आजको वामपन्थको बहस

-समीर सिंह

नेपालमा आजको वामपन्थबारे यो साता निकै बहस चल्यो । नेपाल अध्ययन केन्द्रद्धारा आयोजित कार्यक्रममा आफ्नो अवधारणा राख्दै एमाले नेता घनश्याम भुसालले ‘हिजो राजाको राजनीतिले, कुनै समयमा कांग्रेसको कारणले देश संकटमा गयो होला तर अहिले हामीहरुबाट देश संकटमा गएको हो कि ?’ भनेर प्रश्न गर्नुभयो । ‘कम्युनिष्ट भनिएकाहरु, त्यो भनेको वाम आन्दोलनका नेताहरुबाट देश संकटमा गैरहेको’ वहाँको तर्क थियो ।

‘कम्युनिष्टहरु दुई तिहाईमा हुन्छन् भने सत्ताधारी उनीहरु नै हुने’ नेता भुसालको धारणा थियो । ‘सत्तामा भागेदारी तथा सत्ताको स्वार्थका कारण नै कम्युनिष्ट भनिनेहरु विभाजित भएको’ बताउँदै ‘नेपाली समाजको चरित्र, दलाल पूँजीवाद भएको र कम्युनिष्ट भनिएकाहरुबाट त्यसको प्रतिरोध हुन नसक्ने’ वहाँको धारणा थियो । ‘युद्ध गर्दागर्दै हारेको अवस्था नभएर विचारबाट च्युत भएका कारण यो चुनौतिपूणर् अवस्था आएको तथा दलाल पू्ँजीवादका अगाडि समर्पण गरेका कारण यो व्यवस्था बलियो बन्दै गएको’ वहाँको तर्क थियो । ‘दलाल पूँजीवादले नेपालको अर्थतन्त्रलाई कसरी खोक्रो बनाउँदै गैरहेको छ ? यो प्रश्नमा कम्युनिष्ट पार्टीहरुमा कुनै बहस नै भएन । संसदीय प्रणालीका समस्याहरुप्रति ध्यान नदिने त्यसको विपरित चुनावदेखि चुनावसम्म मात्र कम्युनिष्ट भनिएकाहरुको रणनीति हुँदा नेपालको बामपन्थ कमजोर हुँदै गयो ।’ नेता भुसालको तर्क थियो । ‘कमजोर हुँदै गएको नेपालको वामपन्थ दलाल पूँजीवादको प्रतिरोध गर्ने होइन कि त्यसैसँग लगनगाँठो गास्न पुग्यो । अन्ततः कम्युनिष्ट पार्टी भनिएकाहरु र दलाल पूँजीवादको संकट एकैठाउँमा जोडिएको’ वहाँको धारणा थियो ।

‘राष्ट्र हुँदासम्म राष्ट्रिय पूँजीको आवश्यक हुन्छ । रोजगारको क्षेत्र बढाउने र उत्पादनमूलक अर्थतन्त्रको विकास नै राष्ट्रियद्व पूँजीको चरित्र हुन्छ । नेपालको वामपन्थले त्यसप्रकारको राष्ट्रिय चरित्रको विकास गर्नु प्रमुख दायित्व हो । सबैप्रकारका सामाजिक विभेदका विरुद्ध क्रियाशील हुने पनि बामपन्थ हुने’ नेता घनश्याम भुसालको धारणा थियो ।

‘सौराहा काण्ड जस्तो अध्यक्षको खल्ती तथा उनको दयामायाले नेता छान्ने, बनाउने प्रवृतिले आन्तरिक जनवाद कमजोर बन्दै गएको’ बताउँदै नेता भुसालले ‘सबै वामपन्थी शक्तिहरु बीचको अग्रगामी साझा अभियानले नै आजको वामपन्थलाई सशक्त बनाउन सक्ने’ वहाँको तर्क थियो । ‘नेताको प्राधिकारमा मात्र पार्टी झुण्डीरहने हो भने दल नै प्रजातान्त्रिक हुन सक्दैन अनी समाज तथा राष्ट्रको प्रजातान्त्रिक संरचना कसरी निर्माण हुन्छ ?’ वहाँको प्रश्न थियो । ‘वाम पार्टीहरुलाई कानुनीरुपमा मात्र होइन वास्तविक रुपमा प्रजातान्त्रिक बनाउनु महत्वपूणर् बिषय भएको’ बताउँदै वहाँले ‘नेपालको वामपन्थको दुईवटा मात्र विकल्प रहेको १) वामपन्थले अहिलेको संकट समाधान गर्दै अगाडि बढ्छ २) वर्तमान संकटले वामपन्थलाई पूनगर्ठन गर्दछ ।’ भन्नुभयो ।
आजको वामपन्थमाथि बहस गर्दै माओवादी नेता राम कार्कीले, ‘पार्टीको नेतृत्व नै संसदमा पसेका कारण नै कम्युनिष्ट पार्टीहरु संसदीय खाडलमा जाकिएको’ बताउनुभयो ‘यो क्रम जारी रहने हो भने भविष्यको पुस्ताले वामपन्थलाई ढोंगी भनेर बुझ्ने त होइनन ?’ भनेर प्रश्न गर्नुभयो । ‘पूँजीवादी राज्यसत्ताको निर्माण भन्दा पहिले पूँजीवादी संस्कृतिको विकास भैसकेको’ बताउँदै ‘लेनिनले माक्र्सवादमा धेरै कुरा थप्नुभयो । तर नेपालको माक्र्सवाद धर्मग्रन्थहरुजस्तो भयो । धार्मिक ग्रन्थहरुमा जुन कुरा लेखिएको हुन्छ, त्यसमा एक शब्द पनि थप्न पाइदैन त्यसैगरी नेपालको माक्र्सवादमा थप्ने कुराहरु नभएकोले नै वामपन्थ कमजोर हुँदै गएको’ वहाँको तर्क थियो ।

नेपालको वामपन्थलाई प्रष्ट पार्दै प्राध्यापक पिताम्बर शर्माले यसका निम्न चरित्रहरु रहेको बनाउनुभयो- १) द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनको विश्लेषण पद्धतिमाथि विश्वास गर्ने २) लोक कल्याणकारी राज्य र सामजिक न्यायमा आधारित अग्रगामी सामाजिक, रानजीतिक, आर्थिक रुपान्तरणको पक्षपाती ३) विपन्न र आधारभुत वर्गको रक्षाको लागि राज्यको दायित्व छ भन्नेमा विश्वास राख्ने ४) स्वाधिन र स्वतन्त्र अर्थतन्त्रको हिमायती ५) साम्राज्यवादी शोषण र उत्पीडनके विरोधी ६) सबैप्रकारका जातीय, क्षेत्रीय र लैङ्गि विभेद र उत्पीडनको विरोधी ७) पर्यावरणीय शोषणको विरोधी र पर्यावरणीय सन्तुलनका पक्षपाती ८) पञ्चशीलताम आधारित असङ्लग्न परराष्ट्र नीतिको पक्षपाती । यी सबै चरित्रहरुको मूल आधार भनेको समावेशी लोकतन्त्र भएको डा.शर्माको तर्क थियो ।

वामपन्थको बहसमाथि नेकपा एमालेका स्थायी समिति सदस्य मणी थापाले ‘एमाले तथा माओवादी दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने हुनाले विद्रोह गरेर नयाँ र्याडिकल बामपन्थी पार्टी बनाउनुपर्ने’ बताउनुभयो । ‘एमाले र माओवादी पाटीमा वामपन्थको कुनै मुद्दा नै नभएको’ बताउँदै वहाँले घनश्याम भुसाल तथा राम कार्कीलाई नयाँ मुद्दासहितको वामपन्थको दस्तावेज तयार पार्न अनुरोध गर्नुभएको थियो । एमाले पार्टीमा ‘बा’ भनेर चिनिने ओलीप्रति संकेत गर्दै वहाँले ‘बाले जे भन्छन् त्यही अनुसरण गर्नुपर्ने अवस्था रहेको र त्यो नैतिक कुरा नरहेको’ वहाँको धारणा थियो । ‘एमाले, माओवादी जस्ता पार्टीहरुले संसदीय व्यवस्थासँग आत्मसमर्पण गरिसकेको हुँदा यदि र्याडिकल पार्टीको दस्तावेज तयार हुन्छ भने त्यसलाई सहयोग गर्ने त्यसका साथै नयाँ मुद्दासहितको र्याडिकल पार्टीको लागि आफु विद्रोह गर्न तयार रहेको’ वहाँको धारणा थियो ।

आजको वामपन्थको बिषयमा यो पंक्तिकारले १) द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद २) सांस्कृतिक साम्राज्यवाद ३) जनवादी केन्द्रियता ४) वर्ग सङ्घर्ष ५) वर्ग र जातीबीचको अन्तरविरोध ६) संघीयताको विरोध लगायतका बिषयमा टिप्पणी गरेको थियो । सप्तरी र सर्लाहीका दुर्गम गाऊँहरु पछाडि पर्नु, कणर्ालीका दुर्गम गाऊँहरुले विभिन्न सेवा र सुुविधाहरुबाट वञ्चित हुनु लगायतको एउटा कारण सिंहदरबार जस्तो जेठा बाले सबै अधिकार कब्जा गर्नाले हो । तर त्यसको विकल्पमा जनकपुर, सुर्खेत, हेटौडाजस्ता माइलाबाहरुको उदय हुनु उचित नभएको भन्ने भनेर मेरो तर्क थियो । माइलाबाहरुको उदयले देशलाई अनावश्यक आर्थिक भार बढ्दै गएको, अन्ततः मुलुक श्रीलंका बन्ने स्थिति सिर्जना भयो भनीरहँदा कतिपय टिप्पणीकारहरुले यसप्रकारको तर्क, संघीयताविरोधी भयो भनी दुःखेसो व्यक्त गरेका थिए । दक्षिणतर्फबाट भारतले हिन्दु राज्यको लागि दबाब दिनु अनी पश्चिमतर्फबाट ईसाईकरणको लागि प्रोत्साहित गर्दै सांस्कृतिक साम्राज्यवादको प्रभाव बढ्दै गैरहेको सन्दर्भमा नेपालको वामपन्थ, त्यसको प्रतिरोधी हुनुपर्ने यो पंक्तिकारको तर्क थियो । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा नै आजको वामपन्थलाई बलियो बनाउने सकिने हुँदा यो बिषयलाई प्रमुख मुद्दाको रुपमा उठाइनुपर्ने मेरो तर्क थियो ।

आजको वामपन्थको बारेमा सैद्धान्तिकरुपमा विभिन्न चरित्रका बारेमा व्याख्या र विश्लेषण गर्न सकिन्छ । तर मूल कुरा त्यो मात्र होइन । धनबहादुर नाम लेखेकै आधारमा कोही व्यक्ति धनी हुन्छ भन्ने होइन । कसैले आफ्नो नाम लेनिन राख्दैम त्यो क्रान्तिकारी हुदैन । कसैले आफुलाई र्याडिकल बामपन्थीको रुपमा परिभाषित गर्दैम असली बामपन्थी हुने पनि होइन । सिद्धान्त र व्यवहारबीचको अन्तरविरोधलाई समाधान गर्दै जाँदा नै वामपन्थको स्थिति प्रष्ट हुँदै जाने हो । महिला मुक्तिको ठूला-ठूला भाषण गर्ने अनी आफै घरमा महिला हिंसाको भागिदार हुने, द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रवचन दिदै हिड्ने अनी सेतो कपडा लगाएर पिण्डदानमा सहभागि हुने-यसप्रकारको द्वैत चरित्रले वामपन्थको बलियो हुन सक्दैन । व्यक्तिगत स्वार्थमाथि केन्द्रित हुने होइन, बढी भन्दा बढी श्रमजीवी जनताको हित र स्वार्थको लागि आफ्नो भूमिका निर्धारण गर्दै जानुपर्यो । जनवादी केन्द्रियता, अनुशासन जस्ता लेनिनवादी संगठनात्मक सिद्धान्तप्रति अभ्यस्त हुँदै जानु पर्यो । त्यो अवस्थामा नै आजको वामपन्थले आफुलाई समृद्ध बनाउँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार