संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनलाई जिताउन राजमो अध्यक्ष केसीको अपिल

  • संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको अपिल
  • १. चारदलीय गठबन्धनको तर्फबाट संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गर्ने समझदारी भएको थियो तर अपिलमा सङ्घीयता पनि सामिल गरिएको हुनाले राष्ट्रिय जनमोर्चाले त्यसमा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो । त्यसैले राष्ट्रिय जनमोर्चाको तर्फबाट यो बेग्लै अपिल जारी गरिएको छ । सङ्घीयताको प्रश्नमा हाम्रो भिन्नमत भए पनि आगामी चुनावमा प्रतिगमनलाई पराजित गर्न संयुक्त रूपले चुनावी तालमेल गर्ने वा एकताबद्ध भएर चुनावी अभियान सञ्चालन गर्नेबारेमा हाम्राबिचमा सहमति छ । त्यसैले सङ्घीयतासम्बन्धी प्रश्नमा हाम्रो भिन्नमत भएको कुरा पहिलेदेखि नै थाहा भएको कुरा हो तर त्यो प्रश्नमा गठबन्धनका अन्य दलसँग मतभेद भए पनि हामीले प्रतिगमनका विरुद्ध गठबन्धन वा चुनावी तालमेल गर्दै आएका छौँ र त्यो नीतिलाई इमानदारिता र दृढतापूर्वक कार्यान्वयन गर्ने हाम्रो प्रयत्न हुने छ ।

    २. पाँचदलीय गठबन्धनभित्र पहिले पनि राष्ट्रिय जनमोर्चाले कैयौँ मतभेद राख्ने गरेको छ । एमसिसीसम्बन्धी मतभेदका कारणले संसद्मा अन्य चार दलले भन्दा बेग्लै एमसिसीका विरुद्ध मतदान गरेको थियो । नागरिकता विधेयकको प्रश्नमा पनि हामीले संसद्मा भिन्नमत प्रकट गर्नुका साथै राष्ट्रपतिबाट संसदमा पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्नु सरकारको प्रस्तावको विपक्षमा मतदान गरेको थियौँ र पाँच दलका तर्फबाट नागरिकता विधेयकको पक्षमा जारी वक्तव्यमा हामीले हस्ताक्षर गरेका थिएनौँ र त्यो संयुक्त वक्तव्य खालि चार दलका तर्फबाट मात्र जारी भएको थियो । त्यही प्रकारले अहिले पनि संयुक्त अपिलमा सङ्घीयताको प्रश्नलाई पनि सामेल गर्न खोजिएकाले हामीले त्यसमा हस्ताक्षर गर्न अस्वीकार ग¥यौँ । तीन दलका तर्फबाट नै त्यो वक्तव्य जारी भएको छ तर हाम्रा त्यस प्रकारका मतभेदका बाबजुद पनि प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्तिका बीचमा बलियो एकताको आवश्यकता महसुस गरेर हामी त्यो गठबन्धन वा चुनावी तालमेलमा सामेल भएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।

    ३. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदै छौँ । आगामी चुनावले सम्पूर्ण देश र जनताका लागि नै अत्यन्तै ठुलो र ऐतिहासिक महत्त्व राख्दछ । त्यो चुनावको मुख्य उद्देश्य नेपाली जनताले करिब एक सय वर्षसम्म लामो सङ्घर्ष गरेर प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षतासमेतको रक्षा गर्नु हो । आज प्रतिगमनका कारणले ती सबै माथि गम्भीर खतरा उत्पन्न भएको छ । आगामी चुनावमा प्रतिगमनको विजय भयो भने नेपाली जनताको महान् आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू समाप्त हुने छन् । त्यसैले प्रतिगमनलाई पराजित गर्न अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले आगामी चुनावमा गठबन्धन पक्षधर उम्मेदवारलाई भारी मत दिएर विजय बनाउन तथा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नका लागि हामीले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछौँ ।

    ४. नेपालको राजनीतिक इतिहासको एउटा अत्यन्त सुन्दर र गौरवपूर्ण पक्ष यो रहेको छ कि आपसमा कैयौँ गम्भीर प्रकारका मतभेद भए पनि देशमा प्रतिगमनको खतरा भएको बेलामा वा त्यसको खतराबाट देशलाई बचाउनका लागि राजनीतिक पार्टीहरूले संयुक्त भएर वा आपसमा गठबन्धन गरेर प्रतिगमनका विरुद्ध सङ्घर्षमा उत्रिने गरेका छन् । त्यस प्रकारको नीतिको परिणामस्वरूप नै २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो भने २०६२–६३ सालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको थियो । पाँचदलीय गठबन्धनको परिणामस्वरूप नै ओली सरकारको संसद्लाई विघटन गरेर लोकतन्त्रलाई समाप्त गर्ने तथा देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने दुई दुईपल्टका प्रयत्न असफल भएका थिए । पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको कारणले नै राष्ट्रियसभा वा स्थानीय चुनावमा पनि प्रतिगमनले धक्का खानुपरेको थियो । आगामी चुनावमा पनि त्यस प्रकारको गठबन्धन वा चुनावी तालमेलका कारणले प्रतिगमनलाई निर्णायात्मक रूपले पराजित गर्न सफल हुने छौँ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

    ५. गठबन्धन वा चुनावी तालमेल भएका अन्य पक्षसित हाम्रो गम्भीर मतभेद भएको कुरा सत्य हो । तैपनि उनीहरूको एउटा महत्त्वपूर्ण सकारात्मक पक्ष रहेको कुराप्रति हाम्रो पूरा ध्यान छ । त्यो सकारात्मक पक्ष के हो भने प्रतिगमनका विरुद्धको सङ्घर्षमा उनीहरूको सधैँ महत्त्वपूर्ण भूमिका रहँदै आएको छ र त्यो सकारात्मक पक्ष नै हाम्रो एकताको आधार हो । त्यसका आधारमा नै उनीहरूसित हाम्रो गठबन्धन वा चुनावी तालमेल भएको छ । तात्कालिक सन्दर्भमा खास गरेर प्रतिगमनको खतरा अत्यन्त गम्भीर भएको अवस्थामा उनीहरूसितको मतभेदले भन्दा एकताको जुन सकारात्मक पक्ष छ, त्यसले नै बढी महत्त्व राख्दछ । प्रतिगमनका विरुद्ध हाम्राबिचमा कायम भएको त्यस प्रकारको एकता कमजोर भयो वा टुट्यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ । त्यसैले प्रतिगामी शक्तिहरूले अहिलेको गठबन्धन वा चुनावी तालमेललाई समाप्त गर्नका लागि पुरा प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा हामीले हाम्राबिचमा भएका मतभेदलाई मैत्रिपूर्ण प्रकारले सञ्चालन गर्दै प्रतिगमनका विरुद्ध कायम भएको एकतालाई अरू मजबुत पार्न र त्यसलाई निर्णयात्मक अवस्थामा पु¥याउनका लागि पूरा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    ६. ओली सरकारद्वारा बारम्बार संसद् विघटन गरेर लोकतन्त्रलाई समाप्त गर्ने प्रयत्न गर्न थालेपछि पाँचदलीय गठबन्धन बनेको थियो र अहिलेसम्म त्यसका महत्त्वपूर्ण उपलब्धि रहेका छन् । अहिले गठबन्धन भन्नुको अर्थ मुख्य रूपले चुनावी तालमेल नै हो । हाम्रो पार्टी सरकारमा गएको छैन तैपनि पाँच दलसँग चुनावी तालमेल गरेर प्रतिगमनलाई पराजित गर्ने हाम्रो नीति रहेको छ । पहिलेका पाँच दलमध्ये एउटा पक्ष हटेर गएको हुनाले अहिले चार दलका बिचमा नै चुनावी तालमेल भएको छ र त्यसद्वारा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्ने हाम्रो उद्देश्य हुने छ । त्यसैले अहिले चारदलीय गठबन्धनलाई चारदलीय चुनावी तालमेलको रूपमा नै बुझ्नुपर्दछ ।

    ७. हाम्रो पार्टीको सरकारमा जाने नीति खुला छ तर कुनै खास बेलाको स्थिति र राजनीतिक आवश्यकतामाथि ध्यान दिएर नै हाम्रो पार्टीले सरकारमा जाने वा नजाने कुराको फैसला गर्दछ । त्यसअनुसार नै पाँचदलीय गठबन्धन बनिसकेपछि पनि हाम्रो पार्टी गठबन्धनको सरकारमा सामेल भएको थिएन ।

    ८. हाम्रो पार्टीले संविधानलाई समर्थन गरेको छ र प्रतिगामी शक्तिहरूबाट त्यसको रक्षाका लागि जोड दिन्छ तर त्यसमा उल्लिखित सङ्घीयतासमेतको प्रश्नमा हाम्रो गम्भीर प्रकारको मतभेद छ तैपनि हाम्रो पार्टीले त्यसमा उल्लिखित गणतन्त्र र धर्म निरपेक्षतासमेत कैयौँ सकारात्मक पक्षको रक्षाका लागि जोड दिन्छ ।

    ९. सङ्घीयताका साथै एमसिसी र नागरिकता विधेयकसमेत कतिपय प्रश्नमा पनि पाँचदलीय गठबन्धन पक्षसित हाम्रो गम्भीर प्रकारको मतभेद भएको कुरा आम रूपमा थाहा भएको कुरा हो तर त्यस प्रकारका मतभेद हुँदाहुँदै पनि हामीहरू पाँचदलीय गठबन्धनमा रहेका थियौँ । प्रतिगमनलाई पराजित गर्नका लागि त्यसलाई अरू मजबुत पार्ने आवश्यकतामा हामीले जोड दिदै आएका छौँ । हाम्रो यो स्पष्ट र दृढ मत रहेको छ कि प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरू बेग्लाबेग्लै भएर होइन, आपसमा संयुक्त भएर, गठबन्धन गरेर वा चुनावी तालमेल गरेर नै प्रतिगमनमाथि विजय प्राप्त गर्न सकिन्छ । त्यसैले गठबन्धन पक्षका विभिन्न राजनीतिक शक्तिसित हाम्रा कैयौँ गम्भीर प्रकारका मतभेद भए पनि हामीले त्यसलाई कायम राख्ने कुरामा जोड दिइरहेका छौँ किनभने त्यो अहिलेको राष्ट्रिय आवश्यकता हो ।

    १०. हामीले प्रसन्नता प्रकट गर्न चाहान्छौँ कि अन्य पक्षले सङ्घीयता, एमसिसी, नागरिकता विधेयकसमेतबारे संसद्भित्र वा बाहिर कैयौँ मतभेद भए पनि हामीसित अहिले बनेको गठबन्धन वा चुनावी तालमेलको नीति कायम राख्ने कुरालाई स्वीकार गरेका छन् । मतभेदका बिचमा एकताको यो सुन्दर उदाहरण हो ।

    ११. आजको मुख्य उद्देश्य प्रतिगमनलाई पराजित गर्नु ता हो नै तर त्यसका साथै चुनावमा प्रतिगमनमाथि प्राप्त हुने विजयको उद्देश्य देशको अहिलेको राजनीतिक, सामाजिक वा आर्थिक अवस्थामा सुधार गर्नु हो र हुनु पनि पर्दछ । आज देशका अगाडि कैयौँ गम्भीर प्रकारका समस्या छन् । हाम्रो पार्टीको तर्फबाट बेग्लै जारी हुने चुनाव घोषणापत्रमा तिनीहरूबारे विस्तृत रूपले प्रकाश पारिएको छ । निर्वाचन घोषणापत्रमा समेटिएका माग, प्रतिबद्धता, आगामी नीति, कार्यक्रम र योजनाहरू मुख्य र सङ्क्षिप्त रूप तपसिलबमोजिम छन् । ती माग, प्रतिबद्धता आगामी नीति, योजना र कार्यक्रमलाई चुनावमा विजय प्राप्त गरेपछि हामीले संसद्भित्र वा बाहिर आफ्नो स्वतन्त्र पहलकदमीमा वा अन्य पक्षसित तालमेल गरेर पनि तिनीहरूको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता प्रकट गर्दछौँ ।

    देशमा राजनीतिक अस्थिरताको अवस्था छ । देशको आर्थिक स्थिति धरासायी जस्तो भएको छ । कृषि र उद्योगको अवस्था अत्यन्त खराब छ । देशका युवाहरू ठुलो सङ्ख्यामा विदेशमा पलायन हुनुपरेको छ र त्यसरी देशको श्रमशक्ति देशको विकासका लागि उपयोग हुन सकेको छैन । देशमा पर्यटनको विकासको धेरै नै सम्भावना भए पनि त्यसको सन्तोषजनक रूपले विकास हुन सकिरहेको छैन । देशमा विद्यमान प्राकृतिक श्रोतसाधनको पनि देशको विकासका लागि उपयोग हुन सकिरहेको छैन । तिनीहरूमाथि विदेशीले नै कब्जा जमाउदै गइरहेका छन् । त्यसकारण तिनीहरूलाई देशको विकासका लागि उपयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

    १२. राष्ट्रियताको समस्या पनि हाम्रो देशको एउटा गम्भीर समस्या हो । कालापानी भारतीय सेनाले कब्जा गरेको छ । नेपालका देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूले गत ६ दशकभन्दा बढी समयदेखि कालापानीमाथिको भारतीय कब्जा समाप्त गर्नका लागि सङ्घर्ष गर्दै आएका छन् । नेपाल र अमेरिकाको एमसिसीसँग भएको सम्झौताका कारणले नेपाल अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिको अङ्ग बन्ने र अमेरिकाको सैन्य क्याम्पमा जाने खतरा उत्पन्न भएको छ । नागरिकता विधेयकको कारणले नेपालमा भारतीय नागरिक जनसाङ्ख्यिक अतिक्रमण बढ्ने खतरा बढेर गएकोे छ । विदेशी कम्पनी र दलाल पुँजीपतिको प्रभुत्वका कारणले देशको सम्पूर्ण अर्थतन्त्रमा प्रतिकूल असर परेको छ ।

    १३. नेपाल कृषिप्रधान देश हो तर कृषिमा भएको सामन्ती स्वामित्व समाप्त नगरिकन र कृषिको आधुनिकीकरण नगरिकन कृषिको विकास हुन सक्दैन । देशको श्रम शक्तिको ठुलो सङ्ख्या विदेशमा पलायन भएको कारणले पनि देशको कृषिको ठुलो भाग बाँझो हुँदै गइरहेको छ । त्यसैले नेपाल कृषिप्रधान देश भएर पनि नेपालले ठुलो मात्रामा विदेशबाट अन्नको आपूर्ति गर्नु परिरहेको छ ।

    १४. उद्योगधन्दाको विकास नभइकन कुनै देशको दिगो विकास हुन सक्दैन तर एकातिर, विदेशी पुँजीको बढ्दो प्रभाव र देशभित्र दलाल पुँजीपति वर्गको बढ्दो नियन्त्रणका कारणले देशको औद्योगिक विकास पछाडि परेको छ । हाम्रो पार्टी संसद्मा विजय भएपछि देशको तीव्र औद्योगीकरण र दिगो विकासका लागि पूरा प्रयत्न गर्ने छ ।

    १५. देशमा व्यापारघाटा लगातार बढ्दै गइरहेको छ । त्यसको परिणामस्वरूप देश छिटै आर्थिक दिवालियापनको अवस्थामा पुग्ने खतरा छ । देशभित्र उत्पादन बढाएर तथा विदेशबाट हुने आयातलाई घटाएर नै त्यो अवस्थामा सुधार गर्न सकिने छ ।

    १६. जलवायु परिवर्तनका कारणले सम्पूर्ण विश्वका साथै नेपालमा पनि वातावरण धेरै नै दूषित बन्दै गइरहेको छ । त्यसकारण त्यसमा सुधारका लागि हाम्रो पार्टीले लामो समयदेखि अभियान चलाउँदै आएको छ र त्यसका लागि अरू उच्च र व्यापक स्तरमा ध्यान दिने छ ।

    १७. शिक्षा र स्वास्थ्य धेरै नै महङ्गो हुँदै गइरहेको छ । त्यसकारण शिक्षा र स्वास्थ्यलाई सर्वसाधारण जनतासम्म पहुँच पुग्ने गरी त्यसको विकासमा वा त्यसलाई निःशुल्क बनाउनका लागि हाम्रो पार्टीले पूरा जोड दिने छ ।

    १८. हाम्रो पार्टीले सुरुदेखि नै सङ्घीय संरचनाको विरोध गर्दै आएको छ । सङ्घीयताको कारणले देशमा जातीय र क्षेत्रीय विग्रह पैदा हुने र राष्ट्रिय विखण्डन हुने खतरा छ । त्यसैले हाम्रो पार्टीले सङ्घीय संरचनालाई पूरै खारेज गरेर स्थानीय स्वायत्त शासन र प्रजातान्त्रिक विकेन्द्रीयताका आधारमा एकात्मक शासन प्रणाली कायम गर्नुपर्ने तथा स्थानीय स्वायत्त शासनलाई अझ शक्तिशाली बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    १९. हामीलाई यो कुरामा गर्व छ कि हाम्रा पार्टीका अहिलेसम्म निर्वाचित सबै सांसद सबै प्रकारको आर्थिक अनियमितता वा भ्रष्टचारबाट मुक्त रहँदै आएका छन् र स्थानीय निकायमा पनि आफ्नो निष्कलङ्क चरित्रको प्रदर्शन गर्दै आएका छन् । हामीले आगामी दिनमा पनि त्यस प्रकारको गौरवपूर्ण परम्परालाई कायम राख्ने प्रतिबद्धता प्रकट गर्दछौँ ।

    २०. हाम्रो पार्टीले महिला, जनजाति, दलित, बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग, अपाङ्गता भएका मानिस, पिछडिएका क्षेत्रसमेतको विकासका लागि पूरा ध्यान दिँदै आएको छ र आगामी दिनमा पनि त्यसका लागि ध्यान दिने छ ।

    २१. हाम्रो पार्टीले सबै साम्राज्यवादी शक्तिहरूको नेपालमाथिको नियन्त्रण वा प्रभुत्वको सम्झौताहीन प्रकारले विरोध गर्ने छ ।

    २२. महिलामाथि बढिरहेको घरेलु हिंसा, बलात्कार र हत्यालगायत सबै प्रकारका हिंसामाथि कारबाही गर्नका लागि बेग्लै पारिवारिक अदालतको स्थापना गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    २३. नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ । त्यो अवस्थामा आमूल परिर्वतन नभएसम्म वास्तविक अर्थमा जनताका आधारभूत समस्याको समाधान र देशको दिगो विकास सम्भव छैन । नयाँ जनवादी क्रान्ति तथा जनवादी गणतन्त्रको स्थापनाद्वारा नै देशको अहिलेको स्थितिमा आमूल परिवर्तन हुन सक्दछ तैपनि तत्काल देशमा कायम भएको गणतन्त्र र बहुदलीय व्यवस्थालाई रक्षा गर्दै देश र जनताको विकासका लागि बढीभन्दा बढी प्रयत्न गर्नुपर्ने आवश्यकता छ र हाम्रो पार्टीले त्यसका लागि जोड दिन्छ ।

    २४. अन्तमा, हामीले गठबन्धन पक्षधर सबै उम्मेदवारलाई भारी मत दिएर विजय बनाएर प्रतिगमनलाई पराजित गर्नका लागि सबै मतदातासित अनुरोध गर्दछौँ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार