगत फाइदाहरूमाथि बढी ध्यान केन्द्रित गर्ने गर्दा त्यस प्रकारका साम्राज्यवादपरस्त सोचाइहरू देखा पर्ने गर्दछन् । त्यसकारण हामीले साम्राज्यवादको विरुद्धको सङ्घर्षलाई प्रभावशाली प्रकारले अगाडि बढाउनको लागि जनजागरणमा विशेष जोड दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।”