‘भारतबाट आउने बुहारीलाई एउटा हातमा सिन्दुर, अर्कोमा नागरिकता दिनुपर्ने ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेश विक (तुलप्रसाद विश्कर्मा) ले नागरिकता विधेयकले हाम्रा सन्ततीको अधिकारमाथि कुठाराघात गरेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विकले सो विधेयक खारेज गर्न माग गर्नुभयो ।

उहाँले प्रश्न गर्नुभयो– ‘नेपाली चेली विदेश जाँदा सात वर्षसम्म कुर्नुपर्ने, त्यहाँबाट यहाँ आउँदा एउटा हातमा सिन्दुर, अर्को हातमा नागरिकता थमाइ दिनु पर्ने ?’

उहाँले खुकुलो नागरिकता नीतिले देशलाई गम्भीर घात गर्ने बताउनुभयो । ‘नागरिकताको विषयमा गम्भीर त्रुटीहरु भएको छ। नागरिकता भनेको देशको कुरा र नागरिकसँग जोडिएको कुरा हो। त्यसको साथै नागरिकताको सवाल देशको राष्ट्रियतासँग पनि जोडिन्छ’ उहाँले भन्नुभयो, ‘हामी विशाल जनसंख्या भएको देशको तिनतिरबाट घेरिएका छौं । सारा सिमानाहरु हाम्रो खुला छन् । यस्तो अवस्थामा हामीले यसखालको खुकुलो नीति बनाउनु यो देशको लागि घातक हुन्छ ।’
सांसद विकले नागरिकता विधेयक कसैको विशेष इन्ट्रेष्टमा आएको आरोप पनि लगाउनु भयो । उहाँले कसका लागि नागरिकता नीति खुकुलो पारिएको हो भन्ने प्रश्न पनि गर्नुभयो ।

‘हामीहरु जुन विधेयक ल्याउँदै छौं, हामीले सोचेभन्दा अत्यन्त भिन्न आयो । अन्य देशहरुमा पनि नागरिकता सम्बन्धी प्रावधानहरू राखिएका हुन्छन् । अंगीकृत नागरिकताको सम्बन्धमा भारतमै पनि सात वर्षको प्रावधान छ । नेपाली चेली त्यहाँ जाँदा सात वर्षसम्मको कुर्नु पर्ने, त्यहाँबाट यहाँ आउँदा एउटा हातमा सिन्धु अर्को हातमा नागरिकता ठम्याइ दिनु पर्ने ? यो कसको इन्ट्रेष्टमा हामीहरू नागरिकता विधेयक ल्याउँदै छौं अध्यक्ष महोदय ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यस्तो नगरौँ । हामीले हाम्रो सन्ततीको अधिकारमाथि कुठाराघात नगरौं । यो नागरिकता विधेयक विशेष इन्ट्रेस्टबाट आएको बुझिन्छ । हामीहरु यो नागरिकता विधेयक कसको लागि खुकुलो गरिरहेका छौं ?’

अन्य देशहरूमा नागरिकता नीति अत्यन्त कडा गरिएको भन्दै उहाँले सानो देशमा खुकुलो नागरिकता नीतिले देशमा जनसांख्यिक आक्रमण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश एकदमै सानो छ । तीनतिरबाट विशाल देशले घेरेको छ। सिमानाहरु खुकुलो छ । यस्तो अवस्थामा नागरिकता विधेयकलाई खुकुलो बनाउनुको अर्थ जनसंख्या अतिक्रमणलाई हामीले बढावा दिनु हो । त्यसैले यसखालको प्रावधानलाई हामीले मान्यता दिनु हुन्न र पास गरिनु हुन्न भन्ने कुरा मैले निवेदन गर्न चाहन्छु ।’

उहाँले थप्नुभयो, ‘अर्को कुरा यहाँ वंशजको नागरिकता र अंगीकृत नागरिकताको सिमाना मेट्ने कुरा भएको छ ।त्यसखालको प्रावधानहरु आएका छन् । वंशजको नागरिताको महत्व अलग छ र अंगीकृत नागरिताको महत्व अलगछ । त्यसैले त्यसखालको कुरालाई पनि उल्लेख गरिनुपर्दछ । त्यसलाई कडाइपूर्वक लागू गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार