संघीयताको आयु लामो छैन, ढुक्क हुनुस् : चित्र बहादुर केसी

आगामी चुनावमा गठबन्धन

पहिलो कुरा त अहिलेसम्म सङ्घ र प्रदेश निर्वाचनको घोषणा भएको छैन । हाम्रो बुझाइमा अहिले पनि प्रतिगमन पराजित भएको छैन । त्यसैले हामीले अहिले पनि प्रतिगमनको विरुद्धमा जुन पाँचदलीय गठबन्धन बनेको छ, जुन सहकार्य भइरहेको छ, भर्खरैको स्थानीय निकायमा पनि, आउँदो प्रदेश र केन्द्रको चुनावमा पनि सम्भव भएसम्म यो गठबन्धनलाई कायमै राख्नुपर्छ भन्ने हाम्रो मत हो ।

कांग्रेससित सहकार्य किन ?

सम्भव भएसम्म आगामी निर्वाचनमा पनि गठबन्धनपार्फत् जाने राष्ट्रिय जनमोर्चाको नीति छ तर गठबन्धन गरेर जानु एउटा पार्टीले भनेर मात्रै हुने कुरा भएन । केही मान्छेहरू अर्को गठबन्धन अर्थात् वामपन्थी गठबन्धन बनाउने भन्छन् । कसैले यही गठबन्धनलाई अगाडि बढाउनुपर्दछ भन्छन् ।

२०७४ सालमा हामीले वाम गठबन्धन गरेका थियौँ तर त्यतिबेला हामीले धोका पाएका थियौँ । फेरि पनि वाम गठबन्धन हुनुपर्छ भन्ने जनताको अपेक्षा छ । २०७४ सालपछि वाम गठबन्धन सत्ता र शक्तिमा गए । त्यसपछि उनीहरूले, खास गरी नेकपा (एमाले) प्रतिगमनको बाटो हिँड्न थालेपछि, २०७२ सालको संविधान ध्वस्त पार्ने, संसद् विघटन गर्ने गर्न थाल्यो । त्यसपछि हामीले एमालेलाई दिएको समर्थन फिर्ता लिएका थियौँ ।

अहिले बनेको पाँचदलीय गठबन्धन बाध्यताको उपज हो । हामी खुसीले यो गठबन्धन बनाएका थिएनौँ तर हामीले गठबन्धन नबनाएको भए संविधान ध्वस्त हुने, त्यसअन्तर्गत बनेको संसद् ध्वस्त हुने अवस्था थियो । पछि प्रतिनिधि सभा त सर्वोच्च अदालतले पुनस्र्थापना गरिदियो तर पनि संसद्लाई चल्न नदिने काम एमालेबाट भइरह्यो । त्यस खालको स्थिति तयार भएको हुनाले त्यो वाम गठबन्धन बन्यो । हामी फेरि पनि भन्छौँ, हामी रहरले काङ्ग्रेससितको गठबन्धनमा सामेल भएका होइनौँ । त्यो गठबन्धनमा सामेल नभएको भए संविधान पनि ध्वस्त हुने, त्यसबाट बनेको गणतन्त्र, धर्म निरपेक्षता र जनताका हक, अधिकार पनि सिद्धिने र अन्ततः मुलुक फासिष्ट बाटोमा जाने परिस्थिति देखा पर्याे।

गत चुनावमा वाम गठबन्धनले जुन सफलता प्राप्त गरेको थियो एमालेले त्यसको दुरूपयोग गर्याे । फेरि पनि नेपाली जनतामा भ्रम छ, एमालेलाई छोडेर काङ्ग्रेससँग किन गठबन्धनमा गयो राष्ट्रिय जनमोर्चा ?

हामीले बुझाउन नसकेर पनि होला, कतिपय सर्वसाधारण तथा स्वयम् एमालेका मान्छेहरूले पनि हामीलाई गिज्याउँदै हिँडिराखेका छन् । उनीहरूले आफूलाई कम्युनिस्ट सम्झिन्छन्, चरित्र कम्युनिस्ट नभए पनि । त्यही भएर राष्ट्रिय जनमोर्चा वामपन्थीलाई छोडेर प्रतिक्रियावादी काङ्ग्रेसको क्याम्पमा गएको उनीहरू बुझाइ छ ।

उनीहरू मोदीको क्याम्पमा जान हुने, संविधानलाई पालना नगर्ने, संसद् पटक पटक विघटन गर्ने, पुनस्र्थापित संसद्लाई पनि चल्नै नदिने । दुःखको कुरो ! यसो गरेर पनि उनीहरूले आफूलाई क्रान्तिकारी ठानिराखेका छन् ।

हामी आफैले बनाएको वाम गठबन्धनलाई छोडेर अहिले नयाँ गठबन्धनमा निर्माणमा हामीले पहल गर्याैँ। यसमा सामेल भएपछि कमसेकम विघटित संसद् पुनस्र्थापना भएको छ । प्रतिगमन केही पराजित अहिले पनि भएको छैन ।

एम.सी.सी. पास गर्नेको सरकारलाई समर्थन ?

एम.सी.सी. पारित गराउन संसद्भित्रका पार्टी र त्यसलाई खारेज गर्न संसद्बाहिरका पार्टीमाझ ठुलो सङ्घर्ष भयो । पहिले त माओवादी केन्द्र, एकीकृत समाजवादीसमेत एम.सी.सी. बेठिक छ, यो राष्ट्रघाती छ, अमेरिकी साम्राज्यवादलाई नेपालमा हुल्ने खेल हो यो भनेर उफ्रिए तर पछि एम.सी.सी. लाई पारित नगरे सत्ताबाट हट्नुपर्ने स्थिति आयो, उनीहरूका अगाडि । नोक्सानी बेहोर्नुपर्ने कुरा आयो, माओवादी केन्द्र र एकीकृत समाजवादीसामु । त्यसपछि उनीहरूले कथित व्याख्यात्मक टिप्पणीको ट्याग झुन्डाएर एम.सी.सी. लाई समर्थन गरे ।

व्याख्यात्मक टिप्पणीको बारेमा अहिलेसम्म पनि त्यो ठिक वा बेठिक के हो ? अमेरिकाले केही भनेको छैन । भनुन् पनि किन ? उनीहरूले आफ्नो स्वार्थ पूरा गरिसके । माओवादी केन्द्र र एकीकृत समाजवादीले जे लेखे पनि, जे देखाए पनि अमेरिकाले आफ्नो उद्देश्य पूरा गरिहाल्यो ।

पार्टी र गठबन्धन
देशमा भएका सबै पार्टीको एउटै नीति हुने भए एउटै पार्टी हुन्थ्यो नि ! त्यसो भएको हुँदा सबै कुरा मिलेर मात्र मोर्चा बन्छ भन्ने होइन । सबै कुरा मिलेर बन्ने त पार्टी हो । एउटा पार्टी बन्नलाई सिद्धान्त, राजनीति, साङ्गठनिक पद्धति, अनुशासनबारे समान समझदारी हुनुपर्छ ।

मोटामोटी रूपमा यी सबै सर्त पूरा गरेर बल्ल एउटा पार्टी बन्ने हो । तर कतिपय नेपालीलाई जान वा अन्जान लाग्छ, एम.सी.सी. को बारेमा काङ्ग्रेससित विरोध हुने, एस.पी.पी. बारे काङ्ग्रेससित विरोध हुने, फेरि त्यसैसँग कसरी गठबन्धन कायम भयो ? कसरी समर्थन दिइयो यस्तो सरकारलाई ?

यी कुरा ल्याउनेमा एकाथरि त प्रतिगामी नै हुन् । त्यस्तै, केही प्रतिक्रियावादी हुन् । अर्काथरिले संयुक्तमोर्चाको नीति के हो ? कार्यगत एकताको सैद्धान्तिक पक्ष के हो ? त्यो जानेका छैनन् । त्यसो हुनाले यो गठबन्धनबाट जसलाई नोक्सान पुगेको छ, जसलाई हार खानुपरेको छ, उनीहरूले फिजाएको, उनीहरूले गरेको हल्लाका पछाडि लाग्छन् मान्छेहरू ।

संयुक्तमोर्चाको नीति
संयुक्तमोर्चाको नीति वा कार्यगत एकताको सिद्धान्त भनेको के हो ? जुन कुरा मिल्छ, जुन विषयमा सहमति हुन्छ, त्यही विषयलाई पूरा गर्नका लागि कार्यगत एकता हुन्छ ।

हामीले विगतमा नेपाली काङ्ग्रेससँग २०४६ सालमा सहकार्य गर्याैँ त । पञ्चायती व्यवस्थाको विरुद्धमा हामीले सहकार्य गर्याैँ । त्यतिबेला पञ्चे, मण्डलेहरूले हामीमाथि आरोप लगाउँथे : यो पार्टी पतन भयो; यो पार्टी सिद्धान्तबाट गिर्याे; यसमा विचलन आयो किनभने काङ्ग्रेस जस्तो प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्याे। यसरी त्यतिबेला पनि उनीहरू हाम्रो उधुम विरोध गर्दथे ।

२०५९ सालमा ज्ञानेन्द्रले संसद् निष्क्रिय बनाए । नेपाली जनताका अधिकार सबै कुण्ठित गरेर उनले निरङ्कुश सत्ता कायम गरे । त्यतिबेला काङ्ग्रेससँग मिलेर सहकार्य गर्दै ज्ञानेन्द्रको विरुद्धमा हामी सबै सडकमा निस्कियौँ । अनि, दरबारियाहरूले हल्ला गर्न थाले । के भनेर भन्दाखेरि राष्ट्रिय जनमोर्चा जस्तो पार्टी, मसाल जस्तो पार्टी काङ्ग्रेस जस्तो प्रतिक्रियावादीको पछि लागेर हिँड्ने ? यसरी उनीहरू ठुल्ठुला स्वरले चिच्याए । त्यस्तै, अन्तर्राष्ट्रिय स्तरमा कार्यगत एकताको अभ्यास कसरी भएको छ भन्ने हेरौँ न ।

माओत्सेतुङले अपनाएको कार्यगत एकताको नीति कस्तो थियो ? उनले च्याङकाइसेकसँग कस्तो नीति अपनाएका थिए ? त्यतिबेला जापानले चीन खर्लप्पै खान थालेको थियो । यता, च्याङकाइसेकसँग चिनियाँ कम्युनिस्ट पार्टीको जीवनमरणको लडाइँ पनि चलेकै थियो । पिठ्युँमा अमेरिकी सहयोगद्वारा सुसज्जित हातहतियार बोकेर लाखौँ चिनियाँ कम्युनिस्ट पार्टीका देशभक्त नेता, कार्यकर्ता च्याङकाइसेकको सेनाका बन्दुकबाट उडाइएका थिए तर पनि च्याङकाइसेकको मदत नलिएसम्म जापानलाई हराउन नसकिने भयो । त्यसो हुनाले माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले च्याङकाइसेकसँग कार्यगत एकता अर्थात् सहकार्य गर्नुपर्याे । त्यतिबेला माओत्सेतुङ नेतृत्वको पार्टीभित्रका वाङ मिङ जस्ता मान्छेले माओत्सेतुङले गद्दारी ग¥यो; च्याङकाइसेक जस्तो ज्यानामारासँग कार्यगत एकता, सहकार्य गर्ने ? माओत्सेतुङले गद्दारी ग¥यो भन्थे ।

दोस्रो विश्वयुद्धमा जब हिटलरले संसार नै ध्वस्त पार्दै लग्यो, त्यतिबेला स्टालिनले अमेरिका, बेलायत, जापानसँग कार्यगत एकता गरे । हिटलर जर्मनको फासिस्ट शासक थियो । चुनावबाट आएको सरकार प्रमुख थियो ऊ तर उसले जब संसार नै धुलोपिठो पार्ने भयो, बिसौँ वर्ष आगोपानीको सम्म छुवाछुत भएको अमेरिकासित, त्यत्रो शत्रुतापूर्ण सङ्घर्ष वा मतभेद भएको देश र त्यहाँको शासकसँग स्टालिनले कार्यगत एकता गर्नुपर्याे । त्यही क्रममा बेलायतसँग कार्यगत एकता गर्नुपर्याे । त्यतिबेला स्वयम् स्टालिनको रुसी कम्युनिस्ट पार्टीभित्रका कतिपय नेताले; जस्तै : त्राटस्कीसहितका कैयौँ त्यस्ता नेताले स्टालिनले गद्दारी गर्याे; मानवजातिको एक नम्बर दुस्मन अमेरिकी साम्राज्यवादसँग यसले सहकार्य गर्याे; कार्यगत एकता गर्याे; यसले रसियन जनतालाई धोका दियो; यसले विश्वका श्रमिकलाई विश्वासघातगर्याे; यो गद्दार हो भनेर उफ्रन्थे ।

तर पछि समय सत्य सावित गरिसकेको छ, स्टालिन र माओले तत्कालनि प्रतिक्रियावादी शक्तिहरूसँग गरेको सहकार्य सही थियो । त्यसबारे त्यति बढी बहस, वादविवाद विश्व कम्युनिस्ट आन्दोलनमा भएको पाइन्न ।

ओलीको प्रतिगमन
कार्यगत एकताको यस्तो सिलसिला अहिलेसम्म पनि यथावत छ । त्यसकारण काङ्ग्रेस क्रान्तिकारी हो भनेर हामीले सहकार्य गरेको हो र ? काङ्ग्रेसलाई समेत सामेल गरेर प्रतिगमन विरोधी गठबन्धन बनेपछि मात्रै ओलीको प्रतिगमनलाई रोक्नु सकियो ।

ओली एक्लै थिएनन् । गणतन्त्रका विरोधी अर्थात् राजतन्त्रका पक्षधर प्रतिगामीहरू ओली नेतृत्वको प्रतिगमनप्रति समर्थन गरेर ताली बजाउँदै थिए । समर्थन गर्दै हिँडिराखेका थिए । नेपालको गणतन्त्र सिध्याउनुपर्छ; धर्म निरपेक्षता सिध्याउनुपर्छ भन्ने भारतीय साम्राज्यवादी शासकले ओलीलाई उक्साइराखेका थिए । त्यस्तो बेलामा ओलीको प्रतिगमन विरुद्धमा आउने काङ्ग्रेससँग, त्यसको विरुद्धमा आउने माओवादी केन्द्रसँग, त्यसको विरुद्धमा आउने एकीकृत समाजवादीसँग हामीले सहकार्य, गठबन्धन गरेको हो नि !

जब उनीहरूले एम.सी.सी. पारित गरे, हामी गठबन्धनबाट निस्कियौँ तर त्यसपछि पनि सरकार त चाहिन्थ्यो । सरकारबिना देश चल्दैन । हामीले समर्थन गरेको त्यो सरकार भत्किाएपछि फेरि त्यही ओलीको सरकार ल्याउने ? हामीले त्यसो गर्न चाहेनौँ । त्यसो गर्नु सही हुँदैनथ्यो ।

एम.सी.सी. को विरोध गर्ने, अनि त्यही एम.सी.सी. पारित गर्ने सरकारलाई किन समर्थन दियौ भन्छन् कतिपयले । उनीहरूको मतलब ओलीलाई ल्याउनुपथ्र्यो भन्ने हो, घुमाउरो तरिकाले अर्थात् त्यसको अर्थ ओलीलाई फेरि सत्ता, सरकारमा ल्याउनुपर्दथ्यो भन्ने होइन र ? २०७४ सालपछि ओलीलाई हामीले सत्तामै ल्याएको हो नि । झन्डै दुईतिहाइ बहुमतमा पुर्याएको हो नि । त्यसरी समर्थन गरेको हो ।

त्यसकारण कतिपय मान्छेहरू बुझ्दैनन् यो कुरा । अनि, प्रतिक्रियावादीहरू हौवा फिजाउँछन्, झुटको खेती गर्छन, जानी जानी । त्यसमा सिधासाधा जनता, मिडियाकर्मीले पनि कतिपयले स्वार्थका कारण उल्टो अर्थ लगाउँछन् । कतिले अन्जानमा एम.सी.सी. पारित गर्याे, त्यस्तोलाई किन समर्थन दिएको भन्छन् तर उनीहरू बुझ्दैनन्, त्यसलाई समर्थन नदिनेबित्तिकै ओलीलाई ल्याउनुपर्दथ्यो सत्तामा । त्यसरी यो पाँचदलीय गठबन्धनबाट एम.सी.सी. पारित गरेपछि हामी निस्किएको हो त ।

अहिलेसम्म प्रतिगमन ज्युँदै छ । दुई दुई चोटि संसद् भत्कायो । संसद् सर्वोच्चले पुनस्र्थापना गरेपछि पनि त्यसलाई चल्नै दिएन । उसले यस्तो गतिविधि गरिराखेको छ । त्यसकारण बाँकी चार दलसित प्रतिगमन विरुद्धको सङ्घर्षलाई केन्द्रमा सहकार्य गर्ने हाम्रो नीति छ, आउँदो चुनावसम्मका लागि । स्थानीय चुनावमा पनि प्रतिगमनलाई हराउनुपर्छ; संविधानको रक्षा गर्न चाहने पक्षधर, अनि प्रतिगमनको विरोध गर्नेसित सहकार्य गर्नुपर्छ भनेर हामीले चुनावी तालमेल गरेको थियौँ ।

संघीयता र प्रदेश सरकार
म पञ्चायत कालमा हेडमास्टर थिएँ बागलुङको एउटा स्कुलमा । मैले त्यो हाईस्कुलमा बसेर ती मास्टर, विद्यार्थी र जनतालाई यो पञ्चायती व्यवस्था ढाल्नुपर्दछ; यो पञ्चायती व्यवस्था खारेज गर्नुपर्छ वा राजतन्त्रको अन्त्य गर्नुपर्छ भनेर सिकाउँथेँ । मलाई पञ्चायतका दलालहरूले, पञ्चायत नै सबैबोक हो भन्नेहरूले, पञ्चायती व्यवस्थामा मोटाएका, खाएकाले के भन्थे भने ‘तँलाई यो पञ्चायत ठिक छैन, यो राजतन्त्र फाल्नुपर्छ भन्ने लाग्छ भने यो राजतन्त्रअन्तर्गतको हाईस्कुलमा तँ हेडमास्टर किन भएको छस् ?’

म भन्थेँ– ‘यस्ता कुरा म कहाँ गएर गरुँ त ? पञ्चायती व्यवस्थाको विरोध गर्नका लागि, राजतन्त्रको विरोध गर्नका लागि म विदेश जाऊँ ?’ त्यसकारण त्यहाँ त्यहीँ बसेर वा राजनीति गरेर हामीलाई फाइदा भयो । मुलुकलाई फाइदा भयो ।

अहिले कतिपयले के भन्छन् भने सङ्घीयता चाहिन्न भन्छौ भने प्रदेशमा सांसद किन बनाएको ? हामीले गण्डकी प्रदेशको सरकार ढालिदिएर सङ्घीय व्यवस्था सबै ढल्छ ? यी त केटाकेटी कुरा हुन् । हामी यही सङ्घीय प्रणाली भएको देशमा बसिराखेका छौँ । यहीँ बसेर बोल्ने, लेख्ने, सभा–सङ्गठन गर्न सकिने लोकतान्त्रिक व्यवस्था ल्याउन हामी लामो समय लड्यौँ । त्यसैले देशमा सङ्घीय व्यवस्था छ; यहाँ प्रदेशहरू छन् भनेपछि हामी अन्तै गएर विरोध गर्न सक्दैनौँ । कहाँ जाऊँ त हामीहरू ? ल भन्नुस् । यहीँ बसेर त विरोध गर्ने हो नि ?

राणाशासनको विरोध गर्ने बेलामा त्यसका विरोधीहरू अमेरिकामा बसेका थिए र ? अमेरिकामा बसेर राणाशासनको विरोध गरेका हुन् र शुक्रराजहरूले, गङ्गालालहरूले ? होइनन् । यहीँ राणाशासन भएको देश नेपालमा बसेका थिए उनीहरू । यहीँ काठमाडौँमा बसेर, राणाहरूकै राजधानीमा बसेर हैन त्यसको विरोध गरेको ? त्यसो नगरेर उनीहरू कहाँ गएर विरोध गर्न सक्दथे त ? त्यसकारण यी कच्चा कुरा हुन् ।

त्यतिखेर गण्डकी र लुम्बिनी प्रदेशको सरकार नढालिकन प्रतिगमन कमजोर नहुने अवस्था बनेको थियो । त्यस क्रममा गण्डकी प्रदेशमा हामीलाई राष्ट्रिय जनमोर्चालाई तीनओटै मन्त्री चाहिन्छ भने पनि दिन्छौँ भनेका थिए, त्यहाँका तत्कालीन मुख्यमन्त्रीहरूले । मसँग घण्टौँ कुरा भएको थियो । त्यतिबेलाका देशमा प्रधानमन्त्री ओलीले पनि लामो कुरा गर्नुभएको थियो । तपाईंहरूले गण्डकी प्रदेशमा के के लिने ? कुन मन्त्रालय लिने ? बजेट तपाईंहरूले जारी गर्नुस् । त्यतिसम्म भने उनीहरूले तर हामीमा सत्तासँगको मोह थिएन नि । हामीमा पदसँगको मोह थिएन नि । हाम्रो मोह त गणतन्त्रको रक्षाप्रति छ; संविधानको रक्षाप्रति छ; संसद्को रक्षाप्रति छ ।

फेरि कतिपयले यस्तै कुरा गर्छन्, विषयवस्तुलाई नबुझेर । यदि यो संसदीय व्यवस्था बेठिक हो भने, यो गणतन्त्रले जनतालाई केही दिन्न भने अहिलेलाई यही गणतन्त्र जोगाउन तपाईंले किन मरिहत्ते गरिरहनुभएको छ ? कसले भनिरहेको छ यस्तो ? गणतन्त्र सिध्याउन खोज्नेले भनिरहेका छन् यस्तो । यो गणतन्त्र कसैले दिएको हो र त्यसै ? यो गणतन्त्र ल्याउन हाम्रो पार्टीको पनि पसिना बगेको छ । हामीलाई पनि थाहा छ, यही गणतन्त्रबाट अर्थात् यही संसदीय व्यवस्थाबाट नेपाली जनताका आधारभूत समस्या समाधान हुन्नन् भनेर । नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता यसले बचाउन सक्दैन भनेर तर हामीले यो भन्दा अर्को राम्रो व्यवस्था नयाँ जनवादी ल्याउन पनि

नसक्ने तर यसलाई त्यत्तिकै सिध्याउन दिने ?
एकातिर उग्रवामपन्थीहरूले अहिलेको यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सिध्याउन लागिराखेका छन् । घोर दक्षिणपन्थीले पनि यसलाई सिध्याउन लागिराखेका छन् । अनि, भारतीय साम्राज्यवाद नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ । हिन्दु राष्ट्र बनाउन हिन्दु सम्राट खोजिराखेको छ भारतीय साम्राज्यवादले । यसरी उग्र, सङ्कीर्णवादी, वामपन्थी, दक्षिणपन्थी सबैले यसैलाई सिध्याउन खोजिराखेका छन् अर्थात् गणतन्त्र र बहुदलीय व्यवस्थालाई । अनि हामी पनि त्यसैमा मिसिऊँ त त्यतै, तिनीहरूसितै ? अहँ, त्यसो गर्ने होइन ।

अहिले नेपालको तत्कालको समस्या हो– आन्दोलनको बलमा आएको लोकतान्त्रिक गणतन्त्रको कसरी रक्षा गर्ने ? संविधानको रक्षा कसरी गर्ने ? पक्कै पनि यस संविधानभित्र भएका सबै कुरा राम्रा छन् भन्ने होइन, त्यहाँभित्र रहेको सङ्घीयता गलत छ ।

हामीले त्यतिबेला सङ्घीयता बेठिक थियो भनेर भनेकै कारणले अहिले त्यसको विरुद्धमा कति जनमत तयार हुँदै गएको छ ? अहिले देशका लाखौँ मानिसले मात्रै होइन, सङ्घीयताका ठेकेदारहरूले सम्म अब सङ्घीयता पाल्न सकिन्न; सङ्घीयता त बोझ हुँदो रहेछ; यो अप्ठ्यारो रहेछ भनिराखेका छन् नि त । त्यतिबेला हामीलाई कति अप्ठ्यारो थियो ? जुन बेला संविधानका एजेन्डा अर्थात् संविधानभित्रका विषयवस्तुबारे छलफल भइरहेको थियो; हाम्रो पार्टी एक्लै थियो, जसले सङ्घीयता कुनै हालतमा संविधानमा राख्नुहुन्न; यसले देश बर्बाद पार्छ; यसले जातीय द्वन्द्व बढाउँछ; यसले क्षेत्रीय द्वन्द्व बढाउँछ; यसले देश टुœयाउँछ भनिनरहेको थियो । यसरी लड्दाखेरि हामीमाथि कत्रो दबाब आयो ? कति प्रलोभन आए ? तर हामी त टेरेनौँ नि !

कतिखेर कुन नीति अपनाउँदा आफ्नो पार्टीलाई वा आफूलाई मात्र लाभ हुन्छ भन्ने सोचाइ त अहिलेका संसद्भित्र ठुला पार्टीले राख्छन् । एम.सी.सी. पास गर्दा आफूलाई लाभ हुन्छ कि हानि भनेर हेरे । एम.सी.सी. पास गर्दा देशलाई घाटा हुन्छ भनेर पनि उनीहरूले जानी जानी त्यही काम गरे । देशलाई घाटा हुन्छ, अमेरिकी साम्राज्यवादलाई यहाँ पसाल्नु राष्ट्रघाती काम हो भनेर जान्दाजान्दै पनि एम.सी.सी. को विरुद्धमा राष्ट्रिय जनमोर्चा झैँ उभिने हो भने आफू सकिन्छौँ भनेर त्यही पास गरे । तर हामी त सकिने सर्तमा पनि राष्ट्रको पक्षमा बोल्छौँ नि ।

आज एम.सी.सी. को बारेमा नेपाली जनतालाई धेरै कुरा थाहा छ । हामी संसद, सडकमा विरोधमा उभिएको एउटा फाइदा के भयो भने त्यतिखेर एम.सी.सी. को सन्दर्भमा देशका सबै पार्टी विभाजित थिए; जनता विभाजित थिए; अहिलेको एस.पी.पी. मा सम्पूर्ण नेपाली जनता एक ढिक्का छन् अर्थात् सत्तापक्ष, प्रतिपक्ष, सेना, प्रहरी, मिडिया । खुसीको कुरा, सरकार पनि देश र जनताको पक्षमा उभिन बाध्य भएर निर्णय गरिसक्यो कि एस.पी.पी. नेपालको लागि स्वीकार्य छैन, यो बदर हुनुपर्दछ; यो खारेज हुनुपर्दछ भनेर ।

संघीयता खारेज हुनैपर्छ

सङ्घीयता खारेज नभई हुँदैन । सुरु सुरुमा सतिप्रथा गलत हो भन्दा “कालले मर्याे मुर्दार त अकालैमा सति” भनेर गीत गाउँथे जनताले । त्यतिबेला त्यसो भन्दाखेरि सतिप्रथाको विरोध गर्नेहरूलाई पाकेको तेलको कराहीमा राखेर मार्थे; सजाय दिन्थे; झ्यालखान हाल्थे झुन्ड्याउँथे; आगो लगाएर मार्थे तर त्यसका बाबजुद त्यो सतिप्रथा रह्यो त नेपालमा ?

ठिक त्यस्तै राणाहरूको विरोध गर्नेहरूलाई सुरुमा कत्रो यातना दिइन्थ्यो ? कति सर्वश्व गरिन्थ्यो ? रह्यो त त्यो व्यवस्था ? त्यसकारण सङ्घीय प्रणाली देशका लागि हितकर छैन । त्यो धान्नै सक्नुहुन्न तपाईंले । अब एउटा सिंहदरबारको मन्त्रिमण्डल, नयाँ बानेश्वरको संसद् त कसरी पाल्ने हो भन्ने भइसक्यो यतिबेलै । भनेपछि हजारौँ सांसद, सयौँ मन्त्री पाल्न सक्छ यो देशले ?

झन् यतिखेर युक्रेन र रुसको युद्ध चलिरहेको छ । नेपाली जनताको त अब ढुकढुकी बाँच्नै गाह्रो भयो । दिनदिनै पेट्रोलियम पदार्थको भाउ बढ्याबढ्यै छ । नेपालको पानीले यी यातायातका वाहनहरू चल्ने भए अर्कै कुरा हुन्थ्यो । यी वाहनहरू चलाउन पेट्रोल, डिजल विदेशबाटै ल्याउनुपर्याे । पेट्रोलियम पदार्थको भाउ बढ्नु भनेको जनतालाई चाहिने सारा सरसामानमाथि असर पर्नु हो कि होइन ?

हामी कति परनिर्भर छौँ भने कागती मद्रासबाट ल्याउनुपर्छ । खुर्सानी बङ्गलादेशबाट आउँछ । खानेतेल किन महङ्गो भयो भने युक्रेनबाट यहाँ तोरी आउने रहेछ । यहाँ त्यसलाई पेलेर तपाईं हामीले भुटुन खाने । रुस र युक्रेनमाझ युद्ध हुनेबित्तिकै त्यहाँबाट तेल आउन छाड्यो । अनि, यहाँ हाम्रो भुटुन समस्यामा पर्याे । तेल हालेर तरकारी पकाउन त सकिन्न यहाँ अहिले ।

भनेपछि यस्तो गरिब मुलुकले आठओटा ठाउँमा मन्त्रिमण्डल, आठओटा ठाउँमा संसद्, सयौँ मन्त्री, हजारौँ सांसद पाल्न सक्छ ? तपाईं जस्ता नयाँ ठिटा युवक अरबको खाडीमा गएर उताबाट पठाएको पैसाले देश चलिरहेको छ । तपाईंलाई थाहा छ त, विदेश कमाउन गएका एक हजार नेपाली मर्छन् हरेक साल, जहाँ कमाउन गएको हो, उतै । ती जो बाँचेका छन्, तिनले पठाएको रेमिट्यान्सले यहाँ सयौँ मन्त्री, हजारौँ सांसद, तिनलाई चाहिने कर्मचारी, अनि यी विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता पोस्न अर्थात् सांसद बनाउन, नेता बनाउन, ठेकेदार बनाउनका लागि यो सङ्घीय प्रणालीअन्तर्गतको प्रदेश चाहिने ? सक्नुहुन्छ, तपाईंले धान्न ? अब राष्ट्रिय जनमोर्चाले पनि सङ्घीयता चाहिन्छ भन्यो भने पनि नेपाली जनतालाई मान्य हुने स्थिति छैन । यतिखेर कति मान्छे सङ्घीयता विरोधी भइसके ।

तत्काल के काम गर्दा फाइदा हुन्छ ? त्यो गर्ने होइन राजनीतिक पार्टीले । त्यो अवसरवाद हो । तपाईंको खल्तीको पैसा मैले झुक्याएर झिकेँ मलाई लाभ हुन्छ नि तत्काल । तर तपाईंले थाहा पाएपछि मलाई पुलिसचौकीमा लगेर पुलिसमार्फत् कुटाउनुभयो भने कस्तो हुन्छ मलाई ? त्यसैले जतिबेला जे गर्दा लाभ हुन्छ, त्यसो गर्नुहुँदैन तर समाजमा प्रायः त्यही हुन्छ ।

हामीलाई थाहा छ, हाम्रा यी संसद् र सरकारमा भएका ठुला पार्टीले सङ्घीयता यो देशले धान्न सक्छ भनेर बोकेकै हैनन् । माओवादीले त्यो भनेर बोकेकै हैन । यिनलाई बोकाइएको हो । शक्तिराष्ट्रले बोकाएको यो भारी कता लगेर फालौँ भन्ने भइसक्यो ।

अब सङ्घीयता खारेज गर्न नेपाली जनता सडकमा आउनुपर्छ । पञ्चायत फाल्न सडकमा आए झैँ, राजतन्त्र फाल्न सडकमा आए झैँ सङ्घीयता फाल्न नेपाली जनता फेरि पनि सडकमा आउनैपर्छ । रुसयुक्रेनको यो युद्धका कारणले पनि सङ्घीयता फाल्न नेपाली जनता सडकमा निस्कनै पर्ने भयो । “मरता तो, क्या नहीं करता ?” त्यसकारण सङ्घीयताको आयु लामो छैन । ढुक्क हुनुस् ।

मसालमा फुट
स्थापनाकालदेखि नै पार्टीको नीति, कार्यक्रम, अनुशासन बोक्न नसकेर, आफ्ना महत्वाकाङ्क्षा पूरा गर्न नसकेर पार्टीबाट निस्कनेहरूको परम्परा चलिरहेकै छ ।

हाम्रो पार्टीबाट मात्र निस्कन्छन् र यस्ता मान्छे ? काङ्ग्रेसबाट निस्कन्छन् । कोही वी.पी. काङ्ग्रेस बनाउँछन्; कोही सुवर्ण काङ्ग्रेस बनाउँछन्; कसैले शैलजा काङ्ग्रेस बनाउँछन् । त्यस्तै एमालेबाट निस्केर विभिन्न पार्टी बनाउँछन् । माओवादी केन्द्रबाट कतिओटा पार्टी बनाएका छन्, त्यहाँबाट निस्केपछि । त्यसकारण हाम्रो पार्टीमा पनि पार्टीको अनुशासन नमान्ने, पार्टीको नीति नमान्ने, आफूलाई पद चाहिने, अवसर चाहिने, त्यस्तो खोजी गर्ने मान्छे हुन्छन् नै ।

अहिले यिनीहरू निस्केर गएपछि अब हामीसँग त्यस्ता मान्छे कोही छैनन् भन्दिनँ मैले । छन् तर तिनीहरू कुन मौका छोपेर बाहिर निस्कने हुन् ? कुरा त्यो हो ।

जेसुकै गरेर पनि हाम्रो पार्टीमा बस्न पाइन्न नि ? जे गरेर पनि बस्न पाइन्छ एमालेमा । जे गरेर पनि बस्न पाइन्छ माओवादी केन्द्रमा । जे काम गरेर पनि कमाउन पाइन्छ काङ्ग्रेसमा तर हाम्रो राष्ट्रिय जनमोर्चामा, नेकपा (मसाल) मा त्यस्तो गर्न पाइन्न । मसालमा लेनिनवादी सङ्गठनात्मक सिद्धान्त मान्नुपर्छ; पार्टीको नीति मान्नुपर्छ; पार्टीको निर्देशन मान्नुपर्छ तर अरू ठुल्ठुला पार्टीमा के हुन्छ ? उनीहरूको महाधिवेशन के हुन्छ ? देख्नुभयो नि तपाईंहरूले ।

हामीले आठौँ महाधिवेशन गर्नुभन्दा पहिले १५ दिनसम्म केन्द्रीय समितिमा दुईओटा फरकमतमाझ छलफल, बहस भएको थियो । त्यसपछि सातआठ महिनासम्म देशव्यापी रूपमा दुई लाइनको सङ्घर्ष (फोरम) सञ्चालन भएको थियो । त्यस दौरान सेल कमिटीसम्म पुगेर हामीले छलफल गरेका थियौँ । यस्तो छलफल र विचारको मन्थन, त्यसको टुङ्गो कहाँ गएर लगाउने हो त भन्दा महाधिवेशनमा गएर । आठौँ महाधिवेशनमा गइसकेपछि जब उनीहरू अल्पमतमा पर्छन्, त्यसपछि अर्को पार्टी खोलेर हिँड्नेलाई तपाईंले के गरेर यही पार्टीमा राख्नुहुन्छ, जसरी पनि ? यस्तो स्थितिमा उनीहरूलाई केही गरेर हाम्रो पार्टी मन पर्दैन । त्यही भएर जसरी पनि विरोध गरिरहन्छन् उनीहरू । हामीले जे गर्छौं, त्यसको ठिक विपरीत बोल्छन् उनीहरू । अहिले जसलाई राष्ट्रले प्रतिगामी भनेको छ, त्यहीँ गएर टाँसिएका छन् ।

उनीहरूले हामीलाई लगाएको आरोप के हो भने पार्टी चुनावमुखी भयो; संसद्वादी भयो; दक्षिणपन्थी भयो । अनि, अहिलेको प्रतिगमनकारी एमालेसँग साथ लागेर हिँड्ने उनीहरू क्रान्तिकारी भए ? पार्टीले लगातार चुनावमा भाग लिँदा दक्षिणपन्थी भयो भनेका थिए उनीहरूले, हामीसँग बस्दाखेरि तर अहिले राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल) को भन्दा उनीहरूको छुट्टै राजनीति के छ त ? के गरेर देखाएका छन् त ? स्थानीय तहको चुनावमा उनीहरू बागलुङमा एमालेसित, प्युठानमा काङ्ग्रेससित मिलेका होइनन् ? अझै उनीहरूले ठुला कुरा गर्ने ?

त्यसो भएको हुँदा यस्ता पसल धेरैले थाप्छन् । यसमा हामीलाई केही पछुतो छैन । तर त्यो पसल धेरै दिन चल्दैन । यिनीहरू भन्दा पहिला थापेका बाबुरामहरूको पसल के भयो ? रामसिंहहरूले थापेको पसल के भयो ? नारायणकाजीहरूले थापेको पसल के भयो ? तिनी आखिरमा कहाँ गएर मिसिएका छन् ? चौथो महाधिवेशन कालमा हामीबाट निस्केर पञ्चायतमा भाग लिन निस्केकाहरू आज कहाँ छन् ? त्यसैले हामी आत्तिनुहुँदैन ।

पर्खनुपर्दछ, धेरै कुरा देख्न पाइन्छ ।

पार्टीको अनुशासनमा नबस्ने, बहुमतको निर्णय अल्पमतले नमान्ने—यस्तो अरू अरू पार्टीमा हुन्छ, हाम्रो पार्टीमा होइन । यस खालका अनुशासनहीन, आफू अल्पमतमा परेपछि छुट्टै पार्टी बनाइहाल्नुपर्ने यस्ताले गरेर खान्छन् ? उनीहरूले पार्टी चलाए भने पनि यदि अल्पमतमा परेकाले उनको विरोधमा अर्को पार्टी खोले भने त्यो समस्या कसरी समाधान गर्छन् उनीहरूले ? एउटै पार्टीभित्र त्यहाँभित्रका सबैले मान्ने राजनीति हुन्छ र ? हुँदैन नि । त्यसैले उनीहरूले यो पसल खोलेका मात्रै हुन् । केही दिन यिनीहरूले यस्तो होहल्ला गर्छन् ।

अझ उनीहरूले भनिराखेका छन्, असोजसम्म उनीहरूलाई हामीले मिसाए मिसाउँछन्, नमिसाए अर्को पार्टी खोल्छौँ । कसले मिसाउँछ, यस्ता अनुशासन उल्लङ्घन गर्ने, अल्पमतमा परेपछि अर्को पार्टी खोल्नेहरूलाई ? त्यस्तो धक्कु लगाएर कोही डराउँछ ? आत्तिन्छ कोही ? त्यसो भएर यी पसल खुल्नु नयाँ कुरा भएन । बरु तपाईंहरूलाई के भन्दै हिँड्ने छन् भने हामीले त मिसिन भनेको हो, सँगै जाऊँ भनेको हो, बुढाहरूले मान्दै मान्दैनन् । कुरा के हो ? तपाईंले बुझिहाल्नुभयो नि !

हामीबाट निस्केर गएकाहरू प्रतिगामीसँग कुम जोडेर हिँडेका छन् । “कहाँ जाउली सेखुली, यहीँ देखौँली” भने झैँ पार्टी दक्षिणपन्थी भयो, पार्टीले दक्षिणपन्थीसँग सहकार्य ग¥यो भनेर हिँडेकाहरू त्यही प्रतिगामीसँग मिसिएर ज्यान पालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार